१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ पौष २६ सोमबार ०७:१४:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

नोबेल मेडिकल कलेजका विद्यार्थीको प्रदर्शनमा प्रशासनको हस्तक्षेप

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ पौष २६ सोमबार ०७:१४:००

चार लाख ८२ हजार अतिरिक्त शुल्क असुल्न खोजेको भन्दै एमबिबिएस प्रथम सेमेस्टरका विद्यार्थी आन्दोलित


सरकार र चिकित्सा शिक्षा आयोगको निर्देशन अटेर गर्दै कानुनविपरीत अतिरिक्त शुल्क असुल्न खोजेको विरोधमा विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका विद्यार्थीको प्रदर्शनमा सुरक्षागार्डले हस्तक्षेप गरेपछि आइतबार स्थिति तनावग्रस्त भएको थियो । 

एमबिबिएस प्रथम सेमेस्टरका विद्यार्थीहरूसँगै पाँच विद्यार्थी संगठन नोबेल अस्पतलालको मूलगेटअगाडि रिले बस्न खोजेका थिए । तर, सुरक्षागार्डले बल प्रयोग गर्दै हस्तक्षेप गरेपछि आक्रोशित विद्यार्थीले ढुंगा प्रहार गरेर अस्पतालको मूलगेटको सिसा तोडफोड गरेका हुन् । सुरक्षागार्डको कुटाइबाट एकीकृत समाजवादी विद्यार्थी संगठनका केन्द्रीय सचिव किशन भगतको टाउको फुटेको छ । अर्का विद्यार्थी जीवरतन साहको हातमा चोट लागेको छ ।  

अस्पतालको सिसा फोडेपछि आइतबार दिउँसो नोबेल अस्पताल तनावग्रस्त बनेको थियो । तर, समयमै प्रहरी परिचालन भएकाले कुनै अप्रिय घटना भने हुन पाएन । पाँच विद्यार्थी संगठनले दिनभरि अतिरिक्त शुल्क खारेजीको माग गर्दै नाराबाजी गरेका थिए । विद्यार्थीहरूले कुटपिट गर्नेलाई कारबाही माग गर्दै आइतबारै जिल्ला प्रहरी मोरङमा उजुरी दिएका छन् । 

शनिबार प्रशासनको रोहवरमा नोबेल मेडिकल कलेज प्रशासनसँग शुल्क खारेजी विवाद समाधान नभएसम्म कक्षा सुचारु नगर्ने विद्यार्थीहरूसँग सहमति भएको थियो । तर, नोबेल मेडिकल कलेजका अध्यक्ष सुनील शर्माको निर्देशनमा १० जना छात्रवृत्ति पाएका भारतीय र पाँचजना अतिरिक्त शुल्क तिरेका विद्यार्थीलाई राखेर पढाइ सुरु भएको थियो । सहमति तोडेको भन्दै विद्याथीहरू आक्रोशित बनेका थिए । 

११ पुसदेखि एमबिबिएस प्रथम वर्षको पढाइ सुरु गरेको नोबेलले चार लाख ८२ हजार रुपैयाँ शुल्क नबुझाएको भन्दैै विद्यार्थीहरूलाई १४ पुसदेखि कक्षा प्रवेशमा रोक लगाउँदै आएको छ । नोबेलमा अतिरिक्त शुल्क बुझाउन नसक्ने ७२ विद्यार्थी पढ्नबाट वञ्चित छन् । एमबिबिएस कोर्सको कुल ४४ लाख ३६ हजारमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबिबिएस प्रथम वर्षमा भर्ना भएका हुन् । नोबेलले एमबिबिएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसिपबापत दुई लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार र होस्टेल शुल्क एक लाख ४४ हजारलगायतका अन्य धेरै शुल्कसहित चार लाख ८२ हजार अतिरिक्त बुझाउन विद्यार्थीलाई दबाब दिँदै आएको छ । 

अतिरिक्त शुल्कको विरोधमा आन्दोलन गरिरहेका नोबेलका विद्यार्थी र संगठनहरूले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएका छन् । अतिरिक्त खारेज नगरे नोबेलविरुद्धको संघर्ष चर्काउने चेतावनी दिइएको छ । आइतबार अपराह्न ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री राईले चाँडै संघीय सरकारसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने आवश्वासन दिएका छन् ।

मोरङका सिडिओ काशीराज दाहाल भन्छन्– उजुरी नआएकाले कारबाही गर्न सकिएन 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विद्यार्थी र अभिभावक कसैले पनि अतिरिक्त शुल्क असुलेको वा असुल्न खोजेको भनेर किटानी उजुरी नदिएकाले नोबेललाई कारबाही गर्न नसकको बताए । उनले उजुरी आए सरकार र आयोगको निर्देशनअनुसार अतिरिक्त शुल्क असुल्ने नोबेललाई कालोबजारी ऐनमा कानुनी कारबाही गर्न सकिने बताए । 

‘सबै कुरा घामजत्तिकै छर्लंग भइसक्दा पनि विद्यार्थी र अभिभावकसँग किटानी जाहेरी माग्नु सरकारको लाचारी हो,’ अखिल क्रान्तिकारीका मोरङ सचिव धर्मेन्द्र ऋषिदेवले भने । स्वास्थ्य शिक्षा ऐन २०७५ अनुसार कानुनविपरीत शुल्क असुल्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सिफारिस गर्न सक्नेसम्मको अधिकार चिकित्सा शिक्षा आयोगलाई दिएको छ ।

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक : एमबिबिएसमा ४९, बिडिएसमा ५९ प्रतिशत फेल

नेपाल केडिकल काउन्सिलले २२ देखि २५ पुससम्म लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशन गरेको छ । आइतबार प्रकाशित नाम दर्ता परीक्षा (लाइसेन्स)मा एमबिबिएसतर्फ ५०.५८ प्रतिशत र बिडिएसतर्फ ४०.९७ प्रतिशत मात्र उत्तीर्ण भएको मेडिकल काउन्सिलले जनाएको छ । 

मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारीका अनुसार मेडिकलतर्फ एक हजार सात सय ३४ जनाले आवेदन दिएका थिए । जसमध्ये आठ सय ७१ जनाले लाइसेन्स पास गर्दा आठ सय ५१ जना फेल भएका छन् । १२ जना परीक्षामा अनुपस्थित भएका थिए । 

यस्तै, डेन्टलतर्फ परीक्षामा सहभागी भएका चार सय ३२ मध्ये दुई सय ५५ जना फेल भएका छन् । परीक्षामा सहभागी भएका एक सय ७७ जना मात्र उत्तीर्ण भएका छन् । बिडिएसतर्फ कुल चार सय ३५ जनाले आवेदन दिएका थिए ।