मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. डिल्लीराम शर्मा
२०७५ फाल्गुण २२ बुधबार ०९:००:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

नेपालमा विषादी प्रयोगको अवस्था

Read Time : > 4 मिनेट
डा. डिल्लीराम शर्मा
२०७५ फाल्गुण २२ बुधबार ०९:००:००

विषादी विष हो, औषधि होइन
विषादी भनेको विष हो, औषधि होइन । तसर्थ, विषादीलाई जोसुकैले यसरी नै बुझ्नुपर्छ । अन्तर्राष्ट्रिय परिवेशलाई हेर्दा नेपालमा कम मात्रामा विषादी प्रयोग भएको पाइन्छ । एसियाको मात्र कुरा गर्ने हो भने सबैभन्दा न्यून मात्रामा विषादी प्रयोग गर्ने राष्ट्रमा हामी पर्छौँ । अहिले ३ सय ९६ ग्राम प्रतिहेक्टरका दरले विषादी प्रयोग भएको पाइन्छ । यसरी प्रयोग भएको सबै विषादी विदेशबाट आयात भइरहेको स्थिति छ । नेपालमा विषादी उत्पादन गर्ने कुनै कारखाना छैन । नेपालमा बढी मात्रामा भारतबाट र थोरै चीनबाट विषादी आयात भइरहेको छ । न्यून मात्रामा जापान, जर्मनीलगायतका देशबाट पनि आयात हुने गरेका छन् ।

विश्वमा सबैभन्दा बढी विषादी प्रयोग गर्ने राष्ट्रमा कुनै समस्या देखिँदैन । तर, हामी न्यून विषादी प्रयोग गर्ने राष्ट्र भए पनि ठूलै समस्या देखिने गरेका छन् । यसको कारण के हो भने जनमासनमा विषादीसम्बन्धी चेतनाको अभाव छ । त्यसैले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले यससम्बन्धी ऐनलाई कार्यान्वयन गर्दै जनचेतना अभिवृद्धिमा काम गरिरहेको छ । स्रोत–साधनले भ्याएसम्म सचेतनाका काम भएका छन् । पहिले प्रत्येक जिल्लामा कृषि विकास कार्यालय थिए, त्यसमातहतबाट सचेतनाका कार्यक्रम हुने गरेका थिए । संघीयता कार्यान्वनयमा आएका कृषि विकास कार्यालय खारेज भएर ज्ञान केन्द्र स्थापना भएका छन् । यस्ता ज्ञान केन्द्रबाट आगामी आर्थिक वर्षहरूमा कार्यक्रम समावेश भएर विषादी सचेतनाका काम अघि बढ्ने विश्वास राखेको छु ।

नेपाल आयात हुनेमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेको पाइन्छ । १५ प्रतिशत विषादी मात्र अरू बालीमा प्रयोग हुने गरेको छ । यसर्थ, खाद्यान्न धान, गहुँ, कोदो, मकै, फापर, गहुँलगायतका बालीमा न्यून विषादी प्रयोग हुने भएकाले आमनेपाली सुरक्षित छन् भन्न सकिन्छ ।

८५ प्रतिशत विषादी तरकारीमा प्रयोग
नेपालमा कति मात्रामा विषादी खपत भइरहेको छ भन्ने तथ्यांक थाहा पाउन आयात परिमाण हेर्नुपर्ने हुन्छ । गत आर्थिक वर्ष ०७४÷७५ को तथ्यांकअनुसार ६ सय मेट्रिकटन विषादी आयात भएको छ । यो भनेको ७५ करोड रुपैयाँबराबरको हो । यो तथ्यांक पशुपक्षीमा प्रयोग हुने, लामखुटे मार्नेलगायतमा प्रयोग हुने विषादीबाहेकको तथ्यांक हो । कृषि क्षेत्रमा प्रयोग हुने विषादी मात्र वार्षिक ७५ देखि ८० करोड रुपैयाँबराबरको आयात भइरहेको छ । नेपाल आयात हुनेमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेको पाइन्छ । १५ प्रतिशत विषादी मात्र अरू बालीमा प्रयोग हुने गरेको छ । यसर्थ, खाद्यान्न धान, गहुँ, कोदो, मकै, फापर, गहुँलगायतका बालीमा न्यून विषादी प्रयोग हुने भएकाले आम नेपाली सुरक्षित छन् भन्न सकिन्छ । 

