Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ माघ १० सोमबार ०६:२०:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नेपाली सिनेमा उद्योगले नपत्याएको डिजिटल प्लेटफर्म

Read Time : > 3 मिनेट
२०७८ माघ १० सोमबार ०६:२०:००

विश्वभर सिनेमा बजारका लागि ‘डिजिटल प्लेटफर्म’ महत्वपूर्ण बनिरहेको छ । ‘नेटफ्लिक्स’ र ‘अमेजन प्राइम’ जस्ता डिजिटल प्लेटफर्म सिनेमा हलको विकल्प बनिरहेका छन् । अझ कोरोना महामारी सुरु भएपछि यस्ता प्लेटफर्मको बजार ह्वात्तै बढेको छ । यस्तै, डिजिटल प्लेटफर्मका कारण संसारभर ‘सिनेमा गोइङ’ संस्कृतिमा पनि परिवर्तन आउन थालेको सिनेकर्मीहरू बताउँछन् ।

निर्देशक नवीन सुब्बाका अनुसार यस्ता प्लेटफर्मले संसारभर नै सिनेमा हेर्ने तरिका बदलिँदै गएको छ । दर्शकले मोबाइल, ल्यापटप, टेलिभिजनलगायत डिभाइसमा सिनेमा हेर्न थालेको उनको बुझाइ छ । उनी भन्छन्, ‘अहिलेका फिल्ममेकरहरूको आँखा नेटफ्लिक्स र अमेजन प्राइमजस्ता डिजिटल प्लेटफर्ममा छ । यसकारण पनि विश्वमा ‘सिनेमा गोइङ’ (परिपाटी) को परिपाटी बदलिएको छ । विकसित मुलुकहरूमा समेत सिनेमा हलहरू बन्द हुन थालेका छन् ।’

युरोप, अमेरिकालगायतका विकसित क्षेत्रमा बस्नेहरूमा समेत हलमा गएर सिनेमा हेर्ने बानी हट्दै गएको उनले बताए । डिजिटल प्लेटफर्मकै लागि अमेरिकाले सिनेमा मेकिङ नै परिवर्तन गरिरहेको सुब्बा बताउँछन् । उनी भन्छन्, ‘अमेरिकाले डिजिटल प्लेटफर्मका लागि मेकिङ र कन्टेन्ट नै चेन्ज गर्न थालेको छ ।’डिजिटल प्लेटफर्म र हलका लागि निर्माण हुने सिनेमा फरक हुने उनी बताउँछन् । नेपालमा पनि डिजिटल प्लेटफर्मका लागि सिनेमा मेकिङ नै परिवर्तन गर्नुपर्ने सुब्बाले बताए । ‘मेकिङ’ परिवर्तन गरे डिजिटल प्लेटफर्म विकास हुने उनको तर्क छ । ‘नेपाली सिनेमा पनि डिजिटल प्लेटफर्ममा जाने हो भने सिनेमा मेकिङ परिवर्तन गर्नुपर्छ । तर, प्राविधिक हिसाबले नेपालमा तत्कालै सम्भव छैन,’ सुब्बा भन्छन्, ‘तर, अब नेपाली फिल्म उद्योगले पनि डिजिटल प्लेटफर्मको अभ्यास सुरु गर्नुप¥यो ।’

हलिउड–बलिउडको रोजेको विकल्प : ओटिटी 
हलिउड र बलिउडमा कोरोना महामारीबीच पनि अधिकांश सिनेमा ओटिटी प्लेटफर्ममार्फत रिलिज भए । अहिले पनि ओटिटीलक्षित सिनेमाहरू धमाधम निर्माण भइरहेका छन् । कोरोनाको पहिलो लहरमा भारतमा सिनेमा हलहरू बन्द भए । त्योवेला पनि भारतमा ओटिटी प्लेटफर्म विकल्पको रूपमा रोजियो । तर, नेपाली सिनेमा क्षेत्रले डिजिटल प्लेटफर्मका लागि लगानी नगरेकाले सिनेमा रिलिजका लागि हल नै कुर्नुपर्ने बाध्यता रहेको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् ।

विश्वभर सिनेमा हलको विकल्प बनिरहेको डिजिटल प्लेटफर्मको हामीले भने उचित प्रयोग गर्न नसकेको उनले बताए । महामारीबीच धेरै ओटिटी प्लेटफर्महरू खुले पनि नेपाली सिनेमा उद्योगका लागि कुनै पनि प्रभावकारी बन्न नसकेको खनाल बताउँछन् । ‘महामारीका बीचमा समेत हलिउड र बलिउडमा सिनेमा निर्माण र रिलिज रोकिएका छैनन् । फिल्म क्षेत्रका मानिसहरू कोही पनि बेरोजगार बस्नुपरेको छैन । विदेशमा डिजिटल प्लेटफर्म सफल भयो । तर, नेपालमा सफल हुन सकेन,’ उनले भने । 

