मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष १८ आइतबार ०७:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभा निर्वाचन : कर्णालीबाट एकीकृत समाजवादीका प्रस्तावित उम्मेदवार सिफारिस

Read Time : < 1 मिनेट
२०७८ पौष १८ आइतबार ०७:०५:००

राष्ट्रिय सभामा रिक्त हुने सदस्य पदका लागि एकीकृत समाजवादीले कर्णाली प्रदेशबाट १६ जना प्रस्तावित उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश सचिवालय कमिटीको बैठकले अन्य, महिला र अपांगता कलस्टरका लागि पार्टी केन्द्रलाई उम्मेदवारका लागि प्रस्तावित नाम सिफारिस गरेको हो । 

पार्टीका कार्यालय सचिव वसन्त विश्वकर्माले पुरुषतर्फ नौ र महिलातर्फ सातजनाको नाम टुंगो लगाई केन्द्रमा पठाएको जानकारी दिए । उनका अनुसार उदय बोहरा (सल्यान), कृष्णबहादुर बुढा क्षेत्री (जाजरकोट), टेकबहादुर खाण (दैलेख), देवीलाल थापा (जुम्ला), बरुनाथ योगी (दैलेख), लोकबहादुर हमाल (हुम्ला), शिवप्रसाद उपाध्याय (सुर्खेत), शेरबहादुर केसी (रुकुमपश्चिम), हंशबहादुर शाही (डोल्पा)लाई सिफारिस गरेको छ । 

त्यस्तै अछामपुरा मल्ल भाम (मुगु), कल्याणी खड्का (रुकुम पश्चिम), कृष्णकला पाण्डे (कालिकोट), रीता रावल (जाजरकोट), लक्ष्मी शर्मा (सुर्खेत), शान्ता शाही (जुम्ला), शारदा परियार (सल्यान)को नाम उम्मेदवारका लागि प्रस्ताव गरिएको छ । एकीकृत समाजवादीका प्रदेश कार्यालयका सचिव विश्वकर्माले प्रदेश कमिटीले पठाएका नाममध्येबाट पार्टी केन्द्रले अन्तिम उम्मेदवारको टुंगो लगाउने बताए ।

राष्ट्रिय सभामा यसपटक रिक्त हुने १९ मध्ये कर्णाली प्रदेशबाट तीनजना निर्वाचित हुनेछन् । कर्णालीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका रुकुम पश्चिमका ठकेन्द्र पुरी, हुम्लाका कविता बोगटी र कालिकोटका जीवन बुढाको पदावधि सकिँदै छ । पुरी हाल एकीकृत समाजवादी, बोगटी एमाले र बुढा माओवादी केन्द्रमा आबद्ध छन् ।

कर्णाली प्रदेशमा ३५ जना प्रदेश सभा सदस्य र १५६ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १९१ मतदाता छन् । आगामी १२ माघमा वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रिय सभा सदस्य पदका लागि मतदान हुनेछ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यलाई निर्वाचन अधिकृत तोकिसकेको छ ।