सरकारले कोरोना रोकथामका लागि फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने घोषणा गरे पनि कञ्चनपुरका स्वास्थ्यकर्मीले अझैसम्म भत्ता पाएका छैनन्। कोरोना कहर तेस्रो चरणमा प्रवेश गरिसक्दा पनि सरकारले तोकेको जोखिम भत्ता नदिएको भन्दै कञ्चनपुरका स्वास्थ्यकर्मी पालिका धाइरहेका छन्।
केहीले पहिलो चरणमा मात्रै जोखिम भत्ता पाएको र केहीले दुवै चरणमा नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। काम छाडेर उनीहरू स्थानीय सरकार गुहारिरहेका छन्। नेपाल स्वास्थ्यकर्मी प्राविधिक संघ कञ्चनपुरका अध्यक्ष मानबहादुर चन्दले सरकारले घोषणा गरेको भत्ता वितरण नगर्दा स्वास्थ्यकर्मी निरुत्साहित भएको बताए।
जोखिम भत्ता उपलब्ध गराउन बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडीसहितका पालिका सरकार प्रमुखलाई ज्ञापनपत्र बुझाइएको चन्दले बताए। ‘हामीले महामारीका वेला ज्यान जोखिममा राखेर काम गर्याैँ, त्यो सरकारले मूल्यांकन गरेन। फेरि पनि हाम्रा थुप्रै साथीहरू संक्रमित भएका छन्,’ उनले भने, ‘कि त घोषणा गर्नु हुने थिएन, घोषणा गरेपछि रकम दिनुपर्छ।’ एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले फ्रन्टलाइनरहरूलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरे पनि त्यसको अझै कार्यान्वयन भएको छैन। सुरक्षाकर्मीले त अझै पहिलो चरणको कोरोना कहरको समेत भत्ता पाएका छैनन्।