मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कांग्रेसको संस्थापनइतर समूहले बुधबार राजधानीमा गरेको भेला । तस्बिर : नयाँ पत्रिका
२०७८ पौष २२ बिहीबार ०६:०६:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महाधिवेशनलगत्तै कांग्रेसमा गुट राजनीति सुरु

Read Time : > 2 मिनेट
२०७८ पौष २२ बिहीबार ०६:०६:००

आफ्नै समूह व्यवस्थापन गर्न नसक्दा पराजय भएको शेखर समूहको निष्कर्ष

१४औँ महाधिवेशन सकिएको एक महिना नपुग्दै कांग्रेसमा गुटको राजनीति संस्थागत हुन थालेको छ । महाधिवेशनको समीक्षा र आगामी कार्ययोजनालाई लिएर कांग्रेसको संस्थापनइतर समूहले बुधबार राजधानीमा भेला नै गरेको छ । इतर समूहको नेतृत्व महाधिवेशनमा सभापतिमा पराजित डा. शेखर कोइरालाले गरेका छन् । 

गुरु घिमिरे

निर्वाचनमा आफ्नो समूहको व्यवस्थापन राम्रो नभएकाले अपेक्षाकृत नतिजा आएन । नेताहरू समूहप्रति प्रतिबद्ध हुनुभएन, आफ्नो–आफ्नो स्वार्थमा केन्द्रित हुनुभयो, स्वार्थमा केन्द्रित प्रवृत्ति देखिएकाले एकै समूहमा बसेर लडाइँ लड्ने, १३औँ महाधिवेशनमा आफू उम्मेदवार हुने र १४औँ महाधिवेशनमा आफ्नो स्वार्थका लागि समूह छाड्दा अपेक्षाकृत नतिजा ल्याउन नसकेको निष्कर्ष रह्यो ।

भेलाले आफ्नै समूह व्यवस्थापन गर्न नसक्दा पराजय व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ । महाधिवेशनपछि कोइरालाको नेतृत्वमा बसेको इतर समूहको भेलाले समूह व्यवस्थापन गर्न नसक्दा पराजय भोग्नुपरेको निष्कर्ष निकालेको नेता गुरुराज घिमिरेले बताए । 

नेता घिमिरेका अनुसार समूहभित्रकै नेताहरूको स्वार्थकेन्द्रित राजनीतिका कारण इतर समूहले अपेक्षाकृत नतिजा ल्याउन नसकेको भेलाको निष्कर्ष छ । ‘निर्वाचनमा आफ्नो समूहको व्यवस्थापन राम्रो नभएकाले अपेक्षाकृत नतिजा आएन । नेताहरू समूहप्रति प्रतिबद्ध हुनुभएन, आफ्नो–आफ्नो स्वार्थमा केन्द्रित हुनुभयो,’ नेता घिमिरेले नयाँ पत्रिकासँग भने, ‘स्वार्थमा केन्द्रित प्रवृत्ति देखिएकाले एकै समूहमा बसेर लडाइँ लड्ने, १३औँ महाधिवेशनमा आफू उम्मेदवार हुने र १४औँ महाधिवेशनमा आफ्नो स्वार्थका लागि समूह छाड्दा अपेक्षाकृत नतिजा ल्याउन नसकेको निष्कर्ष रह्यो ।’

अर्का नेता भूपेन्द्रजंग शाहीले पनि निर्वाचनमा तयारी नपुगेको र त्रुटि भएको समीक्षा भएको जानकारी दिए । ‘गम्भीर समीक्षा भयो । तयारी पुगेन र त्रुटि भयो भन्ने सबैको मत रह्यो,’ शाहीले भने, ‘अब भने कमजोरी नदोहोरिने गरी डा. शेखरकै नेतृत्वमा अगाडि जाने तय भएको छ । अब उहाँ वरिष्ठ नेताका रूपमा इतर समूहको नेतृत्वमा आइसक्नुभएको छ ।’

