मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७८ पौष २७ मंगलबार ०६:५०:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गुमनाम वामदेव : एमालेमा उमेरको छेकबार, एकीकृत समाजवादीमा जबजमा खटपट

Read Time : > 5 मिनेट
२०७८ पौष २७ मंगलबार ०६:५०:००

राष्ट्रिय एकता अभियानका सहयोगी तितरबितर, अभियान ब्युँताउने अनुकूल समय पर्खिंदै 


एमालेको राजनीतिसँग दोस्रोपटक ‘डिभोर्स’ गरेका पूर्वउपप्रधानमन्त्री तथा कम्युनिस्ट नेता वामदेव गौतम राष्ट्रिय राजनीतिमा चार महिनादेखि गुमनाम छन् । १९ भदौमा उपाध्यक्षसहित पार्टी सदस्यसमेत नरहने गरी एमालेबाट राजीनामा दिएर पार्टी परित्याग गरेका नेता गौतम राष्ट्रिय राजनीतिमा निष्क्रिय छन् । 

पार्टी र राजकीय सत्ता दुवैतिर प्रमुख कार्यकारी पदमा आकांक्षा राखेर तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणपछि लगातार चर्चामा आएका गौतम तत्कालीन नेकपा र एमालेको विभाजनपछि भने गुमनाम बनेका हुन् । नेकपामा विभाजनको रेखा कोरिएपछि अघिल्लो २५ पुसमा राष्ट्रिय एकता अभियान घोषणा गरेर पछिल्लोपटक चर्चामा आएका गौतमको प्रयास २३ फागुन ०७७ मा सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अघोषित रूपमा ‘ब्रेक’ लागेको थियो ।

नेकपा विभाजनको परकम्प गत भदौसम्म पुग्दा माओवादी केन्द्र र एमाले दुवै सग्लो नहुने गरी विभाजन भएपछि भने गौतमको अभियानमै ‘पूर्णविराम’ लाग्यो । उनले बनाएको एकता अभियान निष्क्रिय बनेको छ भने त्यहाँ संगठित बनेका थुप्रै नेता–कार्यकर्ता पनि एमाले र एकीकृत समाजवादीतिरै लागेका छन् । कहिलेकाहीँ राष्ट्रिय राजनीति र समसामयिक घटनाक्रमबारे वक्तव्य र सामाजिक सञ्जालबाट धारणा राख्ने गरेका गौतम एमाले परित्याग गरेपछि मौनजस्तै छन् । गौतम टाकुरामा एक्लै छन् । 

राष्ट्रिय राजनीतिमा चर्चामा आइरहने हठी र महत्‍वाकांक्षी नेता गौतमको पछिल्लो निष्क्रियता राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । एमाले परित्याग गरेपछि राजनीतिमा निष्क्रिय गौतम के गर्दै छन् र उनका योजना के छन् जस्ता विषयमा कुनै वेलाका उनी निकटस्थ नेता–कार्यकर्ताहरूले समेत प्रस्ट जानकारी पाउन छाडेका छन् । 

पछिल्लोपटक अंग्रेजी नयाँ वर्ष सन् २०२२ मा श्रीमती तुलसासहित बसेर सलाम गरिएको तस्बिर पोस्ट गरेर गौतमले सबैलाई शुभकामना दिएका छन् । त्यसबाहेक उनले फेसबुक पेजमा पनि कुनै घटनाक्रमबारे टिप्पणी गरेका छैनन् । तर, नेता गौतम करिब दुईतिहाइ मत पाएको तत्कालीन नेकपा तीन समूहमा विभाजित भएकाले फेरि पनि एकता अभियानमा सक्रिय हुने मनस्थितिसहित अनुकूल समयको पर्खाइमा रहेको परिवार र सचिवालयका सदस्य बताउँछन् ।

