मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १९ सोमबार १६:२०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपालकै सबैभन्दा ठूलो क्षमताको पेट्रोल पम्प तयार, बुधबार उद्घाटन गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १९ सोमबार १६:२०:००

नेपाल आयल निगम लिमिटेडले बाँकेको नेपालगन्जमा एक वर्ष लगाएर निर्माण गरेको आधुनिक पेट्रोल पम्प बुधबार उद्घाटन गर्ने भएको छ। आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले निर्माणको काम सकिएको र उद्घाटन गरी सञ्चालन गर्न लागेको जानकारी दिए।

‘पम्प निर्माणको काम सकिएको छ। अब पम्प सञ्चालन गरी उपभोक्तालाई पेट्रोल र डिजेल वितरण सुरु गर्छौँ,’ प्रवक्ता उपाध्यायले भने। आगलागीबाट जोगाउने यो ‘केमिकल फोम’युक्त मुलुककै पहिलो नमुना पम्प हो। यसको भण्डारण क्षमता पनि सबैभन्दा बढी छ। निगमका अनुसार पम्पको अन्डरग्राउन्डमा एक लाख सात हजार लिटर तेल अटाउने पाँचवटा भूमिगत ट्यांकी राखिएको छ। जहाँ २५–२५ हजार लिटर क्षमताको तीनवटा डिजेल ट्यांक र १६–१६ हजार लिटर क्षमताको दुईवटा पेट्रोल ट्यांक छन्। सो पम्प सञ्चालनमा आएपछि दैनिक कम्तीमा २० हजार लिटरसम्म इन्धन बिक्री हुने निगमको अपेक्षा छ।

पम्पमा डिजेल बिक्रीका लागि दुई र पेट्रोल बिक्रीका लागि तीनवटा डिस्पेन्सिङ मेसिन छन्। निगमको नेपालगन्जस्थित शाखा कार्यालयका प्रमुख दीपक घिमिरेका अनुसार डिजेलका लागि ठूला सवारीसाधन आउने र धेरै परिमाण हाल्ने हुँदा दुईवटा डिस्पेन्सिङ मेसिनले धान्न सकिन्छ। तर, पेट्रोलका लागि मोटरसाइकल, स्कुटर, अटोरिक्सा, निजी कार–जिप–भ्यानलगायत धेरै सवारीसाधन आउने हुँदा पेट्रोल बिक्री गर्ने डिस्पेन्सिङ मेसिन तुलनात्मक रूपमा धेरै (तीन वटा) राखिएको घिमिरेले बताए।

‘पम्प सञ्चाचालनका लागि तयार छ। अब हामी उद्घाटनको तयारीमा छौँ,’ घिमिरेले भने। तीन वर्षअघि कार्यकारी निर्देशक भएर सुरेन्द्रकुमार पौडेल आएपछि सो ठाउँमा पम्प निर्माणको योजना कार्यान्वयन भएको हो। लामो समयदेखि खाली रहेको ११ कट्ठा जग्गामा निगमले आधुनिक पम्प बनाएको हो।

निगमका प्रवक्ता उपाध्यायले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, ०७५ ले निर्दिष्ट गरेका सबै व्यवस्था पालना गरी पम्प निर्माण गरेको बताए। उनले आगामी दिनमा पनि विनियमावलीले तोकेको मापदण्डअनुसार पम्प सञ्चालन गरी व्यवसायीलाई उदाहरण बनेर देखाउने बताए। ‘हामीले व्यवसायीहरूलाई विनियमावली पालना गरेर पम्प सञ्चालन गर्न विभिन्न समयमा निर्देशन दिने गरेका छाैँ,’ उपाध्यायले भने, ‘हामीले विनियमावली पालना गरेर पम्प सञ्चालन गरेको देखाएपछि निजी क्षेत्रलाई पनि दबाब पर्छ भन्ने आस गरेका छौँ ।’

पम्पमा डिजिटल प्रविधिको डिस्पेन्सिङ मेसिन जडान गरिएको छ, जसकारण उपभोक्ताले सवारीसाधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यबारे सहजै जानकारी पाउनेछन्। हाल आयात भइरहेको युरो– ६ मापदण्डको इन्धनमा प्रज्ज्वलनशील क्षमता बढी भएर पम्पहरूमा आगलागी हुन थालेपछि निगमले बनाएको नयाँ पम्प परिसरमा विशेष किसिमको ‘अर्थिङ’ जडान गरिएको छ। जसकारण स्पार्क भई तेल बोकेको ट्यांकर वा पम्पमा आगलागी हुने सम्भावना न्यून रहेको निगमले जनाएको छ। निगमले यसअघि रुपन्देहीको भैरहवामा पम्प सञ्चालन गरिरहेको छ। सो पम्पलाई पनि दुई वर्षअघि अपग्रेड गरी ठूलो क्षमतामा इन्धन बिक्रीयोग्य बनाइएको छ।