१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७८ माघ ९ आइतबार १३:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डाक्टरलाई कोरोना देखिएपछि टिचिङ अस्पतालका तीनवटा वार्ड बन्द, अन्य उपचार सेवासमेत प्रभावित 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७८ माघ ९ आइतबार १३:३७:००

डाक्टरलाई कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पतालका तीनवटा वार्ड बन्द गरिएको छ । श्वासप्रश्वास, स्नायु प्रणाली र पुरुष शल्यचिकित्सासम्बन्धी वार्ड बन्द गरिएको हो । यी वार्डमा कार्यरत सबैजसो डाक्टर र नर्सहरूलाई कोरोना संक्रमण भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार सीमित डाक्टर र नर्सको भरमा अहिले अस्पताल चलिरहेको छ । अस्पतालभित्रै कोरोना संक्रमण फैलिएपछि उच्च सावधानी अपनाइएको छ । 

त्यस्तै, सामान्य रोगका बिरामीलाई होल्ड गरिएको छ । इमर्जेन्सी अवस्थामा उपचार गर्नुपर्ने बिरामीका लागि भने उपचार सेवा सहज पारिएको अस्पतालले जनाएको छ । ‘अहिले अधिकांश कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ, संक्रमित अवस्थामा अरूको उपचारमा खटिन मिलेन, त्यही भएर संक्रमित डाक्टर, नर्स र कर्मचारी होम आइसाेलेसनमा बस्नुभएको छ,’ सूचना अधिकारी अधिकारीले नयाँ पत्रिकासँग भने, ‘निको भएर र कोरोना संक्रमण नभएका चिकित्सकहरू धेरै समय खटिरहनुपरेको छ ।’ 

अस्पतालका प्रशासन महाशाखा प्रमुख राजुकुमार श्रेष्ठले पाँच सयभन्दा बढी कर्मचारी संक्रमित रहेको जानकारी दिए । संक्रमित हुनेमध्ये तीन सयजना नर्सिङ स्टाफ, एक सयजना डाक्टर र सयजना अन्य कर्मचारी छन् । संक्रमित ९५ जना कर्मचारी अस्पतालको आइसाेलेसन कक्षमा बसेका छन् भने अन्य कर्मचारी तथा डाक्टर घरमै बसेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार काममा खटिने कर्मचारी तथा डाक्टर संख्या कम भएकोले केही वार्डहरू बन्द गरिएको हो । बिरामीको अवस्था र रोगको प्रकृति हेरेर उपचार गर्न थालिएको श्रेष्ठको भनाइ छ । बिस्तारै कोभिडका बिरामीको संख्या पनि थपिँदै छ, अन्य रोगका बिरामीको संख्या पनि उत्तिकै छ, तर उपचारमा खटिने डाक्टरहरूलाई कोरोना संक्रमण भएपछि असहज अवस्था आएको छ,’ उनले भने, ‘उपचार गर्नैपर्ने र गम्भीर रोगका बिरामीको उपचारमा हामीले ध्यान दिएका छौँ ।’ 

त्रिवि शिक्षण अस्पतालका कोरोना संक्रमित बिरामीको संख्या पनि बढेको छ । अस्पतालमा गत साता ४० जना कोभिडका बिरामी भर्ना भएका थिए । तीन दिनयता भने अस्पतालमा भर्ना हुने कोभिडका बिरामीको संख्या बढेको छ । अहिले एक सय २० जना कोभिडका बिरामी भर्ना भएका छन् । त्यसमध्ये तीनजनाको भेन्टिलेटरमा र आठजनाको आइसियूमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । पहिलो र दोस्रो लहरमा कोरोनाबाट गम्भीर बिरामी भई उपचार गर्न आउनेहरूको संख्या निकै बढेको थियो । तेस्रो लहरमा पनि बिरामीको संख्या बढ्ने सम्भावना देखिएको भन्दै अस्पताल प्रशासनले कोभिड वार्डको जनशक्ति बढाएको छ । यस अस्पतालको कोभिड वार्डमा करिब एक हजार बिरामी अट्छन् । कोरोनाको पहिलो र दोस्रो लहरमा कोभिड वार्ड भरिएपछि अस्पतालको बाहिरपट्टि आँगनमै राखेर अक्सिजन दिइएको थियो । 

शुक्रराज अस्पतालमा पनि बिरामीको संख्या बढ्दै 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा कोरोनाका बिरामीको संख्या बढेको छ । डाक्टरलाई समेत कोरोना संक्रमण देखिएपछि बिरामीको संख्या बढ्दै जाँदा उपचार व्यवस्थापनमा समस्या आउन थालेको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले जानकारी दिए। उनका अनुसार अहिले कोरोना संक्रमण भएर भर्ना हुन आउने बिरामीको संख्या बढेको छ । 

त्यस्तै, यहाँ कोरोनाविरुद्धको खोप लगाउन आउनेको संख्या पनि उत्तिकै छ । दैनिक तीन हजारले कोरोनाविरुद्धको खोप लगाउने गरेका छन् भने दुई हजारजनाको पिसिआर परीक्षण हुने गरेको छ । साँघुरो ठाउँमा कोरोनासम्बन्धी  उपचार सेवा दिन निकै सकस भइरहेको इन्चार्ज भण्डारीले बताए । उनले भने, ‘साँघुरो ठाउँमा तीन प्रकारका सेवा दिनुपरेको छ, कोभिड जाँच गराउन आउने र खोप लगाउन आउनेको भिडले कोरोना संक्रमण बढाउँछ कि भन्ने डर भइसक्यो ।’