‘पार्टीबाट राजीनामा दिए पनि उहाँ नेपालमा छरिएर रहेका सबै कम्युनिस्ट पार्टीहरूलाई एकजुट बनाउनुपर्छ भन्ने सोचमै हुनुहुन्छ । एमाले परित्याग गरे पनि उहाँले कम्युनिस्ट पार्टी त्याग्नुभएको छैन । आफैँले गठन गरेको राष्ट्रिय एकता अभियान उहाँको छँदै छ,’ गौतमपत्नी एमाले सांसद तुलसा थापाले नयाँ पत्रिकासँग भनिन्, ‘नेकपा विभाजनपछि एमाले र माओवादी केन्द्रबीच तत्काल एकता भइहाल्ने स्थिति नरहे पनि एकता हुनुपर्छ भन्ने उहाँको मान्यता छ । त्यसैले राष्ट्रिय एकता अभियानलाई क्रियाशील गर्ने काममा योजना बनाएर लाग्नुहुन्छ होला ।’ 

एमालेबाट अलग भएपछि गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्ने अध्यक्ष माधव नेपाललाई वचन दिएका थिए । तर, दोस्रो वरीयतामा गौतमको प्रस्तावप्रति नेपालले पनि रुचि नराखेको उनीनिकट नेताको दाबी छ । ‘खासमा उहाँले दोस्रो वरीयताको अध्यक्ष बन्ने आशयको प्रस्ताव राख्नुभएको हो । तर, त्यसरी जाँदा अलग–अलग शक्ति केन्द्रको अभ्यासले भर्खरै बन्न लागेको पार्टी कमजोर हुने देखिएकाले त्यस्तो प्रस्ताव स्वीकार्य हुने अवस्था नै थिएन,’ नेपाललाई उद्धृत गर्दै एकीकृत समाजवादीका एक पदाधिकारीले भने, ‘त्यसपछि उहाँले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्गदर्शक मानेको अवस्थामा मात्र आफू आउने भनेर पछि हट्नुभएको हो ।’

तर, गौतमपत्नी तुलसाले भने विचार नमिलेकै कारण उनी एकीकृत समाजवादीमा प्रवेश नगरेको बताइन् । ‘एमालेबाट अलग भएपछि उहाँले नेकपा एकीकृत समाजवादीसँग पनि छलफल गर्नुभएको हो । तर, विचार नमिलेपछि उहाँ त्यता जानुभएन । राष्ट्रिय एकता अभियानका साथीहरू उहाँसँग सम्पर्कमै हुनुहुन्छ । सम्भवतः योजना बनाएर कम्युनिस्ट पार्टीहरूलाई एक बनाउने अभियानमै उहाँ क्रियाशील हुनुहुन्छ ।’

एकीकृत समाजवादी गठनपछि राष्ट्रिय एकता अभियानमा लागेका थुप्रै नेता गौतम नयाँ पार्टीमै आबद्ध हुनेमा आश्वस्त थिए । गौतमले ओलीसँग आफ्नो विचार नमिल्ने र अरू पार्टीमा जाने सम्भावना नै नरहेकाले एकीकृत समाजवादीमै आउने बताएकै कारण एकता अभियानका सहसंयोजक हरि पराजुली नेपालले नेतृत्व गरेको पार्टीमा सामेल भएका थिए ।

उनी अहिले एकीकृत समाजवादीमा स्थायी समिति सदस्य छन् । ‘उहाँले म र केशवलाल कमरेडसँग केपीसँग जाँदै जान्नँ, अरू पार्टीमा जाने कुरै भएन आउने त माधवजीसँगै हो भन्नुभएको थियो,’ पराजुलीले भने, ‘सम्भवतः उहाँ ढिलै भए पनि हाम्रै पार्टीमा आउनुहुन्छ ।’ गौतमको वचनकै कारण श्रेष्ठ पनि एकीकृत समाजवादीमा लागेका थिए । 

उता गौतम नेतृत्वको अभियानका सचिव बाबुराम थापा एमालेमा लागेका छन् । त्यस्तै, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्का पनि एमालेतिरै सक्रिय बनेका छन् । गौतमपत्नी तुलसा एमालेको कुनै सांगठनिक जिम्मेवारीमा नरहे पनि संसदीय दलको बैठकमा र संसद्मा नियमित सहभागी हुँदै आएकी छिन् । तुलसाले पार्टीको सांगठनिक जिम्मेवारीमा भने नरहेको बताइन् । 

