कविशिरोमणि लेखनाथ पौड्याल सहित्य पुरस्कारबाट प्राज्ञ, साहित्यकार, नाटककार एवं नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त र साहित्यकार रमेश खकुरेललाई सम्मान गरिएको छ ।
लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित र पौड्यालकी कान्छी छोरी कुन्तिदेवी भट्टराईको परिवारले स्थापना गरेको ५० हजार धनराशिसहितको सम्मानपत्र र दोसोल्लाबाट सरुभक्त र खकुरेललाई पौड्यालको १३८औँ जन्मजयन्तीको अवसरमा सम्मान गरिएको हो । सरुभक्तलाई ०७७ साल र खकुरेललाई ०७८ सालको पुरस्कारबाट सम्मान गरिएको हो । कोरोनाका कारण गत वर्ष पौड्यालको जन्मजयन्ती नमनाएका कारण गत वर्षसँगै यस वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो ।
यसअघि सो पुरस्कारबाट नेपाली शिक्षा परिषद्का प्रा.डा. वासुदेव त्रिपाठी, मदनमणि दीक्षित, धर्मराज थापा, डा. मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय, प्रा. बालकृष्ण पोखरेल, जगमान गुरुङ र वसन्तकुमार शर्मा र वरिष्ठ साहित्यकार बैरागी काइँला सम्मानित भइसकेका छन् ।
यसैगरी, लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट पत्रकार भीमपाणि बराललाई सम्मान गरिएको हो । पुरस्कारको राशि ११ हजार एक सय ११ रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।
त्रिदिवसीय रूपमा मनाइएको पौड्यालको जन्मजयन्तीमा विविध कार्यक्रमसहित कविको जन्मस्थल लेखनाथको अर्घां अर्चलेमा मूल समारोह गरिएको हो । कविको जन्मस्थल पोखरा–२७ अर्घौं अर्चलेमा सम्पन्न कार्यक्रममा सरुभक्तसँगै अन्य अतिथि र वक्ताहरूले अर्घौं अर्चलेलाई गण्डकी प्रदेश कै सिर्जना ग्रामको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
कविशिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेका अनुसार कविको जन्मस्थललाई सिर्जना ग्रामसँगै साहित्य र पर्यटन केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारबाट गुरुयोजनासहितको प्रस्ताव माग भएको छ ।