सिराहाको गोलबजारस्थित दुर्गा मन्दिर नजिकै बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम सडकअन्तर्गत गोलबजार नगरपालिका– ६ मा पर्ने दुर्गा मन्दिरनजिकै भएको मोटरसाइकल दुर्घटनामा गोलबजार– ६ घर भएका करिब ४२ वर्षीय कृष्णदेव यादवको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार यादव मोटरसाइकल चढेर बिहीबार साँझ ६ बजेतिर चोहर्वातिर गइरहेका थिए । प्रहरीका अनुसार तीव्र गतिमा रहेको यादव चढेको प्रदेश २–०१–००१ प ५७५४ नम्बरको मोटरसाइकलले दुर्गा मन्दिरनजिक बा.९४ प ४६७२ नम्बरको अर्को मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । अर्को मोटरसाइकलमा रहेका गोलबजार– ७ का सागर श्रेष्ठको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिए । प्रहरी निरीक्षक राईका अनुसार मृतकको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।