‘म एमालेकै संगठित सदस्य हुँ, एमालेले नै सांसद बनाएकाले दलका सबै बैठकमा सहभागी हुँदै आएकी छु,’ उनले भनिन्, ‘तर, दशौँ महाधिवेशनमा पारिवारिक कार्यक्रमले गर्दा सहभागी हुन पाइनँ, अहिले पार्टीको कुनै जिम्मेवारीमा पनि छैन, त्यसैले पार्टीमा सांगठनिक रूपले चाहिँ सक्रिय छैन ।’ 

पाँच वर्ष राष्ट्रिय सभाका सांसद हुनेछन् गौतम 

एमाले विभाजनलगत्तै पार्टी परित्याग गरेका गौतम तत्कालीन नेकपाको सचिवालय बैठकको निर्णय र केपी ओली नेतृत्वको सरकारको सिफारिसमा १ असोज ०७७ मा राष्ट्रपति विद्या भण्डारीबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएपछि गौतम स्वतन्त्र विज्ञको कोटामा सांसद मनोनीत भएका थिए । 

मनोनयनलाई तत्कालीन प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक दाउपेचमा कार्डका रूपमा उपयोग गर्ने कोसिस गरेका थिए । एमालेमै रहेका भए पनि अध्यक्षमा आकांक्षा राखेका गौतम ७० वर्षे उमेरहदका कारण दशौँ महाधिवेशनमा निर्वाचित हुन सक्दैनथे । उनी अहिले ७२ वर्षका छन् । राष्ट्रिय सभा सांसदका रूपमा भने गौतम अझै पाँच वर्ष रहनेछन् । सांसद बन्ने वेला गौतमले राष्ट्रिय सभा सांसद पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन हुनुपर्ने पार्टीमा अडान राखेका थिए ।

पार्टी त्याग्दै गौतमले भनेका थिए– ओलीकै कारण एमालेमा रहन सकिनँ

राजीनामापत्रमा गौतमले अध्यक्ष ओलीकै गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन असमर्थ रहेको कारण खुलाउँदै केही आरोप लगाएका थिए । तर, ओलीले उनको राजीनामा स्वीकृत गरेका छैनन् । 

‘म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु,’ गौतमले ओलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘फेरि पनि तपाईंसँगको चार दशक लामो मित्रताका कारण अबउप्रान्त पनि हामी दुईबीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ ।’

त्यस्तै, गौतमले ओलीका कारण एमालेमा सामूहिक नेतृत्व प्रणाली समाप्त भएको र सुधार्ने प्रयाससमेत असफल भएकोसमेत प्रस्ट्याएका छन् । ‘तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीलाई पालना गर्नुभएन । पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाब दिएको थिएँ,’ राजीनामापत्रमा छ, ‘तपाईंको कार्यशैली जनमुखी बनाउन धेरैपटक व्यक्तिगत रूपमा सुझावहरू पनि थिए । तर, तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी 
बन्दै जानुभयो ।’

गौतमले ओलीले आफ्ना समकक्षीलाई अपमान गर्नेदेखि पार्टीबाट निष्कासन गर्ने, राष्ट्रपतिलाई समेत दुरुपयोग गरेको आरोप लगाएका छन् । ‘आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचारअनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्नेजस्ता स्वेच्छाचारी निरंकुश प्रवृत्ति र शैली अँगाल्नुभयो । त्यति मात्र होइन, तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो,’ राजीनामामा छ ।

त्यस्तै, ओलीले जबजको सिद्धान्त पालना नगरेको गौतमको आरोप छ । ‘जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालन गर्नुभएन । जननेता मदन भण्डारीका नवीन सोच कम्युनिस्ट पार्टीले जनताको जनादेशका आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका विपरीत जनताको अत्यधिक बहुमत झन्डै दुईतिहाइ जनताको जनादेशलाई लत्याउँदै पहिलोपटक ०७७ पुस ५ र दोस्रोपटक ०७८ जेठ ७ गते दुई–दुईपटक संविधानविपरीत जनताद्वारा निर्वाचित सदन भंग गर्नुभयो,’ गौतमले राजीनामामा भनेका थिए ।

