मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ पौष १८ आइतबार १७:३३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा एक हप्तामा तीन चालकविरुद्ध सार्वजनिक मुद्दा, मापसेले तीन दुर्घटना

Read Time : > 1 मिनेट
२०७८ पौष १८ आइतबार १७:३३:००

गुल्मीमा पछिल्लो एक हप्तामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा तीन दुर्घटना भएको छ। प्रहरीले मापसे गरी सवारी दुर्घटना गराउने ती चालकलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ।

गत शुक्रबार रेसुंगा नगरपालिका– २ उदिनढुंगास्थित तम्घास–सिमलटारी सडकखण्डमा लु १ ख ९४७४ नम्बरको बसले लु २ ख ४३७० नम्बरको फोर्स गाडीलाई ठक्कर दियो। दुर्घटनामा कुनै मानवीय क्षति भएन। चेकजाँज गर्दा चालक रुरु क्षेत्र ४ का ४३ वर्षीय तिलबहादुर खासुले मापसे गरेको पाइएपछि प्रहरीले पक्राउ गर्यो। सोही दिन रेसुंगा–१० सिमिचौरस्थित तम्घास–सिमिचौर सडकखण्डमा लु ४ त २६९६ नम्बरको ट्रयाक्टरले लु १ क १४९१ नम्बरको स्कुल बसलाई ठक्कर दियो। प्रहरीले ट्याक्टरचालक बाग्लुङ बडिगाड गाउँपालिका– ९  घर भई रेसुंगा–१ बस्ने ३४ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गर्यो। मानवीय क्षति नभए पनि बस निकै ठूलो दुर्घटनाबाट बचेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।

यसअघि गत पुस १२ गते पनि अर्घाखाँचीको सन्धिखर्कदेखि गुल्मीको भेडुवातर्फ जाँदै गरेको लु १ ज ४३५२ नम्बरको गाडी गुल्मीदरबार गाउँपालिका– ३ राजास्थित स्थानीय भुपाल थापाको घरमा ठोक्कियो। चेकजाँच गर्दा चालक कृष्णबहादुर थापाले मापसे गरेको पाइएपछि पक्राउ गरी सार्वजनिक मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।

पहिले जरिवाना मात्र, अहिले सार्वजनिक मुद्दा
जिल्लामा प्रहरीसँग मापसे पत्ता लगाउने प्रविधि छैन। मापसे गरेको शंका लागेमा मात्रै सुँघेर वा स्वास्थ्य परीक्षण गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भटराईले बताए। पहिले मापासे गर्नेहरूलाई जरिवाना गरेर मात्र छाड्ने गरिएको थियो। तर, प्रवृत्ति दोहोरिन थालेपछि अहिले सार्वजनिक मुद्दा नै दर्ता गरेर कारबाही गर्न थालिएको भट्टराईले बताए। ‘मापसे गरेर नागरिकको ज्यान जोखिममा राखेर गाडी चलाउन पाइँदैन। चालक स्वयं, यात्रु, सवारी धनी र व्यवसायीले विचार गर्नुपर्यो,’ उनले भने, ‘अबदेखि मुद्दा दर्ता गरेर कडा कारबाही गर्छौँ।’