Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
शान्ति तामाङ काठमाडाैं
अर्जुन अधिकारी काठमाडाैं
२०७८ माघ ५ बुधबार ०६:२५:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१२ माघमा कोरोना उच्च बिन्दुमा पुग्ने प्रक्षेपण

Read Time : > 4 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७८ माघ ५ बुधबार ०६:२५:००

मंगलबार एकैदिन अहिलेसम्मकै धेरै १० हजार २५८ संक्रमित, अस्पताल भर्ना हुनेको संख्या भने न्यून, १,२१८ उपचाररत

  • ७७ जिल्लामै पुग्यो संक्रमण, १२ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित
  • उपत्यकामा माघभरि सभा, सम्मेलन र भेला गर्न नपाइने
  • करोडौँ खर्चेर सीमामा होल्डिङ सेन्टर बनाइए, तर अझै सञ्चालन भएनन्
  • जोखिम भत्ता मिलाइदिन संसदीय समितिमा स्वास्थ्य मन्त्रालयका सचिवको आग्रह

कोरोना संक्रमण मंगलबार अहिलेसम्मकै धेरै देखिएको छ । पछिल्लो २४ घन्टामा परीक्षण गर्ने २२ हजार आठ सय २८ मध्ये १० हजार दुई सय ५८ जनामा संक्रमण देखिएको छ । यो क्रम अर्को साता अझै बढेर उच्च बिन्दुमा पुग्ने स्वास्थ्य मन्त्रालयकै प्रक्षेपण छ । यसअघि २८ वैशाखमा एकैदिन सबैभन्दा धेरै नौ हजार ती सय १७ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको संक्रमण २६ जनवरी अर्थात् १२ माघमा उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । दैनिक वृद्धि भएको संक्रमण, अन्य देशहरूको संक्रमण अवस्था, परीक्षणलगायत विभिन्न प्राविधिक विषयलाई आधार मानेर मन्त्रालयले यस्तो प्रक्षेपण गरेको हो । 

चिकित्सा प्रयोगशाला विज्ञान संघका अध्यक्ष डा. महेन्द्र भट्ट भन्छन्–अहिलेका अधिकांश संक्रमित पाँच दिनमा ठीक भइरहेका छन् 

पछिल्ला दिन कोरोना परीक्षण बढेको छ । पहिलो लहरमा मानिसहरू त्रसित थिए, त्यसैले परीक्षण पनि धेरै भयो । दोस्रोमा तुलनात्मक रूपमा कम परीक्षण भयो । अहिले ओमिक्रोनको त्रास बढेसँगै परीक्षण गर्न आउने बढिरहेका छन् । प्रायः रुघा, खोकी र ज्वरोको समस्या भएर आउने गरेका छन् । अधिकांश संक्रमित पाँच दिनमै ठीक भइरहेका छन् । 

मन्त्रालयको प्रक्षेपणअनुसार २२ देखि २९ जनवरी अर्थात् ८ देखि १५ माघसम्म नेपालमा धेरै संक्रमण देखिनेछ । १२ माघमा सबैभन्दा धेरै १९ हजार ६ सय ९५ जनामा संक्रमण पुष्टि हुने र तीन सय ९४ जनालाई क्रिटिकल केयरको आवश्यकता पर्ने अनुमान छ । मन्त्रालयले तेस्रो लहरमा नौ हजार दुई सय ७० जना अस्पताल भर्ना हुने र हजारभन्दा बढीमा जटिल प्रकारको संक्रमण देखिने प्रक्षेपण पनि गरेको छ । 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले माघको दोस्रो साता दैनिक संक्रमितको संख्या २० हजारवरिपरि पुग्न सक्ने बताए । संक्रमण बढ्दा अस्पतालमा भर्ना हुने दर पनि स्वतः बढ्ने उनको भनाइ छ । फागुनको पहिलो सातापछि भने संक्रमण घट्न थाल्ने मन्त्रालयले जनाएको छ ।

हालसम्म भने अस्पताल आउने संक्रमित नबढेको अस्पतालहरूले जनाएका छन् । शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार बिरामीको चाप बढेको छैन, तर फाट्टफुट्ट आउन भने थालेका छन् । देशको एक मात्र सरुवारोग अस्पताल टेकुमा पनि बिरामी बढेका छैनन् । अस्पतालका अनुसार अहिले बेड खाली नै छन् । त्यस्तै, पाटन र सशस्त्र प्रहरी अस्पतालमा पनि बिरामी बढेका छैनन् । 

७७ जिल्लामै पुग्यो संक्रमण, १२ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित
पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १२ पुगेका छन् । ती जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली हुन् । काठमाडौंमा सबैभन्दा धेरै १७ हजार सात सय नौ संक्रमित छन् भने ललितपुरमा चार हजार चार सय ७१ र भक्तपुरमा दुई हजार तीन सय ९६ जना सक्रिय संक्रमित छन् । त्यस्तै, धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ र कञ्चनपुरमा दुई सयभन्दा बढी सक्रिय संक्रमित छन् । संक्रमण भने ७७ वटै जिल्लामा पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हाल २८ संक्रमित भेन्टिलेटरमा छन् । यीमध्ये १८ बागमती प्रदेशका, आठजना प्रदेश १ का र दुईजना सुदूरपश्चिमका छन् । एक सय ५१ संक्रमित आइसियूमा छन् । एक हजार दुई सय १८ संक्रमित संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

