मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १७ शनिबार १७:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय पोसाकको आधिकारिकता घोषणा गर्न पहल गर्छु : मन्त्री आले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १७ शनिबार १७:१५:००

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले अब बस्ने क्याबिनेटबाट राष्ट्रिय पोसाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले अझै पनि राष्ट्रिय पोसाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा खिन्नता लागेको उल्लेख गर्दै क्याबिनेटबाट निर्णय गराउन आफूले पहल गर्ने बताएका हुन्।

‘हामीले अहिलेसम्म राष्ट्रिय पोसाक मात्रै मनाई राख्ने हो कि त्यसलाई कार्यान्वयनमा ल्याउने हो ? यो विषयमा मैले अध्यक्षज्यूलाई भनेँ, ‘तपाईंहरु पूरा तयारीको साथ आउनुहोस्। मलाई लाग्छ, आज पौष १७ गते यो कार्यक्रम मनाइरहँदा, माफ गर्नुहोला तपाईंहरूले अलिअगाडि एक डेढ महिनाअगाडि नै आएर यो विषयमा बृहत् छलफल गरेर सम्माननीय प्रधानमन्त्रीदेखि लिएर विभिन्न मन्त्रालयका मन्त्रीज्यूहरूसँग समन्वय गरेर हामीले यही १७ गते आज क्याबिनेटबाट पास गराएर मनाउन पाएको भए अझै भव्य र सभ्य हुन्थ्यो भन्ने मलाई लाग्दछ। यसमा हामी चुकेका छौँ। तर छिट्टै म यही मञ्चबाट तपाईंहरूलाई आग्रह गर्न चाहन्छु। छिटोभन्दा छिटो कृपया, तपाईंहरुले तयारीका साथ आउनुहोला। आज भएको कार्यक्रमको सन्देश पनि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई सुनाउनेछु। र, तपाईंहरू पूरा तयारीका साथ आउनुहोस्। म मेरो मन्त्रालयको तर्फबाट, मेरो तर्फबाट यसलाई आधिकारिता दिनका लागि क्याबिनेटमा यो फाइल लग्नेछु भन्ने कुरा म तपाईंहरूलाई विश्वस्त बनाउन चाहन्छु,’ उनले भने।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रिय पोसाक नेपालीहरको राष्ट्रिय गौरव भएको बताए। उनले राष्ट्रिय पोसाकको कुरा गर्दा जातीय पोसाकको महत्व कम नहुने स्मरण गराए।