मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष २९ बिहीबार १६:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले जिल्ला अधिवेशनमा पूर्वमाओवादी नेताहरू पराजित

Read Time : > 1 मिनेट
२०७८ पौष २९ बिहीबार १६:२१:००

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सुदूरपश्चिममा चुनाव भएका जिल्लामा पदाधिकारीका उम्मेदवार बनेका पूर्वमाओवादी नेताहरु पराजित भएका छन् । कैलाली, कञ्चनपुर र अछाममा पदाधिकारीमा पूर्वमाओवादी नेताहरु ‘क्लीन स्वीप’ भए । सहमतिका आधारमा कमिटी चयन भएका यहाँका अन्य जिल्लामा पनि पूर्वमाओवादीको प्रतिनिधित्व न्यून देखिएको छ । 

निर्वाचनमा आफूले समर्थन गरेका नेताहरु पदाधिकारीमा पराजित भएपछि एमाले सचिव एवम् प्रदेश इन्चार्ज लेखराज भट्टलाई गृहक्षेत्रमा ‘धक्का लागेको’ एमाले वृत्तमा चर्चा छ । आफ्नो जिल्लामा समेत आफूसँगै आएका र आफैले समर्थन गरेका उम्मेदवारहरु पराजित भएपछि भट्ट पार्टी कमिटीमा कमजोर देखिएका छन् । उनी माओवादी त्यागेर एमालेमा गएका शीर्ष नेता हुन् । 

एमाले बनेका पूर्वमाओवादी नेताहरु भट्टकै समर्थनमा विभिन्न जिल्लामा पदाधिकारीका उम्मेदवार बनेका थिए । केही ठाउँमा प्यानलकै नेतृत्व निर्वाचित हुँदा पदाधिकारीमा भने माओवादीबाट गएका एमाले नेताहरु पराजित भएका छन् । एमाले कञ्चनपुरको अध्यक्षमा पूर्वमाओवादी नेता बीरबहादुर थापा ‘पातल’लाई हराउँदै सुरेन्द्र बिष्ट प्यानलसहित विजयी भएका छन् । बिष्ट दुई सय ८१ मत ल्याएर विजयी हुँदा थापाले एक सय ८३ मत पाए । थापा नेकपा हुँदा र एमालेमा गएपछि पनि जिल्ला अध्यक्ष थिए । भट्टसँगै उनी एमालेमा गएका हुन् । 

सचिव एव‌ं प्रदेश इन्चार्ज भट्टले थापालाई जिल्ला अध्यक्ष बनाउन चाहेका थिए । थापाको प्यानललाई एमाले बनेका पूर्वमाओवादी नेताहरुसँगै ओली पक्षकै केही नेताहरु र एमालेमा १० बुँदे सहमतिका पक्षधर नेताहरुको समर्थन थियो । अध्यक्षमा निर्वाचित बिष्ट अध्यक्ष केपी ओली निकट हुन् ।भट्टको गृहजिल्ला कैलालीमा पनि एमाले बनेका पूर्वमाओवादी नेताहरु पदाधिकारीमा पराजित भएका छन् । आफ्नो प्यानलबाट अध्यक्ष र उपाध्यक्षले चुनाव जित्दा सचिवका उम्मेदवार दानबहादुर बिक र उपसचिवका उम्मेदवार प्रेमबहादुर डगौरा भने पराजित भए । उनीहरु दुवै जना माओवादी त्यागेर एमाले बनेका हुन् । 

अध्यक्षमा निर्वाचित रतनबहादुर थापाको प्यानललाई प्रदेश इन्चार्ज भट्टसँगै सहइन्चार्ज कर्ण थापाको समर्थन थियो । यही प्यानबाट पदाधिकारीका उम्मेदार बिक र डगौरा पराजित हुँदा भट्टका स्वकीय सचिव हितेश ओझासहित केही पूर्वमाओवादी नेताहरु भने जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् । अछाममा पनि पूर्वमाओवादीबाट गएका एमाले नेताले पदाधिकारीमा हार व्यहोर्नु परेको छ । जिल्ला अध्यक्षमा चन्द्र बोहरा विजयी हुँदा उनकै प्यानलबाट सचिवमा उम्मेदवारी दिएका आदर्श साउँद फराकिलो मतान्तरले पराजित भए ।

साउँद प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराका स्वकीय सचिव थिए । प्रदेश इन्चार्ज भट्ट निकट बोहरा नेकपा विवाद हुँदा मन्त्री पदबाट राजिनामा दिएर ओली पक्षमा लागेका थिए । उनी अहिले अछामको जिल्ला इन्चार्ज छन् ।अछाममा अध्यक्ष ओली र भीम रावल निकट दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो । माओवादीबाट गएका एमाले नेताहरुले ओली प्यानलबाट उम्मेदवारी दिएका थिए । अध्यक्षमा हारे पनि पदाधिकारीमा रावल निकट प्यानलका उम्मेदवार विजयी भए ।

सहमति भएका जिल्लामा पनि प्रतिनिधित्व न्यून
एमाले अधिवेशन सम्पन्न भएका सुदूरपश्चिमका आठमध्ये चार जिल्लामा निर्वाचन भएको थियो । निर्वाचनमार्फत कमिटी गठन भएको दार्चुलामा भने माओवादीबाट गएकी एमाले नेतृ चन्द्रा कुँवर उपसचिवमा विजयी भएकी छन् । सहमतिका आधारमा नेतृत्व चयन भएका जिल्लामा पनि पदाधिकारीमा पूर्वमाओवादीको प्रतिनिधित्व निकै कमजोर देखिएको छ ।डोटीमा सहमतिमा जिल्ला कमिटी गठन हुँदा माओवादीबाट गएका नेताहरु पदाधिकारीमा समेटिएनन् ।  बाजुरामा माओवादीबाट आएका भरत बुढा, बैतडीमा रमिल बम र डडेल्धुरामा धनबहादुर धामीलाई एमालेले उपाध्यक्ष बनाएको छ । बझाङमा भने अधिवेशन भएको छैन ।