भेलामा नेताहरूले १४औँ महाधिवेशनपछिको पार्टी सञ्चालन प्रक्रियामा प्रश्न उठाएका थिए । पार्टी सञ्चालन अप्रजातान्त्रिक र विधानविपरीत भएको भेलाको निष्कर्ष छ । भेलामा मुख्य रूपमा नेता कोइरालाको वरीयताको विषय उठेको थियो । 

नेता घिमिरेका अनुसार सहभागी पदाधिकारी, केन्द्रीय सदस्य तथा अन्य नेताले सभापतिका निकटतम प्रतिद्वन्द्वी कोइरालाको वरीयताको विषयलाई लिएर असन्तुष्टि पोखेका थिए । कोइरालाको वरीयता तेस्रो नै हुनुपर्छ भन्ने मत आएको नेताहरूले बताएका छन् । 

‘निकटतम प्रतिद्वन्द्वीलाई गर्ने व्यवहार प्रजातान्त्रिक भएन । अपमानजनक ढंगले वरीयतामा पछाडि धकेलिएको छ,’ घिमिरेले भने, ‘रामचन्द्र पौडेललाई वरिष्ठ नेताका रूपमा मान्ने हो भने पूर्वाग्रह छैन । त्यसपछिको वरीयतामा उहाँलाई राख्नुपर्छ भन्ने भेलाले निष्कर्ष निकालेको छ ।’

भेलाले विधानले निर्दिष्ट गरेको प्रक्रियाअनुसार पार्टी चलाउन सभापति देउवालाई दबाब दिने निर्णय पनि गरेको छ । ‘१३औँ महाधिवेशनपछि पनि देउवाले विधान उल्लंघन गर्दा हामीले मौन समर्थन जनायौँ । त्यसपछि सभापतिको स्वेच्छाचारिता बढ्दै गयो,’ घिमिरेले भने, ‘अब पार्टीलाई विधान र पद्धतिअनुसार चलाउने कुरामा चाहिँ हामीले डटेर मुकाबिला गर्नुपर्छ भन्ने निष्कर्ष छ ।’ 

बैठकमा महामन्त्री गगन थापाले सरकार चलाउने विषयमा गठबन्धनलाई निरन्तरता दिने र चुनाव एक्लै लड्नुपर्ने धारणा राखेका थिए । ‘चुनावसम्म सरकारको गठबन्धन रहन्छ । तर, चुनाव कांग्रेस एक्लै लड्छ । पार्टीले वातावरण बनाओस्,’ महामन्त्री थापाले भने । थापाले सभापति देउवाले महाधिवेशनमा इतर समूहले पाएको ४० प्रतिशत मतको बेवास्ता गरेर अगाडि बढ्न नसक्ने बताएका थिए । 

सभापतिको लाइक र डिसलाइकबाट व्यक्ति छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ : शेखर कोइराला

पार्टीमा काम गर्ने निष्ठावान्, इमानदार, त्यागी र सक्षम नेता–कार्यकर्ताहरूलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध डटेर आवाज उठाउनुपर्छ । हामी लोकतन्त्रवादीहरू राजनीतिक खेल एउटा नियमसंगत रूपमा अगाडि बढोस् भन्ने चाहन्छौँ । सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौँ भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनुपर्छ ।

पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए । अगाडिका निर्वाचनहरू हाम्रा लागि असहज हुन सक्छन् । हाम्रो निर्णय प्रक्रियाले पार्टीमा ऊर्जाको सञ्चार गर्न नसके कांग्रेस सिथिल हुन सक्छ । पार्टीमा सभापतिज्यूले केही साथीहरूलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ । नियुक्ति पाउनुभएका सबै साथीहरू योग्य नै हुनुहुन्छ ।

तर, के मापदण्ड अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो ? पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ । सभापतिको लाइक र डिसलाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरू बन्द गर्न एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?