१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शिल्पा कर्ण काठमाडाैं
२०७८ माघ ६ बिहीबार ०६:०४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोनाका कारण बारले बदल्यो आन्दोलनको स्वरूप, दुई सातासम्म भर्चुअल विरोध कार्यक्रम

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
२०७८ माघ ६ बिहीबार ०६:०४:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले कोभिड बढेपछि आन्दोलनको स्वरूप बदलेको छ । भर्चुअल माध्यमबाट बिहीबारदेखि विरोधका कार्यक्रम जारी रहने विज्ञप्तिमार्फत बारले जनाएको छ । १८ माघसम्म यसरी नै कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । 

‘विरोध कार्यक्रमको वर्तमान स्वरूपलाई परिवर्तन गरी भर्चुअल माध्यमबाट कानुन व्यवसायी, नागरिक समाज, राजनीतिक दल, सांसदसमेतसँग व्यापक जनमत सिर्जना गर्ने, राजीनामा दिन वा महाभियोग लगाउन बाध्य पार्ने वातावरण बनाउने र यसैबीच प्रधानन्यायाधीश जबराले थप सक्रिय भई थप भूमिका लिन लागेमा भौतिक रूपमा नै सशक्त विरोध गर्ने,’ महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा छ ।

कोभिडको मौका छोपी प्रधानन्यायाधीशको हैसियतमा जबराले कुनै महत्वपूर्ण कार्य गरे, कार्यक्रम गरे वा बैठक बोलाए त्यसमा सहभागी नभई बहिष्कार गर्नसमेत बारले सरोकारवाला पक्षहरूसामु आग्रह गरेको छ । 

साथै भर्चुअल रूपमा सञ्चालन गरिने सबै कार्यक्रममा सक्रिय सहभागिताका लागि बारले सम्पूर्ण सदस्य र सरोकारवालालाई आग्रहसमेत गरेको छ । बारले प्रधानन्यायाधीश जबराको राजीनामाको माग यथावत् रहेको जनाउँदै ‘कोभिड संक्रमण र सेवा संकुचन गरिएको अवस्थामा मौका छोपेर समग्र प्रक्रियामा सहभागी हुन सक्ने सम्भावनासमेतलाई मध्यनजर गरी नेबाएको आन्दोलन फरक रूपमा जारी राख्ने’ उल्लेख गरेको छ । 

प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको, संवैधानिक अंग र कार्यपालिकामा भागबन्डा खोजेको तथा आफू विपक्षी रहेको रिट रोकेर न्यायमा अवरोध सिर्जना गरेकोलगायत विभिन्न आरोप लगाउँदै बारले उनको राजीनामा मागिरहेको छ । महाभियोग लगाउन संसद्मा रहेका राजनीतिक दलहरूलाई पनि आग्रह गरिसकेको बारले कोरोना संक्रमणका कारण भौतिक रूपमा उपस्थित भई गरिने आन्दोलन दुई साताका लागि रोकिएको जनाएको हो । 

बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ कात्तिकबाट निरन्तर सर्वोच्च अदालतमा दुई घन्टा धर्ना दिँदै आएको छ भने यसबीचमा जिल्ला र उच्च अदालतहरूमा विभिन्न दबाबमूलक कार्यक्रम गरेको थियो । प्रधानन्यायाधीश जबरालाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताइरहेका छन् भने सर्वोच्चका बहालवाला न्यायाधीशहरूले पनि उनले मार्गप्रशस्त गर्नुपर्ने बताउँदै आएका छन् । जसका कारण उनीमाथि राजीनामा दिन दबाब छ । तर, तीन महिनादेखि समग्र न्यायक्षेत्र प्रभावित बन्दा पनि उनले आफूले पद नछाड्ने अडान कायमै राखेका छन् ।