मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ पौष २५ आइतबार ०७:१४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाघको आक्रमणमा परी  दुई दिनमा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ पौष २५ आइतबार ०७:१४:००

घाँस, दाउरा गर्न जंगल गएकालाई बाघले धमाधम आक्रमण गर्न थालेपछि बाँकेका सर्वसाधारण चिन्तित भएका छन् । राप्तीसोनारी गाउँपालिका–४, प्रसोहनाकी लीला विष्टलाई आक्रमण गरेको दुई दिनपछि बाघले फेरि अर्को एक महिलालाई आक्रमण गरेको छ । बाघको आक्रमणमा परी शनिबार राप्तीसोनारी गाउँपालिका–६, हब्रहवाकी ३० वर्षीया चाँदनी थारुको मृत्यु भएको छ । 

फत्तेपुरस्थित जंगलमा दाउरा लिन गएकी उनलाई बाघले झम्टेर लगेको स्थानीयवासीले जानकारी दिए । बाघले आक्रमण गरेको जानकारी पाउनेबित्तिकै फत्तेपुर प्रहरी चौकी र स्थानीयले खोजतलास गरेपछि उनको शव जंगलमा भेटिएको प्रहरीले जनाएको छ । बिहीबार राप्तीसोनारी गाउँपालिका–४, बैजापुरस्थित जलहन सामुदायिक वनमा घाँस काट्न गएकी ५४ वर्षीया विष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

मान्छेमाथि बाघको निरन्तर आक्रमण
गत ३ पुसमा जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटालालाई फत्तेपुरस्थित जंगलमा बाघले आक्रमण प्रयास गरेको थियो । क्याम्पसबाट मोटरसाइकलमा घर जानेक्रममा बेलुकी ६ बजे राप्तीसोनारी गाउँपालिका–५, आलीनगर जंगलमा बाघले झम्टिन खोज्दा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका थिए । गत २५ कात्तिकमा गाई चराउन जंगल गएका नरैनापुर गाउँपालिका–४, पण्डितपुरुवाका लखन गडरिया र उनको एउटा गाईलाई बाघले खाएको थियो ।

नरैनापुरको पर्यटकीयस्थल गोवद्र्धन धामदेखि पाँच किलोमिटर पूर्वतर्फको जंगलमा बाघले आधा खाएको अवस्थामा गडरियाको शव फेला परेको थियो । राप्तीसोनारी गाउँपालिका–१, पूर्वी गाभरमा भदौ अन्तिममा बाघले भारतीय नागरिकलाई खाएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा पटक–पटक बाघ देखिएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुईवटा घरपालुवा हात्तीसहित टोली परिचालन गरेको छ ।