मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ ५ बुधबार ०६:५८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आहा रारा गोल्डकप : क्वार्टरफाइनलसम्म टिकट बिक्री नगरिने

Read Time : > 1 मिनेट
२०७८ माघ ५ बुधबार ०६:५८:००

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करणको तयारी पूरा भएको छ । आगामी बिहीबार अर्थात् ६ माघदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगिता १५ माघसम्म सञ्चालन हुनेछ । 

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै यस वर्ष क्वार्टरफाइनलसम्मका खेलका टिकट बिक्री नहुने आयोजकको भनाइ छ । क्वार्टरफाइनलसम्मका खेल आयोजक, प्रायोजक, सहयोगी संस्थाहरू र सञ्चारकर्मीहरूका बीचमा हुने आयोजक क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । तयारी सबै गरिएकाले प्रतियोगिता रोक्नुभन्दा दर्शकहरूका लागि बन्द गरेर भए पनि सञ्चालन गर्न लागेको उनको भनाइ छ । त्यसपछिका खेलमा कोरोना संक्रमणको जोखिम हेरेर निर्णय गरिने उनले जानकारी दिए । प्रतियोगितामा विभागीय, ए डिभिजन, मोफसल, आयोजक र विदेशी गरी १० टोलीको सहभागिता रहनेछ । 

विभागीय टोलीहरू नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबसँगै संकटा क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब र आयोजक सहारा क्लबसँगै विदेशी टोली अमेरिकाको विवाइएससी मिनेसोटा क्लब सहभागी हुने भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र आयोजकको टोली भिड्ने भएका छन् ।

प्रतियोगिताबाट अनुमानित एक करोड ३६ लाख एक हजार रुपैयाँ आम्दानी र एक करोड ६ लाख ४८ हजार पाँच सय रुपैयाँ खर्च हुने क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले जानकारी दिए । प्रतियोगिताबाट बचेको रकम क्लबद्वारा पोखरा–१७ मा सञ्चालित सूर्यबहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमी सञ्चालनका लागि 
खर्च गरिनेछ ।