१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ पौष १९ सोमबार ०७:२५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीपको कप्तानी यथावत् : कारबाहीमा परेमा खेलाडीको पारिश्रमिकमा पुनर्विचार हुने

Read Time : > 2 मिनेट
२०७८ पौष १९ सोमबार ०७:२५:००

नेपाल क्रिकेट संघ (क्यान)ले कारबाहीमा परेका चार खेलाडीको ६ महिनाको पारिश्रमिक नदिने निर्णयप्रति पुनर्विचार गर्ने र नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने नै हुने जनाएको छ । क्यानका पदाधिकारीहरू र पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच आइतबार भएको छलफलबाट यस्तो निष्कर्ष निस्किएको हो ।मुख्य प्रशिक्षक पुबुदु दासानायकेले शनिबार ३० खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी हुन आह्वान गरेका थिए । क्यानको कारबाहीमा परेका मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीसहित १२ खेलाडीले क्लोज क्याम्पका लागि रिपोर्टिङ गरेनन् । करण केसी, अभिनाश बोहोरा, सुशान भारी, कुशल भुर्तेल, विनोद भण्डारी, रोहितकुमार पौडेल, नन्दन यादव र विक्रम सोब क्लोज क्याम्पमा नजाने पक्षमा उभिए । शरद भेषावकर, आरिफ शेख, आसिफ शेख, विवेक यादव, पवन सर्राफलगायत ११ खेलाडी भने शनिबार होटेल पुगेका थिए । 

यसै महिना क्यानले अनुशासनको कारबाही गर्दै मल्लको कप्तानी र दीपेन्द्रसिंहको उपकप्तानी खोसेको थियो । क्यानले मल्ल, दीपेन्द्रसिंह, सोमपाल र कमलसिंहले सन् २०२२ को प्रारम्भिक ६ महिनाको पारिश्रमिकसमेत नपाउने निर्णय गरेको थियो । कारबाहीमा परेका खेलाडीले क्यानले आफ्नो निर्णय पुनर्विचार नगर्दासम्म प्रशिक्षणमा सहभागी नहुने अडान लिएका थिए । 

कारबाहीमा परेका खेलाडीहरूले क्यानलाई शनिबार नै इमेलमातर्फ कप्तान र उपकप्तान पुनर्बहालीको माग राखेका थिए । निर्णय सच्चिएको अवस्थामा मात्र प्रशिक्षणमा सहभागी हुने उनको अडान थियो । पूर्वकप्तान र उपकप्तानको निर्णयलाई साथ दिँदै अन्य खेलाडी पनि क्याम्पमा सहभागी नभएका हुन् । टी–२० विश्वकपजस्तो ग्लोबल छनोटमा मुख्य खेलाडी नआउने भएपछि क्यान अन्योलमा परेको हो । प्रशिक्षण सुरु हुँदासमेत खेलाडी नआउँदा क्यान र खेलाडीबीच झनै दूरी बढ्यो । मुख्य प्रशिक्षक पुबुदुकै प्रत्यक्ष निरीक्षणमा हुने क्लोज क्याम्पमा आधाजसो खेलाडी नआउने भएपछि क्यानले आइतबारै खेलाडीसँग वार्ता तय गर्‍यो । साथै क्यान र खेलाडीबीच दुई चरणमा वार्ता भयो । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र पूर्वकप्तान मल्लबीच भएको प्रारम्भिक चरणको वार्तापछि चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु र पूर्वकप्तान मल्लबीच दिउँसो थप वार्ता भयो । वार्ताका क्रममा कारबाहीमा परेका चार खेलाडीको ६ महिनाको पारिश्रमिक नदिने क्यानको पूर्वनिर्णयप्रति पुनर्विचार हुने सहमति भएको कार्यवाहक सचिव मल्लले नयाँ पत्रिकालाई जानकारी दिए । ‘पारिश्रमिक नदिने निर्णयमाथि पुनर्विचार हुने सहमति भएको छ,’ मल्लले भने, ‘यसका लागि समय मागेका छौँ ।’ तर, कप्तान सन्दीप लामिछाने भने परिवर्तन नहुने स्पष्ट पारे । ‘नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप परिवर्तन हुनेछैनन्, उनले नै अगामी दिनमा नेपालको नेतृत्व गर्नेछन्,’ मल्लले भने, ‘कप्तान परिवर्तन गर्न क्यानले कसैसँग सल्लाह–सुझाव लिनुपर्ने आवश्यक छैन, यो एक किसिमको नियमित प्रक्रिया हो ।’ 

व्यक्तिगत स्वार्थभन्दा पनि राष्ट्रका लागि खेल्नुपर्ने बताउँदै खेलाडीहरूलाई फकाउन क्यानले वार्ता गरेको हो । ‘खेलाडीलाई प्रशिक्षकलगायत अन्य व्यक्तिले सम्झाएका थिए, हामीले व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्रका लागि खेल्नुपर्ने अनुरोध गरौँ,’ मल्लले भने । वार्ताको क्रममा ज्ञानेन्द्र मल्लले कप्तानको विषय र ६ महिना पारिश्रमिक नदिने निर्णयप्रति पुनर्विचार हुनुपर्ने प्रस्ताव राखेको कार्यवाहक सचिव मल्लले बताए । मल्लले भने, ‘हामीले चारजनालाई कहिले पनि अयोग्य भनेका छैनौँ, प्रदर्शन र टोलीको आवश्यकताअनुसार यी चारैजना भविष्यको कप्तानका लागि योग्य छन् ।’ 

छलफलमा ज्ञानेन्द्रले वर्गीकरणको विषयमा बोलेकै आधारमा कारबाही गरेको भन्दै फिर्ता लिन पूर्ववत् माग दोहोर्‍याए । पूर्वकप्तान मल्लले खेलाडीहरूसँगको छलफलपछि मात्र प्रशिक्षणमा आउने वा नआउने धारणा राखेको कार्यवाहक सचिव मल्लले बताए । ‘अन्य खेलाडीसँग पनि वार्ता गर्नुपर्छ, सोमबार विहानसम्म हामी एउटा निर्णयमा पुग्छौँ,’ पूर्वकप्तान मल्लको भनाइ उद्धृत गर्दै कार्यवाहक सचिव मल्लले भने, ‘हामी खेलाडी क्याम्पमा फर्कनेमा विश्वस्त छौँ ।’ टी–२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह ए को खेल १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ । समूह एमा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जर्मनी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

क्यानले बन्द प्रशिक्षणमा बोलाएका खेलाडी
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ सेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आसिफ शेख, कमलसिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अविनाश बोहोरा, सुसन भारी, पवन सर्राफ, विक्रम सोब, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुल्सनकुमार झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेककुमार यादव, सौरभकुमार खनाल, राजेश पुलामीमगर, किशोर महतो, सागर ढकाल, हरिशंकर साह ।