तरकारीमा धेरै विषादी
विषादी प्रयोग भएका खाद्य बालीमा अवशेष धेरै नै कम रहेको पाइन्छ । विषादीको अवशेष भएका खानेकुरा उपभोग गर्दा मानव स्वास्थ्यमा विभिन्न रोग लाग्ने हो । विषादीको अवशेषचाहिँ सबैभन्दा बढी तरकारीमा छ । अध्ययनअनुसार तरकारीमा १.६ किलोग्राम विषादी प्रतिहेक्टरमा प्रयोग भइरहेको छ । यो भनेको धेरै परिमाण हो । यद्यपि, तरकारीमा किन धेरै परिमाणमा विषादी प्रयोग भयो भन्ने कुरा बुझ्न जरुरी छ । कृषिमा सबैभन्दा बढी व्यावसायिक भएको क्षेत्र तकारी हो । जुन बालीमा व्यवसायीकरण हुन्छ, त्यसमा कृषकले आफ्नो बाली जोगाउन विषादी प्रयोग गर्छ । किनभने, व्यवसायीकरणका माध्यमबाट गरेको खेतीमा नाफा कमाउने उद्देश्य राखिन्छ । नाफाका लागि बाली संरक्षण गर्न किसानले विषादी प्रयोग गर्ने गरेका छन् ।

किसानले आफ्नो बाली संरक्षण गर्न विषादीको प्रयोग गर्नु जायज हो, तर कति मात्रामा प्रयोग गरेको छ, कुन विषादी प्रयोग गरेको छ भन्ने कुराचाहिँ बुझ्नुपर्छ । विषादी कुन वेला प्रयोग गर्नुपर्छ, विषादी छरेको कति समयमा बाली टिप्ने गरेको छ भन्ने कुरा किसानले राम्ररी बुझ्नुपर्छ । हामीले यही विषयमा सचेतना प्रसार गर्नु जरुरी छ । 

विषादी प्रयोग गर्ने विधि
कुन विषादी कति वेला छर्ने र कति समयपछि मात्र टिप्ने भन्ने कुरा फरक–फरक मापदण्ड छ । बालीअनुुसार विषादीको प्रयोग र टिप्ने अवधि तल–माथि छ । विषादीको प्रकृतिअनुसार बाली छरेको ७ दिनपछि, १४ दिनपछि, २१ दिनपछि, १ महिनापछि हुँदै तीन महिनापछिसम्म पर्खेर टिप्नुपर्ने हुन्छ । उदाहरणका लागि ‘खोरेट’ नामको विषादी बालीमा छरेपछि तीन महिनासम्म पर्खेर मात्र टिप्नुपर्छ । जसकारण यो विषादीलाई तरकारीमा हाल्न प्रतिबन्ध लगाएका छौँ ।
अहिले धानमा मात्र प्रयोग गर्न यो विषादी खुला गरिएको छ, किनभने धानमा छरेको २–३ महिनापछि मात्र बाली भिœयाउने समय हुन्छ । यसर्थ, किसान दाजुभाइले कुनै पनि विषादी प्रयोग हुनुहुन्छ भने बट्टा वा बोतलमा लेखिएको ‘लेबल’ राम्ररी हेरेर दिएको निर्देशन पालना गरी विषादी छर्कनुपर्छ ।

लेबलमा कुन बालीमा कति मात्रामा विषादी प्रयोग गर्ने भन्ने कुरा स्पष्ट रूपमा लेखिएको छ । त्यस्तै विषादी प्रयोग गरेको कति दिनपछि मात्र टिपेर प्रयोग गर्न मिल्ने हो भन्ने लेखिएको हुन्छ । लेबलमा लेखिएअनुसार विषादी प्रयोगमा सतर्कता अपनाउन सकेनौँ भने कहिल्यै पनि व्यवस्थापनमा सफल हुन सक्दैनौँ । विषादी प्रयोगका विषयमा किसानले उचित परामर्श नलिँदा अहिले भयावह स्थिति सिर्जना भइरहेको देखिन्छ । एक अध्ययनका अनुसार नेपालका ६० प्रतिशत किसानले कुनै पनि प्राविधिकसँग सल्लाह नै नगरी विषादी छर्कन्छन् । सोझै विषादी बिक्री गर्न बसेको ‘एग्रोभेट’कहाँ जान्छन् र एग्रोभेटले जे भन्छ, त्यहीअनुसारको विषादी प्रयोग गर्छन् । अब सजग रहनुपर्ने कुरा के हो भने किसानलाई विषादी बिक्री गर्न बसेको एग्रोभेटको मान्छे कति शिक्षित छ ? विषादीका बारेमा एग्रोभेटले कति जान्दछ ? अहिले हामीले एग्रोभेटलाई नै विषादी प्रयोगका बारेमा जानकारी दिन थालेका छौँ । सबै एग्रोभेट शिक्षित हुने र किसानलाई उचित परामर्श दिने हो भने विषादी प्रयोगका विषयमा धेरै सुधार हुन सक्छ ।