सीमानाकाका होल्डिङ सेन्टर अझै सञ्चालन भएनन्
संक्रमणको तेस्रो लहर पनि उच्च बिन्दुतिर लाग्दै छ । तर, तीन महिनामा सक्ने भनेर निर्माण सुरु गरिएका सीमानाकाका होल्डिङ सेन्टर ६ महिनासम्म पनि सकिएका छैनन् । भारतबाट आउने संक्रमित र शंकास्पदलाई राख्न सातवटा प्रमुख नाकामा सेनाले होल्डिङ सेन्टर निर्माणको जिम्मा लिएको थियो । तर, होल्डिङ सेन्टर निर्माण नहुँदा भारतबाट आएका संक्रमित पनि त्यसै घर–घरमा गइरहेका छन् । स्वास्थ्यसचिव डा. रोशन पोखरेलले होल्डिङ सेन्टर निर्माणलाई तीव्रता दिइएको र प्रदेश सरकारले सञ्चालन गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको बताए । 

देशभर कति छ दैनिक अक्सिजन उत्पादन क्षमता ?
कोरोनाको दोस्रो लहरमा देशले अक्सिजन अभाव भोग्नुपर्‍यो । अक्सिजन अभावले कैयौँ संक्रमितले ज्यानसमेत गुमाए । अहिले सरकारले अक्सिजन अभाव हुन नदिने गरी व्यवस्था भएको जनाएको छ । सरकारी तथ्यांकअनुसार दैनिक प्रदेश १ मा ४,०८२, मधेसमा ३,७७८, बागमतीमा १२,४२४, गण्डकीमा २,१२४, लुम्बिनीमा ४,३४०, कर्णालीमा ३१२ र सुदूरपश्चिममा ४३६ सिलिन्डर अक्सिजन उत्पादनको क्षमता विस्तार भएको छ । 

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता मिलाइदिन संसदीय समितिमा सचिवको आग्रह
स्वास्थ्य मन्त्रालयले कोभिड रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको पुनः व्यवस्था मिलाइदिन संसदीय समितिलाई आग्रह गरेको छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले यही माघ, फागुन र चैतका लागि भए पनि स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था मिलाइदिन प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिलाई आग्रह गरेका हुन् ।

मंगलबार सिंहदरबारमा आयोजित समितिको बैठकमा बोल्दै पोखरेलले स्वास्थ्यकर्मीले चालू आर्थिक वर्षयता कोरोना जोखिम भत्ता नपाएको जानकारी गराउँदै अर्थ मन्त्रालयसँग कुरा गर्दा विवाद हुने गरेकाले समितिलाई नै सो व्यवस्था गरिदिन आग्रह गर्नुपरेको बताए । 

उपत्यकामा माघभर सभा, भेला गर्न नपाइने
उपत्यकामा कुनै पनि किसिमका आमसभा, जुलुस, सभा र भेला गर्न नपाइने गरी प्रशासन कार्यालयहरूले नयाँ आदेश जारी गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले गरेको निर्णयअनुसारको नियम माघ मसान्तसम्म लागू हुनेछ ।

बैठकपछि जारी विज्ञप्तिअनुसार यस अवधिमा गोष्ठी, सेमिनार, समीक्षा र बैठक पनि गर्न पाइनेछैन । भर्चुअल विधिबाट भने यस्ता कार्यक्रम गर्न पाइनेछन् । भौतिक रूपमै सहभागी हुनैपर्ने कार्यक्रम भए २५ जनाभन्दा धेरै सहभागी हुन पाइनेछैन ।

७ माघदेखि भने यस्ता कार्यक्रममा सहभागी हुनेले अनिवार्य खोप कार्ड देखाउनुपर्नेछ । खोपकार्डको फोटो मोबाइलमा राखेर आवश्यकताअनुसार देखाउन सकिने स्थानीय प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ । 

विज्ञप्तिअनुसार उपत्यकाभित्र सञ्चालन हुने हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार पनि १५ माघसम्म बन्द हुनेछन् । विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक कार्यक्रम १५ माघसम्म सञ्चालन गर्न पाइनेछैन । वैकल्पिक विधिबाट भने उक्त कार्यक्रम गर्न पाइनेछन् । 

प्रशासनहरूले जारी गरेको विज्ञप्तिअनुसार सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसलमा एकपटकमा २५ जनाभन्दा धेरै सहभागी हुन पाइनेछैन । पार्टी प्यालेसको हकमा भने कार्यक्रममा ५० जना सहभागी हुन पाइने व्यवस्था गरिएको छ । तर, कार्यक्रममा सहभागीले स्वास्थ्य मापदण्ड भने अनिवार्य रूपमा पलना गर्नुपर्नेछ । 

माघमा सार्वजनिक यातायातका साधन भने निर्वाध चल्ने पाउनेछन् । तर, उनीहरूले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउनेछैनन् । सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ । सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिएर मास्क उपलब्ध गराउन सक्नेछन् ।

३१ जनालाई संक्रमण भएपछि दुई साताका लागि सर्वोच्चको सेवा कटौती
न्यायाधीश र कर्मचारीमा कोभिड संक्रमण देखिएपछि सर्वोच्च अदालतले दुई साताका लागि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुधबारदेखि सेवा कटौती गर्ने निर्णय लिएको हो । 

न्यायाधीश, मुख्य रजिस्ट्रार र कर्मचारी गरी ३१ जनामा कोभिड देखिएपछि सेवामा सीमितता ल्याइएको सर्वोच्चले जनाएको छ । बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा १८ माघसम्मका लागि सेवा कटौती गर्ने निर्णय भएको उल्लेख छ । 

यसबीचमा बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ हुनेछ । मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमित रूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर पनि सुनुवाइ हुनेछ । यसबाहेक थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउनेमा रहेको मुद्दाको सुनुवाइ गर्ने र सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने सेवा पनि जारी रहनेछ । 

उच्च र जिल्ला अदालत, अरू न्यायाधिकरणको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा संक्रमित भएको अवस्थासमेतको मूल्यांकनका आधारमा कामकारबाही गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।