१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २३ बिहीबार ११:०७:००
Read Time : > 4 मिनेट
सेयर बजार

सेयर बजारमा उत्साह, ९ अंक बढ्यो नेप्से

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २३ बिहीबार ११:०७:००

बुधबार धितोपत्रको दोस्रो बजारमा उत्साह देखिएको छ । लामो समयदेखि सुस्त गतिमा रहेको नेप्से ९ अंक बढेपछि लगानीकर्ताको मनोबल पनि बढेको छ । बजारले अब सकारात्मक दिशा लिने अपेक्षा लगानीकर्ताले गरेका छन् । कारोबार सुरु भएको १ घन्टासम्म ओरालो लागेको नेप्से, सोपछिको समयमा बढ्न थालेको थियो । बजारमा अहिले माग बढिरहेको एक ब्रोकरले बताए । नेप्से लामो समयसम्म १ हजार १ सय बिन्दुवरिपरि रहेको थियो । लगानीकर्ताले नेप्से सो बिन्दुभन्दा तल झर्दैन भन्ने अड्कल लगाइसकेका छन् । त्यसैले, अब बजारले सकारात्मक दिशा लिन्छ भन्ने लगानीकर्ताको अपेक्षा रहेको उनको भनाइ छ । लामो समयदेखि ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता पनि बजार बढेपछि सेयर खरिद गर्नतर्फ लाग्ने भएका कारण बजारले गति लिने एक विश्लेषकले बताए ।

बजार सारांश
नेप्से परिसूचक यस दिन ९ दशमलव १२ अंक बढेर १ हजार १ सय ११ दशमलव ७६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८७ अंक बढेर २ सय ३६ दशमलव २८ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ९२ प्रतिशत बढेको छ । यस दिन १ सय ६९ कम्पनीको ४ हजार ३ सय २ पटकको कारोबारमा २२ करोड ४६ लाख ६६ हजार रुपैयाँबराबरको ८ लाख २६ हजार १३ कित्ता सेयर खरिदबिक्री भएको छ ।
 
प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ४१ दशमलव ७९ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । 
एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन ४ रहेको छ । यस दिन कारोबारमा आएका १ सय ६९ कम्पनीमध्ये १ सय २० कम्पनीको सेयरमूल्य बढेको छ भने ३० कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १९ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 
यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ८ दशमलव १४ रहेको छ । बिहीबार नेप्से ओरालो लागे १ हजार १ सय ४ दशमलव ५२ बिन्दुमा पहिलो र १ हजार ९७ दशमलव २८ बिन्दुमा दोस्रो टेवा पाउने सम्भावना रहेको छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय १५ दशमलव ३८ बिन्दुमा पहिलो र १ हजार १ सय १९ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

हाथवे र कञ्चनको सेयरमूल्य ८ प्रतिशत बढ्यो
यस दिन कारोबारमा आएका हाथवे फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य ८ दशमलव ३३ प्रतिशत बढेको छ भने कञ्चन डेभलपमेन्ट बैंकको सेयरमूल्य ८ दशमलव २८ प्रतिशत बढेको छ । त्यसैगरी, रैराङ हाइड्रोपावर, नेपाल सेवा लघुवित्त, समित माइक्रोफाइनान्स र नाडेप लघुवित्तको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । घलेम्दी हाइड्रो लिमिटेडको सेयरमूल्य यस दिन साढे ६ प्रतिशत घटेको छ । अन्य कम्पनीको सेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छैन । 

एनसिसीको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा यस दिन नेपाल क्रेडिट एन्ड कमर्स बैंक अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ करोड ४६ लाख ७० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एनएमबि बैंकको यस दिन १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेयर संख्याका आधारमा पनि यस दिन नेपाल क्रेडिट एन्ड कमर्स बैंक नै अगाडि रहेको छ । सो बैंकको यस दिन ७१ हजार ९ सय १ कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन अपर तामाकोसी अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ४ सय ९९ पटक सेयर कारोबार भएको छ । 

सबै समूहका परिसूचक हरियो
यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक हरियो भएको छ । जीवन बिमा समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ७ प्रतिशत बढेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक यस दिन १ दशमलव ५ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ४२ प्रतिशत र निर्जीवन बिमा समूहको १ दशमलव २८ प्रतिशत बढेको छ । कारोबारमा आएको वाणिज्य बैंक र विकास बैंकको परिसूचक शून्य दशमलव ७७ प्रतिशत बढेको छ । वित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ७४ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ५३ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव २ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य ८ प्रतिशत बढेको छ । 

 मिथिलाको हकप्रदमा आवेदन दिने म्याद थप
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयरमा आवेदन दिन म्याद थप गरेको छ । कम्पनीले माघ १७ गतेदेखि २ बराबर १ अनुपातमा निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद १ हप्ता थपेको हो । सो सेयरका लागि फागुन २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । माघ १ गतेसम्म कायम सेयरधनीले सो हकप्रद सेयरमा फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक काठमाडौं  क्यापिटल मार्केट लिमिटेड रहेको छ । सेयरधनीले काठमाडांै क्यापिटल मार्केट, मिथिला लघुवित्तका सम्पूर्ण शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
 
 मूल्य समायोजन
बुधबार नेप्सेले एसियन लाइफ इन्स्योरेन्सको मूल्य समायोजन गरेको छ । कम्पनीकोे ६० प्रतिशत हकप्रद सेयरपछिको समायोजन मूल्य ३ सय ७५ रुपैयाँ तोकेको छ । समायोजनका लागि कम्पनीको औसत आधारमूल्य ६ सय १५ दशमलव ५० रुपैयाँ तोकिएको थियो । 

 एनएमबिको ऋणपत्र
एनएमबि बैंक लिमिटेडले फागुन ३० गतेदेखि ‘१०% एनएमबि डिबेन्चर २०८५’ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँमा ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १२ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन गरिएको ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ । सोमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । निष्कासन बन्द छिटोमा चैत ४ गते र ढिलोमा चैत १४ गते हुनेछ । यस ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ । बैंकले वार्षिक १० प्रतिशतका दरले ६–६ महिनामा ब्याज भुक्तानी गर्नेछ । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपि एलए माइनस’ ग्रेडिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संकेत गर्छ । बैंकको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

 बुटवलको लाभांश बैंक खातामा
बुटवल पावर कम्पनी लिमिटेडले फागुन २२ गतेदेखि प्रतिसेयर १८ रुपैयाँका दरले नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरेको छ । पुस २७ गते सम्पन्न कम्पनीको साधारणसभाले सो नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साथै, सोही साधारणसभाले पारित गरेको १० प्रतिशत बोनस सेयर सूचीकरणपश्चात् सेयरधनीको हितग्राही खातामा जम्मा गरिने कम्पनीले बताएको छ । अन्य सेयरधनीको लाभांश पनि खातामा नै जम्मा गरिने भएकाले हालसम्म भौतिक सेयर धारण गरेका सेयरधनीलाई शीघ्र सेयर अभौतिकीकरण गराई हितग्राही खाता र बैंक खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । कम्पनीको सेयर रजिस्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।