मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मिलन पाण्डे
२०७५ फाल्गुण २३ बिहीबार ०८:२४:००
Read Time : > 6 मिनेट
दृष्टिकोण

पपुलिस्ट नेता, पपुलिजमप्रेमी जनता

जनता शीतलहरमा कठ्यांग्रिएका वेला नेता पत्रिकाको ज्याकेटमा छन्, हाम्रा नेता पनि पपुलिजमको लतमा फसेका छन्, नत्र साइकल देखाएर भोट माग्नुपर्दैन थियो 

Read Time : > 6 मिनेट
मिलन पाण्डे
२०७५ फाल्गुण २३ बिहीबार ०८:२४:००

मिठाई पसले र डाक्टर चुनावी प्रतिस्पर्धामा उत्रिएछन् । चुनाव प्रचारमा डाक्टरले सबैलाई स्वस्थ राख्ने बाचा गर्दो रहेछ । उता मिठाई पसले भने आफूले जिते सबैलाई पसलको मिठाई दिने बाचा गर्दो रहेछ । डाक्टरले जिते तितो औषधि दिन्छ भन्दै उसलाई भोट नदिन चर्को भाषण गर्दोरहेछ । चुनाव हुन्छ, मिठाई पसले जित्छ । अल्पकालीन फाइदाले दीर्घकालीन फाइदा देख्न सक्दैन । यो कथाले मान्छे अनि हाम्रो समाजको मनस्थितिको चित्रण गर्छ ।

हाम्रा ‘पपुलिस्ट’ नेता
जर्मन समाजशास्त्री म्याक्स वेबर नेतृत्वलाई तीन प्रकारमा विभाजन गरी विश्लेषण गर्छन् । पहिलो, परम्परावादी नेतृत्व– राजा, महाराजा, धनी, धार्मिक नेता आदि । दोस्रो, कानुनसम्मत र तर्कसंगत नेतृत्व, जसमा लोकतान्त्रिक प्रक्रियाबाट चुनाव जितेर आएका नेता पर्छन् । तेस्रोमा आधा भरिएको छचल्किने गाग्रीजस्ता नेता अर्थात् डेमोगग । यी नेता चर्का कुरा गरेर एकाएक स्थापित हुन प्रयास गर्छन् र हुन्छन् पनि । ‘पपुलिजम’ वा लोकप्रियतावाद अर्थात् लोकरिझ्याइँ राजनीतिको लत बन्दै छ । नेताहरू सतही लोकप्रियतामा फस्दै छन् । चुनाव नजिकिँदै गरेको भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सफाइ कर्मचारीको गोडा धोए । चुनावअघिको यो ‘गोडधुवाइ’ले अर्थ बोक्छ । हाम्रा नेताले पनि चुनावमा मतदाताको घर पुगेर गाई दुहुने अनि खेतमा गएर धान काट्नेजस्ता काम गरेका थिए ।

हालै प्रधानमन्त्री केपी ओलीले पानीजहाज कार्यालयको उद्घाटन गरे । भोलिपल्टै उद्घाटन गर्दा राखिएको बोर्डधरि मिल्किएको पाइयो । अल्लिअघि गोबर ग्यासको उद्घाटनका निम्ति तीन मन्त्री र उच्चपदस्थ पदाधिकारीको लावालस्करसहित विराटनगर पुगेर प्रधानमन्त्रीले लाखौँ खर्च गराए । पाइपबाट ग्यास आएको भन्दै टुक्का जोडेर आलोचकमाथि बर्सिए । तर, अहिले पाइपबाट चुलो–चुलोमा ग्यास पु-याउने कुरा कहाँ पुग्यो थाहा छैन । अहिले त काम देखाउन धाराको टुटी उद्घाटनमा पनि मन्त्रीहरू पुग्न थालेका छन् । दसैँमा नेताले पिङ उद्घाटन गरेको समाचार आउँछ । मेलम्चीको पानीले काठमाडौंका सडक पखाल्ने सपना बाँड्दा नजन्मिएको बच्चा यतिवेला तन्नेरी भए । तर, पसलको पानी नकिनी गला भिजाउन पाइन्न“ । तैपनि प्रधानमन्त्री जनतालाई यति गते पानी जहाजको टिकट काटेर यात्रा गर्न आउनू भन्छन् भने यो भद्दा मजाक हो ।

