मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७८ माघ ६ बिहीबार ०६:२३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्वास्थ्यकर्मीलाई ५०% जोखिम भत्ता दिइने

Read Time : > 2 मिनेट
२०७८ माघ ६ बिहीबार ०६:२३:००

पिसिआर परीक्षण शुल्क घटाइयो, अब सरकारी प्रयोगशालामा आठ सय र निजीमा एक हजार पाँच सय 

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न स्वास्थ्य मन्त्रालयले जोखिम भत्ता दिने तयारी गरेको हो । 

यसअघि नै ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएकाले स्वास्थ्य मन्त्रालयले तीन महिनाका लागि आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयसँग माग गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले नयाँ निर्णय गर्नु नपर्ने स्वास्थ्यसचिव डा. रोशन पोखरेलले बताए ।

तेस्रो लहरको सुरुवातमै धेरै स्वास्थ्यकर्मी कोरोनाको चपेटामा परेका छन् । तर, अघिल्ला लहरमा संक्रमितको उपचारमा प्रत्यक्ष खटिएका सबै स्वास्थ्यकर्मीले घोषणा भएको जोखिम भत्तासमेत अझै पाएका छैनन् । उनीहरूमध्ये केहीको पहिलो लहरकै र धेरैको दोस्रो लहरमा खटिएको भत्ता नपाएको गुनासो छ । 

थाहै नपाई ओमिक्रोनले घेराबन्दीमा पार्‍यो : डा. शेरबहादुर पुन, सरुवारोगविज्ञ

२४ केस ओमिक्रोन पुष्टि हुँदानहुँदै घरघरमा पुग्न भ्याइसकेको रहेछ । सबैको ध्यान चिसोले रुघाखोकी लाग्यो भन्नेतिर केन्द्रित भएको मौका छोपेर ओमिक्रोनले घेराबन्दीमा पार्‍यो । संक्रमण घरघर पुग्नुअगावै रोक्न सकिएन । राजधानीका मान्छेले भेउ नपाएको कोरोना अब कुन सहरमा डिजास्टर हुन्छ भन्न सक्ने अवस्था छैन । विगतमा अन्य सहर हुँदै काठमाडौं आयो, अहिले काठमाडौंबाट सुरु भएको छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले ओमिक्रोनले धेरै नागरिकलाई घेराबन्दीमा पारिसकेको बताए । ‘पुसमा पानी परेको थियो, अत्यधिक चिसो बढेकाले धेरै मानिस रुघाखोकीले ग्रस्त भएका थिए । त्यही समयमा ओमिक्रोनले अधिकांश मानिसलाई घेराबन्दीमा पारिसकेको देखियो,’ उनले भने ।

चिकित्सकहरूका अनुसार छिटो फैलिने र रुघाखोकीकै रूपमा आएकाले मान्छेले कोरोना भएको भन्ने मेसो नै पाएनन् । छोटो समयमा धेरै स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । तेस्रो लहर सुरुको अढाई साताको अवधिमै पाँच सयभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

जनशक्ति अभाव हुने देखेर अस्पतालहरूले गम्भीर अवस्था नभएका स्वास्थ्यकर्मीलाई सेवामा फर्कन अनुरोध गरेका छन् । स्वास्थ्यकर्मी घरमा बस्दा अस्पतालमा बिरामी अलपत्र पर्ने सम्भावना बढेको भन्दै अस्पतालले एन्टिजेन मात्रै पजिटिभ आएको खण्डमा काममा आउन आग्रह गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरले पनि यस्तो अनुरोध गरेको छ । 

मुख्यगरी काठमाडौंका सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ठूलो संख्यामा प्रभावित भएका छन् । करारमा स्वास्थ्यकर्मी भर्ना नगरे सेवा रोकिने अवस्थामा पुग्न सक्ने चिकित्सकहरूको गुनासो छ । कोरोना संक्रमित भर्ना हुने शिक्षण अस्पताल, वीर, पाटन, प्रसूतिगृहलगायत अस्पतालमा ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

पिसिआर शुल्क घट्यो

कोरोना पत्ता लगाउन गरिने आरटी–पिसिआर परीक्षण शुल्क घटाइएको छ । किटको मूल्य बजारमा सस्तो हुँदा पनि परीक्षणको शुल्क दुई हजारभन्दा कम नभएकाले त्यसलाई समयसापेक्ष परिमार्जन गर्न आवश्यक ठानेको स्वास्थ्यसचिव डा. पोखरेलले बताए । 

सरकारी प्रयोगशालामा गरिने शुल्क आठ सयमा झारिएको छ भने निजीमा एक हजार पाँच सय तोकिएको छ । यसअघि सरकारीमा हजार र निजीमा दुई हजार तोकिएको थियो । सरकारले निजी प्रयोगशालाको शुल्क पनि हजारमा झार्ने बताएको थियो । तर, निजी क्षेत्रको दबाबपछि १५ सय कायम गरिएको हो । यसमा निजी क्षेत्रले पनि सहमति दिएका छन् । अधिकारीहरूले बताएअनुसार हाल पाँच सयमा पिसिआर परीक्षण गर्न सकिन्छ । 

पछिल्लो २४ घन्टामा देशभर ११ हजार तीन सय ५२ जनामा कोरोना पुष्टि भएको छ । यो संख्या एकैदिन देखिएको सबैभन्दा धेरै हो । २३ हजार चार सय नौ नमुना परीक्षण गर्दा यति धेरै संख्यामा पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा चारजनाको मृत्यु भएको छ भने एक लाख ९५ हजार चार सय २२ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकाका १० अस्पतालमा ६३८ संक्रमित : जनरल वार्डमा २३५, एचडियूमा ३२६, आइसियूमा ६२ र भेन्टिलेटरमा १५ जना

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसियूमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी । सो वार्डमा तीन संक्रमित उपचाररत छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार टेकु अस्पतालमै पाँच संक्रमित एचडियू र एकजना भेन्टिलेटरमा छन् । वीर अस्पतालमा ९८ संक्रमित उपचाररत छन् जसमध्ये ५९ जनरल वार्ड, २४ एचडियू, १३ आइसियू र दुईजना भेन्टिलेटरमा छन् ।

शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ४५ संक्रमितमध्ये २१ जनरल वार्ड, १५ एचडियू, आठ आइसियू र एकजना भेन्टिलेटरमा छन् । पाटन अस्पतालमा ९६ संक्रमित उपचारमा छन् जसमध्ये ४३ जनरल वार्ड, ३४ एचडियू, १२ आइसियू र सातजना भेन्टिलेटरमा छन् ।

सिभिल अस्पतालमा उपचाररत २४ संक्रमितमध्ये दुई जनरल वार्ड, १९ एचडियू र तीनजना आइसियूमा छन् । नेपाल प्रहरी अस्पतालमा ८४ जना एचडियू र दुईजना आइसियूमा छन् । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा २० जना जनरल वार्ड, ८६ एचडियू, सात आइसियू र दुईजना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

वीरेन्द्र सैनिक अस्पतालमा २३ जना जनरल वार्डमा छन् भने ५४ जना एचडियू र ११ आइसियूमा छन् । भक्तपुर अस्पतालमा पाँचजना एचडियू, तीनजना आइसियू र दुईजना भेन्टिलेटरमा उपचाररत छन् । नेसनल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको जनरल वार्डमा ६७ संक्रमित छन् । धुलिखेल अस्पतालमा भने हाल कोरोनाका कुनै बिरामी भर्ना भएका छैनन् ।