नेपाली सिनेमाका लागि अझै पनि डिजिटल प्लेटफर्म यात्रा सम्भव नभएको खनाल बताउँछन् । ‘यस्तो वेलामा ओटिटी प्लेटफर्म सञ्चालन हुनुपर्ने हो, तर बन्न सकेन । यसको आशा पनि रहेन । किनभने, ओटिटी (ओभर द टप मिडिया) सञ्चालकहरूले पनि लगानी गरेका छैनन् । ‘फिल्म निर्माताले आफ्नो लगानी जोखिममा राखेर डिजिटल प्लेटफर्मलाई सिनेमा दिने कुरा पनि भएन,’ उनले भने । 

 एप बन्यो, कन्टेन्टमा लगानी छैन
चलचित्रकर्मी सरोज सापकोटा नेपालमा डिजिटल प्लेटफर्मको एप मात्रै विकास गरेको, तर कन्टेन्टमा लगानी नभएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो डिजिटल प्लेटफर्मका लागि कन्टेन्टमा लगानी भएको छैन । डिजिटल प्लेटफर्मको एप मात्रै विकास गरे । विदेशमा जस्तो डिजिटल प्लेटफर्मका लागि कन्टेन्ट उत्पादन भएन ।’ 

नेपालमा डिजिटल प्लेटफर्मलाई युट्युबको अर्काे रूपमा मात्रै हेरिएकाले यसको विकास हुन नसको सापकोटाको बुझाइ छ । डिजिटल प्लेटफर्म विकास गर्ने कम्पनीहरूले निर्मातालाई लगानी सुनिश्चितताको विश्वास दिलाउन नसक्दा यसको आकर्षण नभएको उनले बताए । ‘निर्माताहरूले गरेको खर्च उठाउने ग्यारेन्टी डिजिटल प्लेटफर्म सञ्चालकले गर्न सकेका छैनन् । यही कारण फिल्म निर्माता डिजिटल प्लेटफर्ममार्फत फिल्म रिलिज गर्न तयार छैनन्,’ उनले भने । विदेशमा हलबाट भन्दा अनलाइन र टेलिभिजनबाट बढी पैसा कमाइरहेको सापकोटाको भनाइ छ । 

 डिजिटल प्लेटफर्ममा जाने कन्टेन्टमै समस्या
चलचित्रकर्मी मनोज पण्डित डिजिटल प्लेटफर्ममा जानु–नजानुभन्दा पनि नेपाली सिनेमाको कन्टेन्टमै समस्या रहेको बताउँछन्, । उनी भन्छन्, ‘डिजिटल प्लेटफर्ममा समस्या मात्रै होइन, हाम्रो सिनेमाको कन्टेन्टमै समस्या छ ।’ नेपाली सिनेमाको कन्टेन्टमा मिहिनेत ग¥यो भने डिजिटल प्लेटफर्ममा मात्रै नभएर अन्य प्लेटफर्ममा समेत राम्रो व्यापार गर्न सक्ने पण्डित बताउँछन् । नेपालमा अझै पनि डिजिटल प्लेटफर्मका लागि कन्टेन्ट उत्पादनका लागि काम नभएको उनको दाबी छ । डिजिटल कन्टेन्ट अभ्यासका लागि नेपाली सिनेमाले धेरै मिहिनेत गर्नुपर्ने उनको भनाइ छ । ‘डिजिटल प्लेटफर्ममा हाम्रो सिनेमा जानु ठूलो कुरा होइन, तर यस्ता प्लेटफर्मले हाम्रो सिनेमामा कति प्रभाव राख्छ भन्ने महत्वपूर्ण रहन्छ,’ उनले भने । 

निर्देशक सुब्बा डिजिटल प्लेटफर्म र हलका लागि निर्माण हुने सिनेमा नै फरक हुने बताउँछन् । विकसित मुलुकका चलचित्र विकास बोर्डहरूले वेब सिरिज निर्माणलाई प्राथमिकतामा राखेको उनले बताए । सुब्बा भन्छन्, ‘मेकिङ एउटै भए पनि कथा पनि फरक हुन्छ । डिजिटल प्लेटफर्ममा वेब सिरिज समयअनुकूल मिलाएर फुर्सदमा हेरिन्छ । दुई घन्टे सिनेमा भनेको हलमा एकैपटक सबै हेरिसक्ने हो । दुई घन्टे सिनेमा र डिजिटल प्लेटफर्ममा देखाइने सिनेमा नै फरक हो ।’
नेपालमा पनि नेटफ्लिक्स, आइफ्लिक्स, सिनेमा घर, चलचित्र टिभी, फोपी, भिडियो पसल, नेट टिभीलगायतका थुप्रै एप सञ्चालनमा आएका थिए । यसबीचमा ‘आइफ्लिक्स’, ‘चलचित्र टिभी’लगायतका प्लेटफर्म बन्द नै भइसके । यसले डिजिटल प्लेटफर्मतर्फ नेपाली सिनेमा निर्माता आकर्षित नभएको पुष्टि गर्छ । सिनेमाको लागनी उठ्ने ग्यारेन्टी नहुँदा डिजिटल प्लेटफर्ममा रिलिज गर्न नसकेको निर्माताहरूको भनाइ छ ।