मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सहकारीको कार्यक्रममा मंचमा अतिथि । अतिथिले मास्कसमेत लगाएका छैनन् ।
२०७८ पौष ३० शुक्रबार ०९:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना प्रोटोकललाई लत्याउँदै दुई सयभन्दा बढीको उपस्थितिमा सहकारीको साधारणसभा, जनप्रतिनिधि नै उपस्थित

Read Time : > 1 मिनेट
२०७८ पौष ३० शुक्रबार ०९:२१:००

झापा : गृह मन्त्रालयदेखि जिल्ला प्रशासन कार्यालय झापाले समेत जारी गरेको कोरोना प्रोटोकल मिचेर झापाको एक सहकारीले सयौँको उपस्थितमा वार्षिक साधारणसभा गरेको छ ।

गौरादह– ४ मा रहेको दुई हजारभन्दा बढी सेयर सदस्य भएको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले कोरोना प्रोटोकल मिचेर १९औँ वार्षिक साधारणसभा गरेको हो । साधारणसभामा जनप्रतिनिधिसहितको उपस्थिति थियो । साधारणसभामा करिब अढाई सयको उपस्थिति रहेको संस्थाकी अध्यक्ष मीना ढकालले जानकारी दिइन् । ‘सहकारीमा दुई हजार सदस्य हुनुहुन्छ,’ उनले भनिन्, ‘आउँदै–जाँदै गर्नुभयो । त्यहाँ बस्ने दुई–अढाई सय हुनुहुन्थ्यो ।’

गृह मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको त्रासका कारण सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला नगर्न निर्देशन जारी गरेको छ । केही दिनअघि जिल्ला प्रशासन कार्यालय झापाले समेत यो प्रोटोकल सार्वजनिक गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गर्दै भएको कार्यक्रममा गौरादह नगरपालिकाका नगरप्रमुख रोहितकुमार साहसमेत सहभागी थिए । सहभागीले मास्कको प्रयोग गरे पनि मञ्चमा बस्ने अतिथिले भने मास्कसमेत लगाएका थिएनन् । ‘अतिथिहरूले फोटो खिच्ने क्रममा मात्र मास्क खोल्नुभएको हो,’ अध्यक्ष ढकालले भनिन् ।

उनले गौरादहमा कोरोना संक्रमणको त्रास नभएका कारण कार्यक्रम गरिएको बताइन् । ‘हामीले नगरपालिका, प्रहरीमा पत्र लेखेरै कार्यक्रम गरेको हो । हाम्रो नगरमा संक्रमण खासै छैन । स्कुल पनि लागिरहेकै छन्,’ उनले भनिन्, ‘यहाँ समस्या छैन, गर्नु, धेरै लामो नगर्नु भन्नुभएको थियो । त्यही भएर डेढ घन्टामा सक्यौँ । मेयर र सुरक्षाकर्मी पनि आउनुभएको थियो । महारानीझोडाका मात्र हुनुहुन्छ । बाहिरका मान्छे छैनन् । सबैले खोप लगाएकै छन् ।’

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कोरोना प्रोटोकल मिच्न नमिल्ने बताए । उनले कुनै क्षेत्रमा कोरोना संक्रमण भए–नभएको कसैले आकलन गर्न नसक्ने बताए । ‘हामीले २५ जनाभन्दा धेरै भेला हुन नदिने गरी प्रोटोकल जारी गरेका छौँ । मेला–महोत्सव गर्न पाइँदैन । उहाँहरूले हाम्रोमा कोरोना छैन गर्छौँ भन्नुहुन्छ भने किन स्वास्थ्यकर्मी चाहिन्थ्यो ? परीक्षण गर्नुपर्थ्याे ?,’ प्रजिअ रिजालले भने, ‘सहकारीका  संस्था सञ्चालक भनेको समाजका जान्ने–बुझ्ने मान्छे हुन् । समाज परिवर्तनका संवाहक पनि हुन् । उहाँहरूले यसरी गर्न नहुने हो ।’ उनले यसबारेमा थप बुझ्ने बताए ।

सहभागिता र स्वास्थ्य प्रोटोकलको विषयमा गौरादह नगर प्रमुख साहसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । उनले सहयोगी महेश कार्कीलाई फोन उठाउन दिए । कार्कीले मेयर साहसँग सम्पर्क हुन नसक्ने बताए ।