मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २७ मंगलबार ०६:३७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुटवल पावर कम्पनीको  २० प्रतिशत लाभांश पारित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २७ मंगलबार ०६:३७:००

बुटवल पावर कम्पनी लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको २९औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । 

अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा बसेको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन, आव ०७७/७८ को लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरणहरू, लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव ०७८/७९ को लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, बोनस सेयर वितरणका लागि चुक्ता पुँजी वृद्धि गर्नेलगायत सबैका प्रस्तावहरू पारित गरेको जनाइएको छ । बोनस सेयर जारी भएसँगै कम्पनीको चुक्ता पुँजी तीन अर्ब २४ करोड ६३ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । 

कम्पनीले प्रत्यक्ष रूपमा सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत्गृहहरू नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ । साथै, सहायक तथा सम्बद्ध कम्पनीहरूमार्फत सञ्चालित चार मेगावाटको खुदी जलविद्युत्गृह र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत्गृहको सञ्चालन सुचारु रूपमा हुँदै आएको जनाइएको छ । खिम्ती आयोजनाको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखि नेपाल विद्युत् प्राधिकरणमा गएको प्रतिवेदनमा उल्लेख छ ।  

निर्माणको चरणमा रहेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई प्रसारणलाइन तथा सबस्टेसनको अभावले विद्युत् उत्पादन तथा वितरण ढिलाइ हुन गएको कम्पनीले जनाएको छ । ३७.६ मेगावाटको काबेली ‘ए’ जलविद्युत् आयोजनामा विश्व बैंकले हात झिकेका कारण सन् २०२० को सुरुदेखि नै निर्माण कार्य स्थगित भएको जनाइएको छ ।

तीन चिनियाँ लगानीकर्तासँगको संयुक्त लगानीमा मस्र्याङ्दी नदीमा निर्माणको चरणमा रहेका अयोजनाहरूमा एक सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना, एक सय ३९.२ मेगावाटको तल्लो मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना र तीन सय २७ मेगावाटको माथिल्लो मर्स्याङ्दी दोस्रो जलविद्युत् आयोजना क्यासकेड अवधारणामा निर्माण गर्न लागिएको प्रतिवेदनमा उल्लेख छ ।

निर्माणको तयारीमा रहेको ७.९ मेगावाटको चिनो खोला जलविद्युत् आयोजनाले सुरुमा मस्र्याङ्दी क्यासकेड आयोजनाहरू निर्माणका लागि आवश्यक विद्युत् अपूर्ति गर्ने र सोपश्चात् नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् बिक्री गर्ने गरी तयारी अघि बढाइएको कम्पनीले जनाएको छ । एक सय ६० मेगावाटको मुगु कर्णाली जलविद्युत् आयोजना र ७ मेगावाटको झिमरुक सौर्य आयोजना अध्ययनका क्रममा रहेको जनाइएको छ ।