केही तरकारी, फलफूलमा किरा लागेको छ, ताजा देखिएको छैन भने त्यस्तामा विषादीको मात्रा कम रहेछ भन्ने बुझ्नुपर्छ । घरमै विषादी हटाउने केही उपाय पनि छन् । तरकारी पकाउनुभन्दा अगाडि तीव्र गतिमा पानी झर्ने धाराको पानीमा तीनपटकसम्म मज्जाले पखाल्यो भने ६० प्रतिशत विषादी पखालिएर जान्छ ।

विषादीको प्रयोग घट्दै
अहिले विषादी प्रयोगका बारेमा धेरै सुधार भएको पाइन्छ । सरकारको आफ्नो संयन्त्र र विभिन्न संघ–संस्था प्रयोग गरेर जिल्लास्तरमा एग्रोभेटलाई समय–समयमा तालिम दिइरहने, किसानसमक्ष पुगेर साक्षात्कार कार्यक्रम गरी विषादी प्रयोग गर्दा अपनाउने सचेतना र प्रयोग विधिबारे जानकारी दिइरहेका छौँ । अहिले आयात हुने तरकारी र स्वदेशकै उत्पादनलाई बजार पुग्नुअघि चेकजाँच गर्नका लागि प्रयोगशाला प्रयोगमा ल्याइएको छ । त्यहाँ परीक्षण गरेर मात्र विषादीको अवशेष मापदण्ड कम पाइएको खण्डमा बजार जाने वातावरण बनाइरहेका छन् । ४–५ वर्षअघि विदेशबाट आयात भएका तरकारीमा बढी विषादी रहेको हाम्रै प्रयोगशालामा देखिएको थियो, अहिले त्यसमा सुधार भइसकेको छ । पछिल्लो समयको प्रयोगशाला रिपोर्टअनुसार बजार पुग्ने कुनै पनि तरकारीमा विषादीको मात्रा बढी देखिएको छैन ।

उपभोक्ता यसरी सचेत बन्नुपर्छ
विषादीको असर खेप्ने भनेको उपभोग गर्ने उपभोक्ता नै हुन् । त्यसैले तरकारी तथा फलफूल खरिद गर्दा उपभोक्ता सजग हुुनुपर्छ । यद्यपि, बजारमा आएका तरकारी, फलफूललाई आँखाले हेरेर विषादी छ वा छैन भन्ने कुरा पत्ता लगाउन सकिँदैन । विषादी पत्ता लगाउने विधि छ । बजारमा रहेकामध्ये केही तरकारी, फलफूलमा किरा लागेको छ, ताजा देखिएको छैन भने त्यस्तामा विषादीको मात्रा कम रहेछ भन्ने बुझ्नुपर्छ । यदि कुनै पनि तरकारी किन्दा विषादी रहेको आशंका लाग्यो भने घरमै विषादी हटाउने केही उपाय पनि छन् । तरकारी पकाउनुभन्दा अगाडि तीव्र गतिमा पानी झर्ने धाराको पानीमा तीनपटकसम्म मज्जाले पखाल्यो भने ६० प्रतिशत विषादी पखालिएर जान्छ ।
त्यस्तै एक लिटर पानीमा एक चम्चा नुन हालेर घोल्नुपर्छ । यसरी नुन घोलिएको पानीमा तरकारी वा फलफूल १० मिनेट राख्नुपर्छ । यसो गर्दा ८० प्रतिशत विषादी पखालिएर जान्छ । नुन नभए भेलेगेंडा हाल्न सकिन्छ । सतप्रतिशत विषादी फाल्नु छ भने बाहिरको बोक्रा फालेर खाने बानी बसालौँ । बन्द छ भने बाहिरको एक–दुई पत्र मात्र फाल्नुपर्छ । घिरौँलाको बोक्रा छिनाल्न सकिन्छ ।

शर्मा प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुन् ।