१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २१ बुधबार ०६:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्युत् प्राधिकरणका सामान नेपाल वायुसेवा निगमले बोक्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २१ बुधबार ०६:१२:००

नेपाल विद्युत् प्राधिकरणले आफ्नो सामान ढुवानीका लागि नेपाल वायुसेवा निगमसँग समझदारी गरेको छ । ढुवानीका साथै प्राधिकरणका कर्मचारीले अन्तर्राष्ट्रिय उडानमा छुट पाउनेसम्बन्धी समझदारी भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका हुन् ।

एमओयूअनुसार प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउने उल्लेख छ । कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिसपत्रका साथै परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने जनाइएको छ । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउने प्राधिकरणले जनाएको छ ।  

प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५ देखि १० प्रतिशत छुट पाउने जनाइएको छ । प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत गर्न परिपत्र गर्ने व्यवस्था एमओयूमा गरिएको छ । कार्यक्रममा मन्त्री आलेले डुब्न लागेको प्राधिकरणलाई उकास्न त्यहाँको व्यवस्थापनले चालेको कदमबाट पाठ सिकेर काम गर्न निगम व्यवस्थापनलाई आग्रह गरे । अन्तर्राष्ट्रिय उडानका लागि जहाज थप्ने विषयमा निगम व्यवस्थापनले व्यापारिक योजना तयार गरी सञ्चालक समितिमा पेस गरिसकेकाले यसबारे छिट्टै निर्णय गरिने उनको भनाइ थियो । 

सचिव न्यौपानेले  प्राधिकरणका सफलतालाई मानक बनाएर निगम व्यवस्थापनले आफ्नो सेवालाई नियमित र भरपर्दो बनाउनुपर्ने बताए ।