मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २९ बिहीबार ०६:१८:००
Read Time : < 1 मिनेट
अर्थ

मेगा बैंकको साझेदारीमा फोहोरबाट ग्यास उत्पादन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २९ बिहीबार ०६:१८:००

मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा धरानमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ । भेन्चर वेस्ट टू इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा धरान–६, पानबारीमा रहेको फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । 
प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको निजी–सार्वजनिक साझेदारी अवधारणाअनुरूप निजी क्षेत्रबाट स्थापित यस आयोजनाको वित्तीय साझेदार मेगा बैंक रहेको जनाइएको छ । उद्घाटनमा बैंकका अध्यक्ष भोजबहादुर शाह र सिइओ अनुपमा खुञ्जेली अतिथिका रूपमा उपस्थित रहेको जनाइएको छ । फोहोरलाई ऊर्जामा परिणत गर्ने राष्ट्रिय  महत्वको आयोजनामा वित्तीय साझेदारी गर्न पाउँदा गौरवान्वित भएको बैंकका अध्यक्ष शाहले बताए । 

सिइओ खुञ्जेलीले फोहोरबाट ग्यास तथा मल उत्पादन हुँदा फोहोर व्यवस्थापन मात्र नभई थोरै मात्रामा भए पनि देशमा ऊर्जाको आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्नसमेत मद्दत मिल्ने बताइन् । दीर्घकालीन  महत्वका यस्ता आयोजनामा साझेदारी गर्न मेगा बैंक सधैँ तत्पर रहेको उनको भनाइ थियो । दैनिक ३० टन क्षमताको फोहोर प्रशोधन केन्द्रबाट दैनिक करिब एक हजार किलोग्राम जैविक ग्यास, करिब पाँच सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुने बैंकले जनाएको छ । साथै, यो केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आएपछि करिब ८० जनाले रोजगारी पाउने बताइएको छ । 

यस फोहोर प्रशोधन केन्द्रका संस्थापकद्वय विपुलराज पाण्डे र जेनेस श्रेष्ठले यहाँबाट उत्पादित जैविक ग्यासलाई शुद्धीकरण गरी सिएनजी ग्यास उत्पादन हुने बताए । यो ग्यास धरानमा रहेका तीनपांग्रे टेम्पोमा प्रयोग गरिने उनीहरूको भनाइ छ । धरानमा रहेका करिब तीन सयवटा टेम्पोहरूमा सिलिन्डरसहितको एक किटको जडान गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।