मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ फाल्गुण २२ बुधबार ०६:३३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

मजदुरका नाममा कम्पनी खोलेर १ अर्ब ७५ करोड कर छली

ठगी गर्ने २४ फर्मबाट असुलउपर गर्न राजस्वको मुद्दा

Read Time : > 3 मिनेट
२०७५ फाल्गुण २२ बुधबार ०६:३३:००

ज्याला मजदुरी गर्ने व्यक्तिको नाममा कम्पनी खोलेर नक्कली बीजक बिक्री गरी २४ फर्मले झण्डै दुई अर्ब कर छली गरेका छन् । राजस्व अनुसन्धान विभागले ती फर्मका सञ्चालकविरुद्ध १ अर्ब ७५ करोड ४४ लाख बिगो असुलउपर गर्नुपर्ने मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायरगरेको छ ।  जयकिशोर साह र परमेश्वर साहसमेतले अनपढ मजदुरका नाममा व्यापारिक फर्म दर्ता गराई झुटा तथा नक्कली कर बीजक जारी गरेर मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

दाखिला गर्नुपर्ने भ्याट, थप दस्तुर र ब्याजसमेत गरी ६५ करोड ४४ लाख, दाखिला गर्नुपर्ने आयकर, थप दस्तुर र ब्याजसमेत गरी १ अर्ब ९ करोड राजस्व चुहावट भएको विभागको दाबी छ । बिगो राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम बिगोको दोब्बरसम्म जरिवानासमेत ३ वर्षसम्म कैद सजायको मागदाबी पनि विभागले प्रतिवादीविरुद्ध गरेको छ । विभागले मजदुरहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको छ ।

कसरी छलियो राजस्व ? 
राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली भन्छन्– अनपढ मजदुरका नाममा कम्पनी खोलेर अभियुक्तहरूले मालबस्तु कारोबार गरेनन् । उनीहरूले कम्पनीमार्फत झुटा बिल–बीजक जारी गरी मालबस्तु कारोबार गर्ने फर्मलाई बिक्री गरेर राजस्व छले । कम्पनीको दर्तावाल व्यक्ति तथा अन्य व्यक्तिलाई कर्मचारीका रूपमा राखी खाता सञ्चालन गर्न लगाएर संगठित रूपमा राजस्व चुहावट गरे ।

 बहुराष्ट्रिय कम्पनीदेखि जलविद्युत्सम्म भ्याट छलीमा
नक्कली बील–बीजक खरिद गरी भ्याट छली गर्नेमा बहुराष्ट्रिय कम्पनीदेखि जलविद्युत् आयोजनासम्म रहेको विभागले जनाएको छ । खासगरी बढी नाफा आर्जन हुने क्षेत्रका फर्मले भ्याट छली गरेको पाइएको महानिर्देशक मैनालीले बताए । ‘अहिले सार्वजनिक क्षेत्रमा आपूर्ति गर्ने कम्पनी, बहुराष्ट्रिय कम्पनी, अस्पताल, जलविद्युत् आयोजना र केही आयातकर्ताले भ्याट छलेको पाइएको छ,’ उनले भने, ‘यसमा अधिकांश एक करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने आकारका फर्मको संलग्नता देखिएको छ ।’ राजस्व प्रणालीमा आघात पार्ने गरी योजनाबद्ध रूपमा ठगी गरेको पाइएको उनले बताए । 

परिष्कृत विधि अपनाउँदै व्यापारी 
भ्याट छलीमा नयाँ विधि अपनाइन थालेको राजस्व अनुसन्धान विभागको निष्कर्ष छ । ‘यो पहिलाको भन्दा परिष्कृत देखिन्छ,’ महानिर्देशक मैनाली भन्छन्, ‘पहिले बैंकिङ प्रणाली बाहिरबाट छली हुन्थ्यो, अहिले बैंकिङ प्रणालीभित्रै रहेर छली भएको देखिन्छ ।’ ठगीमा संलग्न कम्पनीले मालबस्तुको कारोबार नगर्ने, तर बिल मात्रै बिक्री गर्ने, वित्तीय विवरण बुझाउने, अडिट पनि गराउने गर्छन् । उनीहरूले कर प्रणालीभित्रै कारोबार गरेरै ठगी गरेको उनले बताए । 


६ महिना/एक वर्ष/डेढ वर्षसम्म खरिद–बिक्री देखाउने र निश्चित समयपछि कारोबारै नदेखिएको विभागको दाबी छ । ‘कुनै पनि व्यवसाय ६ महिना÷एक वर्षमै सकिनेजस्तो त हुँदैन नि !’ उनी भन्छन्, ‘यस्तो ठगीलाई मिसिङ ट्रेड फ्रड भनिन्छ ।’ एकैदिन एउटा श्रमिकका नाममा २–३ वटासम्म प्रालि कम्पनी रजिस्ट्रारमा दर्ता भएका र ती कम्पनीका नाममा भ्याट/प्यान राजस्व कार्यालयले समेत जारी गरेको विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