पोलपोलमा नेताको तस्बिर लोकप्रियतावादकै निरन्तरता हो । श्रमिकका लागि गरिएको कार्यक्रममा किन श्रमिकको तस्बिर नआई प्रधानमन्त्रीको तस्बिर चाहिने ? जनता शीतलहरमा कठ्यांग्रिएका वेला नेता पत्रिकाको ज्याकेटमा छन् । हाम्रा नेता पनि लोकप्रियताको लतमा फसेका छन् । नत्र साइकल देखाएर भोट माग्नुपर्दैन थियो । नोकिया १११० मोबाइलबाहेक केही छैन भन्ने अनि श्रीमतीको नाममा लाखौँ बैंक ब्यालेन्स– लोकप्रियतावादकै नमुना हो । 

फेरि पनि मूल प्रश्न लोकप्रियतालाई केका लागि प्रयोग गर्ने भन्ने नै हो । प्रचारका लागि वा परिणामका लागि ? सत्ताका लागि वा समाधानका लागि ?

‘पपुलिजम’को ग्राहक
ताली एक हातले बज्दैन । नागरिक पनि यो लतबाट अछुतो छैनौँ । रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेको केही समयअघि प्रकाशित ‘एसियाकै दोस्रो’ भन्ने लेखमा उठाएको एउटा प्रसंग घत लाग्दो थियो । उनको गाउँको ठूलो पहाड देखाएर अहिले पनि गाउँलेहरू भन्दा रहेछन्– ‘यो पहाड त एसियाकै दोस्रो ठूलो र अमेरिकाले अर्बौं डलरमा किन्छु भन्दा पनि हाम्रा नेताले नबेचेको ।’ हामी कल्पना अनि कथामा रमाउछौँ । गाउँको चौतारीमा दिनहुँ ‘रूख ठूलो कि सूर्य’ भन्ने ‘गम्भीर’ बहस गर्नेहरू देखेका छौँ । ‘नेताले दाह्री जुँगा पाल्न हुन्छ कि हुँदैन’ भन्ने बहसमा त्रिभुवन विश्वविद्यालयकै प्राध्यापकहरूले झगडा गरेको कुरा त्यहीँका प्राध्यापकले सुनाएका थिए ।  हामी नेताको कपोलकल्पित भाषणमा रमाउ“छौँ, आफैँ त्यस्ता तर्कमा उत्रन्छौँ । त्यसैले त पपुलिजमको बजार गर्माएको छ । चुनावमा मोनो रेल पाँच वर्षमै ल्याउने कुरा गर्दा दंग प-यौँ । तर, आजबाटै निर्माण थाल्ने हो भने पनि कम्तीमा ८–१० वर्ष लाग्छ । अहिलेकै तालले त कहिले हो कहिले ! तैपनि हामी त्यही हावा गफको पछाडि कुद्याकुद्यै छौँ । बिहानै नेताले आजबाट नयाँ युग सुरु भयो भन्दिन्छन्, हामी पत्याउँछौँ । कसैले यथार्थ बताइँदिदा षड्यन्त्र लाग्छ, विकासविरोधी लाग्छ, सत्ताविरोधी लाग्छ । यसैले त माताको भविष्यवाणीदेखि, ‘एक भोट गाईलाई एक भोट दाइलाई’मा भोट खसाल्छौँ ।

‘पपुलिजम’को मनोदशा
एउटा मानिस आफैँसँग खुसी छैन । अफिसमा हाकिमले गाली गर्छन्, घरमा समस्यैसमस्या । घरबाहिर निस्कँदा बाटोका खाल्डाखुल्डीले बाइक बिग्रेकोबिग्रियै गर्छ । छोराछोरीको स्कुलले गह्रुंगो बिल पठाएको छ । अस्पतालको हालत त आफ्नोभन्दा खराब छ । उठ्नेबित्तिकै अखबार पल्टायो, नेताको काण्डैकाण्ड पढ्नुपरेको छ । भोट हालेको नेता फेरि फर्केर आएन । यस्तै अवस्थामा जुध्दै गरेको नागरिकको अगाडि एउटा पात्र प्रकट हुन्छ, जसले उसको आवाज बोल्छ । उसको तर्फबाट सरकारलाई सडकबाट गाली गर्छ । उसलाई प्रतिनिधित्व गर्छ भने आमनागरिकले त्यो नेतालाई साथ दिन्छन् । लोकप्रियतावादीले सुरुमा नागरिकमा आशा जगाउँछन् । जनताको दैनन्दिन समस्यालाई एजेन्डा बनाउँ“छन् ।

सत्ताको नेतृत्वलाई चुनौती दिन्छन् । पपुलिस्टले सधैँ जटिल समस्याको पनि नागरिकले बुझ्ने भाषामा ‘सजिलो समाधान’ दिन्छन् । घटनाको नाटकीकरण गर्छन् । ‘ग्रान्ड डिजाइन’ वा ‘विदेशी षड्यन्त्र’जस्ता शब्दावलीले घटनाको चित्रण गर्छन् । प्रणालीभन्दा व्यक्तित्वको राजनीति गर्छन् । प्रणाली सुधारभन्दा व्यक्ति हटाउन सके समाधान आउने तर्क गर्छन् । एकजनालाई भगवान् र अर्कोलाई दानव बनाई राजनीतिक युद्ध गराउँछन् ।

लोकप्रियतावादले विपक्षीको आलोचना मात्र होइन, गाली गर्छ । नागरिकको रिसलाई आफ्ना चर्का भाषण अनि अभिव्यक्तिमा उतार्छ । जात, भाषा, धर्म, धोती अनि टोपीको राजनीति गर्छ । गोएबल्स शैलीमा आफ्नो प्रचार गराउँछ । राजनीतिक स्वार्थका लागि नागरिकले उति नरुचाएका पात्र, संस्कार, इतिहासका घटनाक्रम आदिलाई खुंखार खलनायक बनाउ“छ र राजनीति गर्छ । ओली मधेस विरोधी भावनामा खेले, भारतमा मोदी मुस्लिमविरोधी कट्टर हिन्दुत्वको राजनीति गर्छन् र डोनाल्ड ट्रम्पले आप्रवासीलाई निशाना बनाए । लोकप्रियतावादले जति छिटो शिखरमा पु-याउँछ, त्योभन्दा छिटो तल झार्छ ।

कुनैवेला ‘कांग्रेसबाट सभापति उठे पनि केपी ओली जित्छन्’ भनिन्थ्यो, आज आफ्नै पार्टीमा कमजोर भइरहेका छन् । हुन त पपुलिजमको हावा विश्वभर नै चलेको छ । हालै मात्र अनुदार, नश्लवादी, महिलाविरोधी जाइर बोल्सोनारोले ब्राजिलमा चुनाव जिते । बेलायतमा बे्रक्जिट अभियन्ता युनाइटेड किङडम इन्डिपेन्डेन्ट पार्टीका नेता नाइजेल फराज, अस्ट्रियामा फ्रिडम पार्टी अफ अस्ट्रियाका नेता नोरवर्ट होफर, फ्रान्समा नेसनल फ्रन्ट पार्टीकी नेतृ मरिन ले पेन र जर्मनमा अल्टरनेटिभ जर्मनी पार्टीकी नेत्री फ्राउक पेट्री लोकप्रियतावादकै पथमा अघि बढेका छन् ।

‘पपुलिस्ट’ले सर्वसाधारणसँगै मिडिया, व्यापारी अनि बौद्धिक वर्गलाई प्रभाव पार्छन् । नागरिकको भाषामा विपक्षीलाई चुनौती दिन्छन्, नौटंकी गर्छन्– जुन सञ्चारमाध्यमलाई मन पर्छ । सामाजिक सञ्जाल अनि मिडियाको युगमा लोकप्रियतावादीले प्रभावकारी माध्यम पाएका छन् । नेपाल वा भारतजस्तो विकासशील देशमा मतदातामा क्षणिक आक्रोश बढी हुन्छ । अनि लोकप्रियतावादका लागि राम्रो माहोल बन्छ । त्यसैले त गोविन्द केसीले उठाएको मुद्दाभन्दा चलचित्रको नायक–नायिकाको प्रेम सम्बन्धले मिडिया अनि सामाजिक सञ्जालमा चर्चा पाउँछ । चेपाङ युवाले बनाएको हेलिकोप्टरभन्दा विद्यार्थी संगठनको झगडाले स्थान पाउँछ । प्रतिपक्षी छँदा केपी ओलीले ‘सरकार अलच्छिना भएर दिनहुँ बस दुर्घटना भयो’ भन्दा ताली बजाउने र रमाउने हामीलाई देशको समृद्धिसँग जोडिएको शिक्षा आयोगले प्रस्ताव गरेको नीतिमा खासै रुचि हुँदैन । 

पपुलिस्टले सधैँ जटिल समस्याको नागरिकले बुझ्ने भाषामा सजिलो समाधान दिन्छन् । घटनाको नाटकीकरण गर्छन् । प्रणालीभन्दा व्यक्तित्वको राजनीति गर्छन् ।
 

‘पपुलिज्म’को सिद्धान्त
सिद्धान्त र विचारको राजनीतिको यात्रा लामो हुन्छ, छोटो बाटोको रूपमा लोकप्रियतावाद फस्टाउँछ । जसले मूलभूत रूपमा पहिचान अनि नागरिकको निराशाको राजनीति गर्छ । डर देखाउँछ अनि त्यसमा खेल्छ । त्यही निराशा अनि डरलाई लिएर सत्ताविरोधी मनोभाव फैलाउँछ अनि राजनीति गर्छ । तसर्थ, पपुलिस्टहरू प्रायः औसत मान्छेको भावनालाई प्रतिनिधित्व गरेर एउटा समान शत्रु बनाएर लड्ने र सत्तामा पुग्ने तरिका अपनाउँछन् । भावना अनि विवेकको राजनीतिमा जब भावनाले मात्र काम गर्न खोजिन्छ तब एउटा नेता ‘पपुलिस्ट’ बन्छ । ‘पपुलिस्ट’लाई मतदाताको राम्रो समर्थन रहन्छ ।

समर्थकका आ–आफ्नै समस्या, तर्क अनि स्वार्थ हुन्छन् । ती सबै प्रायः सत्ताकेन्द्रित हुन्छन् । त्यही भएर उनीहरू सत्ताविरुद्ध एक ठाउँमा आउँछन् । ‘पपुलिस्ट’ले यी समस्याको उठान गर्छन् । जनता समाजमा विभेद छ भन्ने ठान्छन्, त्यसैले पपुलिस्टलाई साथ दिन्छन् । सत्ताले विभेद गर्छ, पपुलिस्टले त्यही विभेदको विरोध । ‘सत्तामा हुनेले तपाईंको नेतृत्व गर्दैन’ भनेर भाषण गर्दै गर्दा जनता उफ्रिन्छन, त्यही भाषणबाजलाई नेता मान्छन् ।  

पपुलिस्ट लोकतन्त्रवादी, अधिनायकवादी, राष्ट्रवादी, साम्यवादी, समाजवादी वा जुनसुकै वादी पनि हुन सक्छन् । दक्षिणपन्थी लोकप्रियतावादीले प्रायः जातीय, धार्मिक, लैंगिक, अल्पसंख्यक र स्थापित नेतालाई आरोप लगाउ“छन् भने वामपन्थीले प्रायः शक्तिशाली, धनी, बौद्धिकलाई शत्रुको रूपमा खडा गर्छन् । ‘सधैँ नागरिकका लागि काम गर्न तम्सिएका’ एक्काइसौं शताब्दीका ‘पपुलिस्ट’ भने जात, धर्म, संस्कृति वा वर्गलाई जोडेर राष्ट्रियतालाई प्रमुख एजेन्डा बनाउँछन् । पपुलिस्ट कुनै बहस गर्न रुचाउँदैनन् । पपुलिस्टले प्रायः ‘संरक्षणवादी आर्थिक नीति’ अघि सार्छन् ।

पपुलिस्टका प्रायः तीन चरित्र हुन्छन् । पहिलो, तिनले लिने नीति अल्पकालमा लोकप्रिय भए पनि दीर्घकालमा समाधान दिनेखाले हुँदैनन् । उदाहरणका लागि, भेनेजुएलाका ह्युगो चाभेजका सहुलियत वा सामाजिक सुरक्षाजस्ता योजनालाई लिन सकिन्छ । उनले तेल बेचेर आएको स्रोतलाई लगातार गरिब नागरिकको हितमा खर्च गरे । जब तेलको मूल्य घट्यो, राज्य नै टाट पल्टिने अवस्थामा पुग्यो । दोस्रो, चरित्र जनतालाई वर्गीकरण गर्ने हो । पपुलिस्टले पूरै जनसमुदायलाई नेतृत्व गर्दैन ।

खास वर्ग वा समुदायलाई मात्र असली नागरिकको रूपमा चित्रण गर्छ । मोदीले हिन्दूलाई अनि ट्रम्पले मूल अमेरिकीलाई असली जनताको रूपमा चित्रण गरेझैँ । तेस्रो, लोकप्रियतावादीको नेतृत्वशैली समान हुने गर्छ । सानो समूहमार्फत सबै काम गर्छन् । त्यही समूहमार्फत अन्य संरचनालाई नमानी जनतास“ग जोडिन्छन् । यसले पार्टी कमजोर हुन्छ भने व्यक्ति बलियो । नेताले संगठनलाई आफूभन्दा तल राख्छन् अनि निजी स्वार्थमा प्रयोग गर्छन् । ‘पपुलिस्ट’ले मूल राजनीतिभन्दा टाढा रहेर नेतृत्व गर्छन् । जब नागरिक हार्छन्, रिसाउँछन्, सरकारसँग दूरी बढ्छ तब पपुलिस्ट उदाउँछ ।

के पपुलिजम नराम्रो हो ?
खोक्रो पपुलिज्ज उम्लेको दूधजस्तो हो । जति देखिन्छ त्यति हु“दैन, जति गर्छु भन्छन् त्यति गर्न सक्दैनन् । तर, पनि पपुलिजम ठूलो राजनीतिक हतियार हो । यो सधैँ नराम्रो नै हो भन्ने होइन । हिटलर पनि पपुलिस्ट हुन् र सोही समयका अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डी रुजबेल्ट पनि पपुलिस्ट नै मानिन्छन् । दुवैले देशको निराशामा टेकेर राजनीति गरे । नतिजा भने फरक आयो । नेतृत्व अनि संगठन कत्तिको बलियो छ अनि परिणामका लागि कत्तिको तयार छ भन्ने कुरा प्रमुख हो । नियत सत्तामा पुग्ने हो वा परिवर्तन हो भन्ने उद्देश्यले ठूलो असर गर्छ । चुनावमा आफ्नो मत स्थापित गर्न वा आफूलाई स्थापित गर्ने एक हदसम्म लोकप्रियतावाद अपनाउने हो भने त्यसलाई गलत भन्न सकिन्न । यसले नागरिकको मन जित्नका लागि सहयोग गर्छ । तर, कुन मुद्दा केका लागि उठाउने भन्ने मूल प्रश्न हो । राजनीतिक दल वा नागरिक समाजले एक हदसम्म पपुलिस्ट नभई आफ्नो मुद्दा स्थापित गर्न सक्दैनन् । तर, प्रश्न फेरि पनि उद्देश्यमै आएर ठोकिन्छ ।

पपुलिजमले राम्रो पनि गर्छ । थिचिएका मुद्दा र समुदायलाई उकास्छ, बहस चलाउँछ अनि विकल्प दिन्छ । यसले राजनीतिमा चासो नभएका मान्छेको पनि राजनीतिमा चासो जगाउँछ, भोट हाल्न बुथसम्म मतदातालाई पु-याउँछ, राजनीतिमा नयाँ नेतृत्व जन्माउँछ । कुलमान घिसिङ सकारात्मक लोकप्रियतावादका उदाहरण हुन् । उनको प्रचार मात्र होइन, सोहीअनुरूपको परिणाम पनि आएको छ । नाकाबन्दीका वेला केपी ओलीको राष्ट्रियताको ‘पपुलिज्म’ तत्कालीन अवस्थामा गलत थिएन । तसर्थ, सदुपयोग गर्न सके लोकप्रियतावाद राम्रो हो । तर, म सत्तामा पुगेपछि त देश बनिहाल्छ नि भनेर सोच्नुचाहि“ पपुलिस्टले आफैँलाई अन्धकारमा राख्नु हो ।

निष्कर्ष
लोकप्रियतावादले रजनिकान्तजस्तो हिरो खोज्छ । जादुगरले देखाएको जस्तो चमत्कार खोज्छ । ‘सुपरम्यान’ कल्पना हो, वास्तविकता होइन । कुरा थाहा छ, तर बुझ्न तयार छैनौँ । हामीलाई हतारो छ । हतारो अनि डर नै पपुलिजमको आधार हो । मुद्दा, योजना, तयारीभन्दा प्रोपागान्डा प्रधान बनिरहँदा नेतृत्व नै खोक्रो हुन्छ । विपक्षमा बसेर प्रश्न सोध्न सजिलो हुन्छ, तर गर्ने ठाउँमा पुगेपछि उत्तर दिन गाह्रो हुन्छ । किनभने लोकप्रियतावाद आफैँमा एउटा खहरेजस्तो भावना हो । लोकप्रियतावादीले गम्भीरतापूर्वक समाज र विश्वको परिदृश्यलाई हेरेर निर्णय गर्ने गरेको कमै मात्र पाइएको छ । सबै युवालाई रोजगारी दिने भाषण गर्ने पपुलिस्टलाई कसरी भनेर सोध्नुस्, योजना हुँदैन । असमानता कसरी कम गर्नुहुन्छ भनेर प्रश्न गर्नुस्, उत्तर हुँदैन । राष्ट्रियताको मुद्दा बोकेर चर्चित भएका नेतालाई सबैलाई समेट्ने सूत्र सोध्नुस्, जवाफ हु“दैन । खाली रिस हुन्छ, प्रश्न हुन्छ अनि सत्ताविरोधी मनोभाव हुन्छ ।

‘पपुलिस्ट’ हुनै मात्र त यो मिडियाको युगमा त्यति गाह्रो नहोला । पाइन्टमाथि रातो कट्टु लगाएर माइतीघरमा उभिए वा बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध चर्को भाषण गरे वा लाइनमै बसेर महसुल तिरे पनि लोकप्रिय भइन्छ । तर, फेरि पनि मूल प्रश्नचाहि“ लोकप्रियतालाई केका लागि प्रयोग गर्ने भन्ने नै हो । प्रचारका लागि वा परिणामका लागि ? सत्ताका लागि वा समाधानका लागि ? सत्तामा पुग्नैका लागि हो भने, सुरुको कथाको मिठाई पसलेजस्तै खोक्रा नारा फलाक्नेहरू राजनीतिको हिरो बनी नै रहन्छन् । जनता रमाई नै रहलान्, भोट हाली नै रहलान् ।