१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
ज्ञानेन्द्र मल्ल
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २१ बुधबार ०६:१९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भन्छन्– अबको लक्ष्य टी–२० विश्वकप सहभागिता

व्यक्तिगत स्वार्थ वा इगोभन्दा पनि राष्ट्रका लागि खेल्नुपर्छ । एक–अर्काप्रति व्यक्तिगत इगो वा स्वार्थी भावनामा उत्रियौँ भने यसले कसैलाई पनि राम्रो गर्दैन ।

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २१ बुधबार ०६:१९:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेपालले दोस्रोपटक आइसिसी टी–२० विश्वकप खेल्ने लक्ष्य बनाउनुपर्ने बताएका छन् । क्यान र खेलाडीबीचको असन्तुष्टि साम्य भएपछि बन्द प्रशिक्षणमा रहेका मल्लले नेपालले अब टी–२० विश्वकप खेल्ने लक्ष्यका साथ तयारीमा जुट्नुपर्ने बताएका छन् । मल्लले मंगलबार नयाँ पत्रिकासँग टेलिफोनवार्तामा भने, ‘सन् २०१४ को टी–२० विश्वकपपछि मैले भनेको थिएँ, नेपालले थप एक वा दुई विश्वकप खेल्नुपर्छ ।’ आठ वर्षअघि बंगलादेशमा सम्पन्न विश्वकपमा नेपाल पहिलोपटक सहभागी हुँदा देश क्रिकेटमय बनेको स्मरण गरे । ‘ग्लोबल छनोटबाट विश्वकपमा सहभागी हुन सक्याैँ भने फेरि पनि नेपालमा फरक किसिमको वातावरण बन्ने विश्वास लिएको छु,’ मल्लले भने, ‘यो लक्ष्य पूरा गर्न हामी सबैले कडा मिहिनेत गर्नुपर्छ, अहिले नेपालसमक्ष फेरि एकपटक विश्वकप खेल्ने मौका मिलेको छ ।’ 

 क्रिकेट स्थापित गर्न विश्वकप 
नेपालजस्तो राष्ट्रमा क्रिकेटलाई स्थापित गर्न विश्वकपको महत्व बेग्लै रहेको उनको बुझाइ छ । उनी भन्छन्, ‘हामीले नेपालमा क्रिकेटलाई पुनः एकपटक स्थापित गर्ने हो भने विश्वकप खेल्नुपर्छ, यसले क्रिकेटको गति बढाउनेछ ।’ पूर्वकप्तान मल्लले पछिल्लोपटकको भोगाइले धेरै पाठ सिकेको बताएका छन् । ‘हामीले बंगलादेशको विश्वकपछि धेरै पाठ सिक्यौँ, अबका दिनमा यस्तो नहोस् भन्ने चाहन्छु ।’ उनले कुराकानीका क्रमम नेपाली क्रिकेटमा भएको पछिल्लो विवादलाई ठूलो रूपमा नलिन पनि आग्रह गरेका छन् । ‘यो विवादलाई त्यति ठूलो रूप दिनुपर्ने थिएन, हाम्रो मुख्य उद्देश्य भित्रको समस्या भित्रै समाधान होस् भन्ने चाहेका थियौँ,’ उनले भने, ‘नेपाली क्रिकेटको भविष्यका लागि सबै एकै स्थानमा बसेर अघि बढनुपर्छ ।’ 

एकै स्थानमा बसेर वार्ता गरेको भए अहिलेको विवाद पनि अगाडि नबढ्ने उनको विश्लेषण छ । ‘खेलाडी र क्यान एकै स्थानमा बसेर अगाडि नै वार्ता गरेको भए आज यो दिन आउने थिएन,’ उनले भने, ‘गएका दिनमा जेजति विवाद भयो, त्यो राम्रोका लागि नै भएको जस्तो लाग्छ, यसले खेलाडी र क्यानबीचको दूरी हटाउने प्रयास भएको छ ।’ खेलाडी र क्यानबीच केही समस्या नभएका कारण नै सबै खेलाडी प्रशिक्षणमा पुगेको उनको भनाइ छ । ‘विवाद अब रहेन, यसको उदाहरण हामी सबै मैदानमा प्रशिक्षणमा छौँ,’ पूर्वकप्तान मल्लले भने, ‘आज सबैजना मैदानमा प्रशिक्षण गर्नु भनेको नै विवाद समाप्त भएर हो ।’ 