८ वर्षअघि ६ अर्बभन्दा बढी कर छली, १ वर्ष लगाएर छानबिन 
नक्कली बिल–बीजक बनाएर ठूलो परिमाणमा भ्याट छली भएको प्रकरण करिब ८ वर्षअघि ०६७ मा छताछुल्ल भएको थियो । आन्तरिक राजस्व विभागले गरेको अनुसन्धानले नक्कली बीजक बनाई ६ अर्ब रुपैयाँभन्दा बढी कर छली गरिएको तथ्य पहिलोपटक सार्वजनिक गरेको थियो । विभागका तत्कालीन उपमहानिर्देशक लक्ष्मण अर्यालको संयोजकत्वमा गठित छानबिन समितिलाई छानबिन गर्न नै १ वर्ष लागेको थियो । 

समितिले नक्कली बिल–बीजक जारी गर्ने ३ सय ८५ फर्मसहित नक्कली बीजकका आधारमा साढे ११ करोड रुपैयाँभन्दा बढी भ्याट छली गर्ने ७ फर्मको विवरणसहितको विस्तृत प्रतिवेदन तयार गरेको थियो । वास्तविक रूपमा बस्तु तथा सेवा खरिद–बिक्री नै नगर्ने नक्कली फर्म खडा गरी कर विवरणमा खरिद देखाई बिक्री बिल जारी गर्ने गरेको प्रतिवेदनमा उल्लेख थियो । 

आफूलाई आवश्यक हुने प्रकृतिको सामानको बीजकअनुरूपको फर्म दर्ता गराई कमिसनका आधारमा नक्कली बीजक जारी गरिएको उक्त अनुसन्धान टोलीले फेला पारेको थियो । त्यस्ता बीजकमार्फत बिक्रीभन्दा बढी रकम खरिदको देखाई भ्याट छली गरेको भेटिएको थियो । खरिद–बिक्री कारोबार गर्ने फर्मले ग्राहकलाई बीजक नदिने र त्यसरी बिक्री भएको वस्तुको बीजक अर्को फर्मलाई बिक्री गर्ने गरेको पनि पाइएको थियो । कतिपय व्यक्तिले फर्म दर्ता गराई वस्तु तथा सेवा खरिद नगरी नक्कली बीजक मात्र लिएर भ्याट र आयकरको विरण पेस गरेर लेखापरीक्षण गरेको पाइएको थियो । 

त्यतिवेला विभागले राजस्व प्रशासन सुधारका लागि थुप्रै सुझाब दिए पनि कार्यान्वयनमा नहुँदा राजस्व प्रशासनमा विकृति फैलिएको ठहर विभागको छ । ‘यसबीचमा राजस्व प्रशासनमा जोखिमका क्षेत्र पहिचान नहुँदा पनि विकृति बढे,’ महानिर्देशक मैनाली भन्छन् । ८ वर्षअघिकै भ्याट छली प्रकरणमा संलग्न केही व्यक्ति तथा कम्पनी अहिलेको ठगीमा पनि संलग्न भएको भेटिएको छ । 

सर्वोच्चमा सुनुवाइ हुँदै 
नक्कली भ्याट बिल प्रकरणमा जोडिएका दर्जनौँ मुद्दा अहिले पनि अदालतमा विचाराधीन छन् । यस प्रकरणमा जोडिएका ४ व्यापारीको मुद्दा गत २१ माघमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सपना प्रधान मल्लको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको थियो । तर, सबै फाइल समग्र रूपमा राख्ने आदेशसहित सर्वोच्चले आगामी १८ चैतलाई नयाँ पेसी तोकेको छ । 

 ५ सय फर्मले तीन अर्बभन्दा बढी राजस्व छलेको शंका

प्रारम्भिक अनुसन्धानका आधारमा आन्तरिक राजस्व विभागले करिब ५ सय फर्मले नक्कली भ्याट बिल खरिद गरी राजस्व छलेको अनुमान गरेको छ । यस्ता फर्मले करिब ४ अर्बभन्दा बढीको बिल खरिद गरी ३ अर्बभन्दा बढी राजस्व छलेको हुन सक्ने महानिर्देशक दीर्घराज मैनालीले बताए । पहिलो चरणमा नक्कली बिल बिक्री गर्नेमाथि अनुसन्धान गरिएको र अब नक्कली बिल खरिद गरेर प्रयोग गर्ने फर्ममाथि पनि अनुसन्धान थालिएको उनले बताए । अहिले ४० वटा त्यस्ता फर्ममाथि अनुसन्धान भइरहेको उनको भनाइ छ ।