१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७८ माघ ५ बुधबार ०९:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

संखुवासभाका सुन्तला धरान र विराटनगर बजारमा

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ माघ ५ बुधबार ०९:२०:००

पूर्वी पहाडी जिल्ला संखुवासभाका सुन्तला जिल्लाबाहिर धरान र विराटनगरका बजारमा पुग्न थालेका छन् । पछिल्लो समय विराटनगरदेखि धरान हुर्दै संखुवासभाको सदरमुकाम खाँदबारीसम्म सीधा यातायात सेवा जोडिएका कारण यहाँका सुन्तला जिल्लाबाहिरका बजारमा पुग्न थालेको हो । 

विराटनगरदेखि धरान–लेगुवा–सदरमुकाम खाँदबारीसम्म सडक कालोपत्रे भएको छ । धरानदेखि सदरमुकाम खाँदबारीसम्म कालोपत्रे सडक जोडिएका कारण यहाँबाट सुन्तला जिल्लाबाहिर निर्यात हुन थालेको खाँदबारी–४, पाङ्माका कृषक प्रमोद राईले बताए ।

यसअघिसम्म संखुवासभाका सुन्तला खाँदबारी र तुम्लिङटारलगायतका स्थानीय बजारमा बेच्नुपथ्र्यो, तर अहिले धरान र विराटनगरका व्यापारीहरू गाउँ–गाउँ नै आएर बगान नै ठेक्का लिन थालेको उनको भनाइ छ । राईले भने, ‘मेरो त ठूलो बगान छैन, बारीमा २०–२५ वटा सुन्तलाको बोट छ, मैले सबै ४० हजार रुपैयाँमा ठेक्का दिएँ, उनीहरूले नै बोटबाट टिपेर लैजान्छन् । खुद्रा बेचेर एक–दुई सय रुपैयाँ संकलन गर्नुभन्दा एकमुष्ट बेच्दा हामीलाई पनि केही काम टर्छ ।’ आफ्नो मात्र नभई छिमेकीहरू धेरैजनाको उत्पादन व्यापारीले लगेको उनको भनाइ छ । 

गैरीपाङ्मा, लोकेपाङ्मा, डाँडापाङ्मा गरी तीन गाउँमा अत्यधिक मात्रामा सुन्तला उत्पादन हुने गर्छन् । त्यस्तै, जिल्लाको माल्टा र लेलुवामा सुन्तला राम्रो उत्पादन हुन्छ । यो वर्ष माल्टा र लेलुवाबाट करिब १० गाडीभन्दा बढी सुन्तला जिल्लाबाहिर गएको स्थानीय प्रकाश घलेले बताए । धरानका व्यापारी आएर बगान नै ठेक्का लिई सबै सुन्तला लगेको उनको भनाइ छ । ‘गाउँमा नै व्यापारीहरू आए, साना–ठूला सालाखाला एक सय रुपैयाँको २० दानाका दरले बेचियो । खुद्रा थोरै–थोरै बेच्नुभन्दा अलि सस्तो भए पनि एकैपटक सबै दिँदा अलि ठूलो रकम हात पर्ने भएकाले गाउँका सबैले त्यसरी नै बेचे,’ स्थानीय घलेले भने । 

अरुणपारिको गाउँपालिका भनेर चिनिने सिलिचोङ गाउँपालिकको माङतेवा र याफुलगायतका ठाउँहरूबाट समेत सुन्तला जिल्लाबाहिर जान थालेको छ । हिउँदमा कच्ची सडकले सिलिचोङ जोडिएपछि त्यहाँका सुन्तलाहरू व्यापारीहरूले धरान, विराटनगर लैजाने गरेको स्थानीयहरू बताउँछन् । 

विशेष गरी संखुवासभाको सुन्तला उत्पादन हुने क्षेत्रहरू खाँदबारी–४ स्थित गैरीपाङ्मा, लोकेपाङ्मा, डाँडापाङ्मा र सेकाहा हुन् । माल्टा, पाङ्ठा, लेलुवा र सिलिचोङ गाउँपालिकाको माङतेवा, याफुमा पनि राम्रो उत्पादन हुन्छ । चैनपुर नगरपालिकाभित्रका विभिन्न ठाउँहरू र मादी नगरपालिकाभित्रका विभिन्न गाउँसमेत सुन्तला उत्पादनका लागि प्रख्यात मानिन्छ ।