 विवादभन्दा पनि असन्तुष्टि पोखेको हो 
पूर्वकप्तान मल्लले खेलाडी र क्यानबीचको पछिल्लो विवादलाई एउटा असन्तुष्टि मात्र भएको बताए । ‘जुन किसिमले विवाद भनिएको छ, त्यो होइन, यसलाई मैले असन्तुष्टिका रूपमा लिएको छु, हामीबीच केवल असन्तुष्टि मात्रै थियो,’ उनले भने, ‘खेलाडीहरूको गे्रड्रिड, खेलाडीले पाउनुपर्ने भत्ता र पाउनुपर्ने सेवासुविधाबारे मात्र असन्तुष्टि पोखेका हौँ ।’ क्यानले असन्तुष्ट पक्ष र मागहरू सम्बोधन गर्ने विश्वास मल्लले लिएका छन् । ‘खेलाडी र क्यानबीच एउटा समझदारी हुनुपर्छ, जुन वार्तामा भएको छ, उहाँहरूले हाम्रो मागभन्दा पनि असन्तुष्ट पक्षलाई अगामी दिनमा सम्बोधन गर्नुहुन्छ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘जसबाट नेपाली क्रिकेटको भविष्य उज्वल हुनेछ ।’ 

 कप्तानबाट हटाउँदा दुःख
मिडियामा बोलेकै भरमा एकपटक पनि नसोधी कप्तानबाट हटाउँदा दुःख लागेको मल्लले बताए । ‘एकैपटक कप्तानबाट हटाइदा दुःख लागेको छ,’ उनले भने, ‘राष्ट्रका लागि वर्षौँदेखि खेलिरहेको व्यक्तिमाथि विनाकारण मुद्दा निकालेर कारबाही भयोे, यसैमा मलाई दुःख लागेको हो ।’ क्यानको पछिल्लो कारबाहीले व्यक्तिगत रूपमा केही समय गाह्रोसमेत बनाएको उनको भनाइ छ । क्रिकेट करिअरमा आफू कहिले पनि क्यानविरुद्ध जाने सोच नबनाएको उनले स्पष्ट पारेका छन् । ‘राष्ट्रका लागि वर्षौँ क्रिकेट खेल्दा कहिले पनि क्यानविरुद्ध जाने सोच बनाइनँ, यदि क्यानविरुद्ध जाने हो भने सम्भवतः म खेल्न आउने नै थिइनँ,’ उनले भने । 

सधैँ कप्तान हुन आएको होइन
कुराकानीकै क्रममा मल्लले आफू नेपाली क्रिकेटमा सधैँभरि कप्तानी गर्ने भनेर नआएको बताएका छन् । ‘सधैँ कप्तान हुन आएको होइन,’ उनले भने, ‘यसअघि पनि खेलाडीकै रूपमा खेलिरहेको थिएँ र अबका दिनमा पनि खेल्छु ।’ कप्तानीभन्दा पनि देशका लागि खेल्ने भावनाका साथ आएको उनले बताए । ‘म देश, व्यक्तिगत आत्मसम्मान र परिवारका लागि खेल्छु,’ उनले भने, ‘मेरो लक्ष्य यही हो ।’ 

पूर्वकप्तान मल्लले व्यक्तिगत स्वार्थ वा इगो भन्दा पनि राष्ट्रका लागि खेल्नुपर्ने जनाएका छन् । प्रशिक्षणमा आएकाहरूमा पनि यस्तै भावना रहेको उनले बताए । ‘हामी एकअर्काप्रति व्यक्तिगत इगो वा स्वार्थी भावनामा उत्रियौँ भने यसले कसैलाई पनि राम्रो गर्दैन, खेलाडी संगठित हुनुपर्छ,’ उनले भने, ‘यहाँ कोही १२ वर्ष सँगै खलेको र भर्खर आएका खेलाडीसँग पनि खेलिरहेका छौँ, सबै निःस्वार्थ र एकताको भावनाका साथ प्रशिक्षणमा छौँ ।’