Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ३० शुक्रबार ०६:५४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकले नेपाल बंगलादेशलाई गाभ्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ३० शुक्रबार ०६:५४:००

बंगलादेशको एक सय सेयरबराबर नबिलको ४३, चुक्ता पुँजी साढे २२ अर्ब पुग्ने, निक्षेप र कर्जा दुवै तीन खर्ब नाघ्ने

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने भएको छ । दुई बैंकबीच बिहीबार प्राप्ति (एक्विजिसन)सम्बन्धी प्रारम्भिक सम्झौतामा नबिलका तर्फबाट सञ्चालक तथा मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेशका तर्फबाट सञ्चालक तथा सदस्य इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका हुन् । एक्विजिसनको काम पाँच महिनाभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

यसअघि दुवै बैंकले संयुक्त मर्जर–एक्विजिसनसम्बन्धी समिति गठन गरेका थिए । समितिले नेपाल बंगलादेश बैंकको एक सय कित्ता सेयरबराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो) तय गरेको थियो । समितिले तय गरेअनुसारको स्वाप रेसियो कायम हुने गरी तयार पारेको सम्झौतापत्रलाई बिहीबार नै दुवै बैंकका सञ्चालक समितिले पारित गरेका थिए । प्रारम्भिक रूपमा तय गरिएको सेयर आदान–प्रदान अनुपात सम्पत्ति दायित्व मूल्यांकन प्रतिवेदनको मूल्यांकनलाई समेत आधार मानी अन्तिम रूपमा तय हुने दुई बैंकले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्झौता हुनु एउटा कोसेढुंगा भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । ‘यसले दुई बैंक मिलेर बनेको संस्थालाई शाखा सञ्जाल, वासलातको आधार, टिमलगायतका आधारमा भविष्यमा पनि बैंकिङ उद्योगमा नेतृत्वदायी भूमिकामा रहिरहन सक्षम बनाउनेछ,’ शाहले भने । 

नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति लिएकालाई त्यसलाई समेत मध्यनजर गर्दै एक्विजिसनको सम्झौता गरेको संयुक्त विज्ञप्तिमा उल्लखे छ । ‘ब्रान्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बंगलादेश बैंकलाई प्राप्तिपश्चात् बैंक वाणिज्य बैंकहरूमा सबै सूचकांकहरूमा अग्रणी हुने विश्वास छ,’ विज्ञप्तिमा उल्लेख छ ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको प्राथमिक पुँजी ४३ अर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, चुक्ता पुँजी २२ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । दुई बैंक एक भएपछि कर्जा रकम तीन खर्ब रुपैयाँ पुग्नेछ भने निक्षेप तीन खर्ब १४ अर्ब हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ३० अर्बभन्दा माथि हुनेछ । शाखा सञ्जाल तत्कालै दुई सय ३५ पुग्नेछ भने ग्राहक संख्या १६ लाखमाथि हुने संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

एक्विजिसनसम्बन्धी प्रक्रिया अगाडि बढाउन बनाइएको मर्जर कमिटीमा नबिल बैंकको तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा सञ्चालकहरू आशा राणा अधिकारी तथा अनन्त पौड्याल सदस्य थिए । त्यस्तै,  नेपाल बंगलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद साल आलम सरवर, इन्द्रबहादुर थापा र अमन शाह सदस्य थिए । समितिको सदस्य सचिवमा नबिल बंैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली थिए ।