मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ पौष २३ शुक्रबार १५:५३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लल्कु र कृष्णलाई प्रदेश १ सरकारले पढाउने, उपचार सम्भव भएन

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ पौष २३ शुक्रबार १५:५३:००

मोरङ कटहरी गाउँपालिका– २ आदर्श टोलका दृष्टिविहीन बालकहरू चार वर्षीय कृष्ण र सात वर्षीय लल्कु मरिक (डोम)को उपचार र शिक्षामा प्रदेश १ सरकारले चासो दिएको छ। नयाँ पत्रिका अनलाइनमा समाचार प्रकाशित भएपछि प्रदेश १ सरकारकी सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले उनीहरूको शिक्षा र उपचारमा चासो देखाएकी हुन्।

तुम्बाहाम्फेले नयाँ पत्रिका दैनिक प्रदेश १ ब्युरोको सहयोगमा बिहीबार विराटनगर रानीस्थित विराटनगर आँखा अस्पताल पुगेर उनीहरूको उपचारबारे चिकित्सकहरूबाट जानकारी लिइन्। चिकित्सकहरूले बालक दाजुभाइ लल्कु र कृष्णको उपचार र आँखा प्रत्यारोपण हुने कुनै सम्भावना नभएको जानकारी गराए। मन्त्री तुम्बाहाम्फेले चिकित्सकहरूको सल्लाहअनुसार उनीहरूलाई जीवन सहजताका लागि दृष्टिविहीन आवासीय विद्यालयमा  भर्ना गराइदिने प्रतिबद्धता जनाइन्।

समाचार प्रकाशित भएपछि अस्पतालका कार्यक्रम निर्देशक सुधीर ठाकुरले बालकहरुको निःशुल्क उपचार गरिदिन प्रक्रिया सुरु गराएका थिए। तर, प्रारम्भिक जाँचपछि उनीहरूको उपचार सम्भव नभएको डा. रक्षा पन्तले मन्त्रीलाई जानकारी दिएकी थिइन्। पन्तका अनुसार लल्कु र कृष्णको तुरुन्तै उपचार हुन नसक्दा आँखाका सबै नशा सुकिसकेकाले अब उनीहरूको उपचार र प्रत्यारोपण सम्भव छैन। ‘दुवै दाजुभाइको जन्मैदेखिको समस्या रहेछ। तुरुन्तै उपचार नभएकोले अब उपचार सम्भव छैन। यसलाई हामी ‘थाइसिक्स बाई वर्थ डिफेक्ट भन्छौँ,’ डा. पन्तले भनिन्, ‘समयमै उपचार भएको भए उनीहरूको आँखाको सेप थप बिग्रने थिएन। तर, ढिलो भएकाले आँखाको पानी उत्पादन गर्ने नसा सबै सुकिसकेका छन्।’

लल्लु र कृष्णको बारेमा जानकारी पाएपछि राज्यमन्त्री तुम्बाहाम्फेले उपचार सम्भव भए सबै खर्च सरकारले जुटाइदिने प्रतिबद्धता जनाएकी थिइन्। तर, चिकित्सकले उपचार सम्भव नहुने प्रस्ट्याएपछि बिहीबार बालक र उनका अभिभावकहरूसँगै अस्पताल पुगेकी उनले सरकारका तर्फबाट दाजुभाइलाई दृष्टिविहीन विद्यालयमा भर्ना गराइदिने बताइन्।

समाचार प्रकाशित भएपछि पत्रकारहरूकै पहलमा परिवारलाई ५० केजी चामल तथा लल्कु र कृष्णलाई एक जोर न्यायो कपडा पनि वितरण गरिएको थियो।