'एमाले–माओवादी एकताकै पक्षमा वामदेव हुनुहुन्छ'
 - तुलसा थापा, एमाले सांसद तथा वामदेवपत्नी

एमालेको उपाध्यक्षसहित पार्टी सदस्यबाट राजीनामा दिएपछि आजभोलि उहाँ लेखपढमै व्यस्त हुनुहुन्छ । उहाँले डकुमेन्टेसनका काम गरिरहनुभएको छ । पार्टीबाट राजीनामा दिए पनि उहाँ नेपालमा छरिएर रहेका सबै कम्युनिस्ट पार्टीलाई एकजुट बनाउनुपर्छ भन्ने सोचमै हुनुहुन्छ । एमाले परित्याग गरे पनि उहाँले कम्युनिस्ट पार्टी त्याग्नुभएको छैन । आफैँले गठन गरेको राष्ट्रिय एकता अभियान उहाँको छँदै छ । 

नेकपा विभाजनपछि एमाले र माओवादी केन्द्र तत्काल एकता भइहाल्ने स्थिति नरहे पनि एकता हुनुपर्छ भन्ने उहाँको मान्यता छ । त्यसैले राष्ट्रिय एकता अभियानलाई क्रियाशील गर्ने काममा योजना बनाएर लाग्नुहुन्छ होला । एमालेबाट अलग भएपछि उहाँले नेकपा एकीकृत समाजवादीसँग पनि केही छलफल गर्नुभएको हो । तर, विचार नमिलेपछि उहाँ त्यता जानुभएन । राष्ट्रिय एकता अभियानका साथी उहाँसँग सम्पर्कमै हुनुहुन्छ ।

सम्भवतः योजना बनाएर कम्युनिस्ट पार्टीहरूलाई एक बनाउने अभियानमै उहाँ क्रियाशील हुनुहुन्छ होला । घरमा आउने जुनसुकै पार्टीका नेता–कार्यकर्ताहरूसँग उहाँले अहिले पनि भेटघाट गर्ने गर्नुहुन्छ । म एमालेमै छु । एमालेको तर्फबाट प्रतिनिधिसभा सांसद भएकाले दलको बैठक र संसद्को बैठकमा पार्टीकै तर्फबाट भाग लिँदै आएकी छु । तर, संगठित सदस्यबाहेक पार्टीको अरू जिम्मेवारीमा छैन र पार्टीले पनि कुनै जिम्मेवारी दिएको छैन । एमाले सांसद भए पनि दशौँ महाधिवेशनमा म पारिवारिक कार्यक्रमका कारण सहभागी हुन सकिनँ ।

'सायद वामदेव कमरेड एकीकृत समाजवादीमै आउनुहुन्छ'
- हरि पराजुली, स्थायी समिति सदस्य, एकीकृत समाजवादी

पहिले उहाँले एक–डेढ महिनाको बीचमा म एकीकृत समाजवादीमै आउँछु भनेर म र केशवलालजीसँग भन्नुभएको हो । केपीजीसँग जाँदै जान्नँ, अरू पार्टीमा जाने कुरा भएन, आउने माधवजीकै पार्टीमा हो भन्नुभएको हो । अहिले पर्ख र हेरमै हुनुहुन्छ कि भन्ने लागेको छ । खासमा झलनाथ खनालले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्न सकिँदैन भन्नुभएकाले माफी माग्नुपर्छ भन्ने वामदेव कमरेडको मान्यता छ । यसबारे माधव कमरेडसँग उहाँको कुराकानी भइरहेकै हुनुपर्छ । जबजलाई मार्गदर्शक सिद्धान्त मान्नेबित्तिकै विज्ञप्ति निकालेर उहाँले नेकपा एकीकृत समाजवादीमा आउँछु भन्नुभएको छ । जबजलाई मार्गदर्शक सिद्धान्त भन्ने कि त्यसबारेमा बीचबाट सहमति खोज्ने विषयमा केही टुंगो लाग्नेबित्तिकै उहाँ आउने एकीकृत समाजवादीमै हो ।