मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ ११ मंगलबार १३:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसइतर समूहको निष्कर्ष– गठबन्धनको भविष्यबारे सोच्ने वेला भयो

Read Time : > 1 मिनेट
२०७८ माघ ११ मंगलबार १३:४०:००

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी निर्वाचनसम्म पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनेबारे समीक्षा गर्नुपर्ने समय आएको निष्कर्ष निकालेको छ। राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा इतर समूहले गठबन्धनको भविष्यबारे सोच्ने वेला भएको निष्कर्ष निकालेको हो।

यसबारे शेखर कोइरालाले राखेको आफूपक्षीय नेताहरूसँगको छलफललाई निरन्तरता दिएका छन्। यसै क्रममा सोमबारसमेत नेता कोइरालाले आफूपक्षीय नेताहरूसँग छलफल गरेका थिए।

इतर समूहका नेता अर्जुननरसिंह केसीका अनुसार इतर समूहमा गठबन्धनको निरन्तरता र स्थानीय तहको निर्वाचनका विषयलाई लिएर छलफल निरन्तर भइरहेको छ। नेता केसीले आफ्नो समूहमा नेताहरू सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नगरी एकलौटी रूपमा निर्णय गरेकोमा असन्तुष्ट रहेको बताए। ‘पार्टीको आन्तरिक विषयमा छलफल भयो। मूल रूपबाट स्थानीय तहको निर्वाचन, आगामी निर्वाचनका सन्दर्भमा छलफल केन्द्रित छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘गठबन्धन र राजनीतिक संयन्त्रको वैधानिक हैसियत के हो ? तत्कालीन समयमा संसद्को आयुलाई सुरक्षित गर्न हामी गठबन्धनका लागि तयार भए पनि यसबारे अब के गर्ने भन्नेबारे पार्टीमा छलफल हुनुपर्छ भन्ने आवाज उठेको छ।’

निरन्तरको छलफलबाट इतर समूहले गठबन्धनको भविष्यबारे समेत पार्टीमा छलफलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ।  ‘गठबन्धनलाई निरन्तरता दिने–नदिने भन्ने पनि पार्टीभित्रको छलफलको विषय हो। जे गर्नुपरे पनि  त्यो निर्णय पार्टीबाट हुनुपर्छ। संयन्त्रमार्फत लादिएको निर्णय हामीले मान्नुपर्ने ? मूल रूपमा यसबारे नै छलफल भएको हो,’ नेता केसीले भने, ‘सभापतिले यसबारे केन्द्रीय समिति राखेर छलफल गर्नुपर्छ। हामी अल्पमतमा नै छौँ हौला। त्यसमा पनि हामी हाम्रो विचार राखौँला, असहमति राखौँला। यत्रो ठूलो निर्णय गठबन्धनमा कांग्रेसका दुई–तीनजना बसेर ऐन विधान संशोधन गर्छौँ भन्नु पार्टीमा उपेक्षा हो। गठबन्धनबारे यही नै भन्नेमा हामी पुगेका छैनौँ। पार्टीको संस्थागत प्रक्रियाबाट यसको टुंगो लगाउनुपर्छ।’

इतर समूहले गठबन्धनलाई राष्ट्रिय सभा निर्वाचनसम्म मात्र निरन्तरता दिनुपर्ने र आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावमा सहभागी हुनुपर्ने मत राख्दै आएको छ। पछिल्लो समय सभापति देउवा आगामी निर्वाचन तथा गठबन्धनका सम्बन्धमा एकलौटी रूपमा प्रस्तुत हुन खोजेको भन्दै असन्तुष्टि देखिएको नेताहरू बताउँछन्।

‘स्थानीय तहको निर्वाचन सार्न हुँदैन’
इतर समूहको छलफलमा स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने आवाजसमेत उठ्दै आएको छ। नेता केसीले इतर समूहका नेताहरू स्थानीय तहलाई कामचलाउ बनाउने र विभिन्न बहानामा चुनाव सार्न नहुने पक्षमा रहेको बताए। उनले नेताहरूले केन्द्र र प्रदेशमा कामचलाउ सरकारको व्यवस्था गरिए पनि स्थानीय तहलाई संविधानले त्यस रूपमा परिकल्पना नगरेकाले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने बताएका थिए। ‘त्यसमा कामचलाउको व्यवस्था छैन। त्यसलाई विधान र संविधानमा नभएको व्यवस्थाद्वारा गराउन खोजिएको छ। यस्ता गम्भीर विषयमा पार्टीमा छलफल नगरी गठबन्धनको संयन्त्रमार्फत हुनुहुँदैन। समिति भनेको नेपाली कांग्रेसभन्दा माथि होइन,’ उनले भने, ‘कांग्रेसले सरकार चलाउनेसम्म ठीक छ। तर, यस्ता राष्ट्रिय मामलामा पार्टीभित्र छलफल नभएकोमा भारी चिन्ता र गुनासो छ, छलफल हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ।’

इतर समूहका अर्का नेता बलबहादुर केसीले पनि यसबारे समीक्षा आवश्यक रहेकाले राष्ट्रिय सभा निर्वाचनलगत्तै सभापति देउवालाई ध्यानाकर्षण गराउने निर्णय भएको नयाँ पत्रिकालाई जानकारी दिए। ‘हामीले पछिल्लो अवस्थाबारे छलफल गरिरहेका छौँ। सभापतिले पार्टीमा छलफल नगरी निर्णय गर्नुभएको छ। यसबारे सभापतिलाई ध्यानाकर्षण गराउनेछौँ,’ उनले भने।