Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अशोक पहाडी काठमाडाैं
२०७८ पौष २२ बिहीबार ११:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इँटा उद्योगमा काम गर्ने बालबालिका कोरोनाविरुद्धको खोपबाट वञ्चित

Read Time : < 1 मिनेट
अशोक पहाडी, काठमाडाैं
२०७८ पौष २२ बिहीबार ११:३५:००

रौतहटका विभिन्न इँटा उद्योगमा काम गरिरहेका बालबालिका कोरोनाविरुद्धको खोप लगाउनबाट वञ्चित भएका छन् । सरकारले १२ देखि १८ वर्षमुनिको उमेर समूहका विद्यार्थीलाई खोपको व्यवस्था गरेको भए पनि सोही उमेर समूहका बालबालिका तथा किशोरकिशोरी रौतहटका इँटा उद्योगमा काम गर्ने गरेका छन् । 

असोजदेखि चैतसम्म विद्यालय जाने उमेरका बालबालिका आफ्ना बाबुआमासँगै इँटा उद्योगमा काम गर्न जाने गरेका छन् । परिवार नै इँटा उद्योगमा काम गर्ने भएकाले रौतहटका विभिन्न विद्यालयमा विद्यार्थीको संख्या नै ह्वात्तै घट्ने गरेको छ । रौतहट इँटा व्यवसायी संघका अनुसार जिल्ला भर एक सय ६२ वटा इँटाभट्टाहरू रहेका छन् जसमध्ये एक सय १५ वटा नियमित सञ्चालनमा छन् । ती इँटा उद्योगमा परिवारको साथमा सयाैँ बालबालिका काम गर्ने गरेका छन् । इँटा उद्योगमा रहेका बालबालिका तथा किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा कसैले चासो नदिएको रौतहट इँटा व्यवसायी संघका उपाध्यक्ष प्रह्लाद बञ्जराको भनाइ छ । 

जिल्लामा रहेका इँटा उद्योगमा कति बालबालिका छन् भन्ने यकिन तथ्यांक नभए पनि ठूलो समूह कोरानाको खोप लगाउनबाट वञ्चित भएकाे छ । जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटको ध्यान त्यसतर्फ जान नसकेको कारण उनीहरू कोरोना खोप लगाउनबाट वञ्चित भएको गुजराका स्थानीय युवा रामबाबु चौधरीको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख दीपेन्द्रकुमार रायले यो उमेर समूहका सबैका लागि खोपको व्यवस्था आफूहरूले गर्ने बताए ।  

पालिकाहरूले मागेको खोप आफूहरूले उपलब्ध गराउने बताउँदै रायले भने, ‘जुन पालिकामा इँटा उद्योगमा बालबालिका छन् उनीहरूलाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखाले खोप लागाउने व्यावस्था गर्नुपर्ने हो ।’ रौतहटका अधिकांश नगरपालिकमा इँटा उद्योग छन्, तर त्यहाँ रहेका बालबालिकाको विषयमा कसैको ध्यान जान सकेको छैन ।