मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ ५ बुधबार १८:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बर्जु घटना छानबिन गर्न प्रशासनद्वारा समिति गठन

Read Time : > 1 मिनेट
२०७८ माघ ५ बुधबार १८:३०:००

बर्जु घटनाको विषयमा छानबिन गर्न सुनसरी प्रशासनले समिति गठन गरेको छ। मंगलबार महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटना छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी सदस्य रहेको छानबिन समिति गठन भएको हो। 

यो पनि : आयोजकले बोलाएका कलाकार नआएपछि महोत्सव स्थल तोडफोड 

समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। समितिले बुधबारबाटै काम थाल्ने बताइएको छ। यसैबीच सुनसरी प्रशासनले घटना सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त घटनामा बर्जु गाउँपालिको कार्यालय पूर्ण दोषी रहेको बताएको छ। महोत्सव आयोजकका रूपमा रहेको गाउँपालिकाले प्रशासनको निर्देशन अटेर गर्दा दुर्घटना भएको प्रशासनले  निष्कर्ष निकालेको छ। पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासनको परिपत्र र निर्देशन अटेर गरी गाउँपालिकाले आफूखुसी महोत्सव सञ्चालनमा ल्याएको बताए। उनले महोत्सव रोक्न आफूहरूले गरेको प्रयासलाई गाउँपालिकाले बेवास्ता गरी मनोमानी गरेको बताए। पत्रकारहरूको जिज्ञासामा प्रजिअ यादवले ठूलो हताहतीबाट जोगाउन आक्रोशित भिडमाथि बल प्रयोग गर्न नसकिएको जिकिर गरे। 

उनले प्रहरी प्रशासनले संयमता अपनाउँदा मानवीय क्षति हुन नपाएको उल्लेख गरे। सुनसरी प्रशासनले महोत्सव रोक्न लिखित र मौखिक जानकारी गराए पनि गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीको हठका कारण दुर्घटना हुन पुगेको जनाए। महोत्सवमा बोलाइएका भोजपुरी कलाकार नआएपछि महँगो शुल्क तिरेर टिकट काटी भेला भएको भिड तोडफोड र आगजनीमा उत्रिएको थियो। सो क्रममा चारवटा भारतीय नम्बर प्लेटको स्कारपियो, एक थान मोटरसाइकलमा आगजनी भएको थियो।  स्टेज तोडफोड र आगजनीको क्रममा भागदौड हुँदा दर्जन बढी घाइते हुन पुगेका थिए। प्रहरीले भिड तितरवितर पार्ने क्रममा १५ सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो।