मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ ३ सोमबार १०:५२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चार महिनापछि नेप्सेमा उच्च रकमको कारोबार

Read Time : > 1 मिनेट
२०७८ माघ ३ सोमबार १०:५२:००

नेपाली सेयर बजारमा चार महिनापछि एकैदिन नौ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आइतबार बजारमा नौ अर्ब ६७ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको हो ।

पुस मसान्त सकिएसँगै बजार बढ्ने अपेक्षामा लगानीकर्ता रहेका थिए । यद्यपि, बैंकिङ प्रणालीमा तरलताको पछिल्लो अवस्था सार्वजनिक भएको छैन । बैंकहरूले निक्षेपको ब्याजदर यथावत् राखेका छन् भने कर्जाको केही बढाएका छन् । बजारले वृद्धिको बाटो समात्दा लगानीकर्ता थप आशावादी भएका हुन् । कोभिडको तेस्रो लहर देखा परेसँगै बजारमा पहिलेजसरी नै सबै क्षेत्रबाट लगानी आउने अपेक्षामा लगानी बढिरहेको छ । 

आइतबार नेप्से परिसूचक करिब ७० अंकले बढेर दुई हजार नौ सय २६ बिन्दुमा पुगेको छ । लगानीकर्ताले वाणिज्य बैंक र जलविद्युत् कम्पनी समूहमा लगानी बढाइरहेका देखिन्छन् । आइतबार कारोबार भएकोमध्ये करिब ३० प्रतिशत जलविद्युत् कम्पनीको सेयरमा लगानी भएको छ भने वाणिज्य बैंक समूहमा १४ प्रतिशतबराबर लगानी बढेको छ । 

प्रतिफलका लागि भन्दा पनि मूल्य परिवर्तनबाट लाभ लिन जलविद्युत् कम्पनी समूहमा लगानीकर्ताले ट्रेडिङ गरिरहेका छन् । जलविद्युत् कम्पनीहरूमा दुई अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको हो ।

यस समूहबाट अरुण भ्याली, अपि हाइड्रो, अपर तामाकोसीलगायतका सेयरमा उच्च कारोबार भएको छ । यी कम्पनीहरूको २९ देखि ३६ करोड रुपैयाँसम्म कारोबार भएको हो । वाणिज्य बैंकमा सिभिल र एनआइसी एसिया बैंकको कारोबार उच्च भएको छ । यी बैैंकको १२ देखि १४ करोड रुपैयाँसम्म सेयर कारोबार भएको हो । वाणिज्य बैंक समूहकै स्ट्यान्डर्ड चार्टर्ड बैंकको मूल्य कारोबारमा आएका सबै कम्पनीहरूको भन्दा धेरै अर्थात् १० प्रतिशतले बढेर पाँच सय ५० रुपैयाँ पुगेको छ । 

कारोबारमा आएका सबै समूहगत परिसूचकमा वृद्धि भए पनि उत्पादन तथा प्रशोधनमूलक समूह करिब ६ प्रतिशतसम्म बढेको छ । यो समूहको हिमालयन डिस्टिलरीको मूल्य करिब ९ प्रतिशतले मूल्य बढेर चार हजार आठ सय ८८ पुगेको छ । यस दिन कारोबारमा आएका एक सय ८९ धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने २८ वटाको मूल्य घटेको छ । बजार बढेसँगै लगानीकर्ताको सम्पत्तिको मूल्य बढेर ४१ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।