१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दिपेश शाही काठमाडाैं
२०७८ पौष ११ आइतबार ०६:०७:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन आज

राजनीतिक प्रतिवेदन र विधान अनुमोदनपछि नेतृत्व चयन

Read Time : > 6 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ पौष ११ आइतबार ०६:०७:००

सबै प्रक्रिया महाधिवेशनकै अपनाइएकाले नाम मात्र बदलेका हौँ  : नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रको आठौँ महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा उद्घाटन हुनेछ । यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया सम्पन्न गरेको र गर्नैपर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा सम्पन्न गर्न लागेको हो । महाधिवेशन पाँच दिनसम्म चल्ने माओवादी केन्द्रको आकलन छ । 

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक हितमान शाक्यका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । तर, राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गर्ने निर्णय भएकाले उद्घाटन समय भने केही ढिलो हुने उनले बताए । अकस्मात् महाधिवेशनको निर्णय भएकाले विदेशी पाहुना सम्भव नभए पनि अन्य राजनीतिक दललाई भने आमन्त्रण गरिने नेता शाक्यले बताए । यसअघि राष्ट्रिय सम्मेलन भएका कारण विदेशी पाहुना र अन्य पार्टीबाट शुभकामनाका लागि नबोलाउने निर्णय माओवादी केन्द्रले गरेको थियो । 

‘राष्ट्रिय सम्मेलन भनिएकोमा अब यसलाई आठौँ महाधिवेशनका रूपमा अघि बढाउने निर्णय भएको छ । सबै प्रक्रिया पूरा गरिसकेको, निर्वाचन ऐन र कानुनअनुसार महाधिवेशन पनि गर्नुपर्ने भएको हुँदा यसैलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको छ,’ संयोजक शाक्यले भने, ‘शनिबारको स्थायी कमिटीले यसलाई केन्द्रीय कमिटीमा लैजाने भनेको छ । आइतबार बिहान बस्ने केन्द्रीय समिति बैठकले अन्तिम टुंगो लगाउनेछ ।’ 

माओवादी केन्द्रले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र व्यवस्था गरेको छ । ‘राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान–बेलुकाको खाना तथा बसोवासको व्यवस्थापन स्वयंलाई गर्न भनिएको छ,’ शाक्यले भने, ‘तीन दिन भनेकोमा पाँच दिनसम्म चल्न सक्ने भएकाले हरेक दिन दिउँसोको खाजा भने पार्टीले खुवाउनेछ ।’

उनले हरेक दिनको खाजाको मेनु फरक–फरक हुने र त्यसमा मासु, चिउरा, पनिरलगायतका परिकार राखिएको बताए । तीन दिनका लागि भनिए पनि महाधिवेशन लम्बिन सक्ने भन्दै १५ पुससम्मका लागि हल र क्याट्रिनको बुक गरिएको छ । 

सबै व्यवस्था प्रतिनिधि आफैँले गर्नुपर्ने भएको हुँद प्रतिनिधि शुल्क दुई हजार मात्रै तोकिएको छ । जिल्ला समन्वय सम्पर्क कमिटीको सहयोगमा प्रदेश कमिटीले यसको संयोजन गर्न निर्देशन भइसकेको उनले बताए । त्यसमा कसैलाई अप्ठेरो परेको अवस्थामा भने महाधिवेशन आयोजक समितिले व्यवस्थापन गर्नेछ ।

आन्तरिक व्यवस्थापनका लागि युवा, विद्यार्थी र जिल्ला समन्वय समितिका सदस्य भएको ८० जनाको स्वयंसेवक टिम तयार पारिएको छ । शाक्यले पार्टीको स्वास्थ्य विभागले एउटा गाडीमा आकस्मिक स्वास्थ्य उपचारको व्यवस्थासमेत गरिएको जानकारी दिए । उक्त गाडीमा ल्याबसहितको उपचार सेवा हुनेछ ।

साथै महानगरीय प्रहरी परिसर काठमाडौंले सुरक्षा व्यवस्थापन गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीका अनुसार सुरक्षाका लागि ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । साथै बाटो र कार्यक्रमस्थल आसपासमा सिसिटिभीसहितको सुरक्षा व्यवस्थापन गरिएको मैनालीले बताए । उनले माओवादी केन्द्रको महाधिवेशनको सुरक्षाका लागि करिब पाँच हजारभन्दा बढी सुरक्षाकर्मीलाई परिचालन गरिने जानकारी दिए । 

आइतबार उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू राजधानी आइपुग्ने क्रम जारी छ । माओवादी केन्द्रले विभिन्न कमिटीबाट सहभागी हुने प्रतिनिधिको संख्या यसअघि नै टुंग्याइसकेको छ । जसमा सम्मेलन आयोजक समितिका एक सय ७९, सल्लाहकार समितिका एक सय ४९, ज्येष्ठ कम्युनिस्ट समितिका एक सय २५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट एक सय दुईजना र केन्द्रीय प्रतिनिधि २७ जना सहभागी हुनेछन् । 

त्यस्तै, प्रदेशहरूबाट आठ सय तीनजना छनोट भएर आउनेछन् । प्रदेश १ बाट ९६, प्रदेश २ बाट एक सय ६, बागमतीबाट एक सय २८, गण्डकीबाट ७४, लुम्बिनीबाट एक सय पाँच, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरूबाट ४३ जना सहभागी हुनेछन् । यसरी नियमित प्रक्रियाबाट १४ सय ८३ र त्यसको १० प्रतिशत मनोनयन अध्यक्ष प्रचण्डले गरेपछि  थप एक सय ४८ जना प्रतिनिधि महाधिवेशनमा उपस्थित हुनेछन् । 

अध्यक्ष प्रचण्डले मनोनय गर्ने दश प्रतिशतको भने अझै टुंगो लागिसकेको छैन । यसअघि मनोनय गरिने प्रतिनिधिको संख्या पाँच प्रतिशतलाई बढाएर स्थायी कमिटीले दश प्रतिशित पुर्‍याएको छ । मनोनयनबाट आउने प्रतिनिधिको संख्या बढेसँगै प्रतिनिधिको संख्या बढेर १६ सय आठ हुने भएको छ ।

बन्दसत्रमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक र संगठनात्मक प्रतिवेदन र देव गुरुङले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । बन्दसत्रमा २५ वटा समूह बनाएर छलफल हुनेछ । सबै समूहलाई छलफलका लागि कमलादीमा स्थान अभाव भए केन्द्रीय कार्यालय पेरिसडाँडामा व्यवस्था गर्ने माओवादीको तयारी छ । प्रदेशअनुसार समूहगत छलफल हुने र प्रदेश प्रतिनिधिको संख्या धेरै भएको हकमा विभाजन गरेर समूह बनाइने भएको छ । 

के फरक हुन्छ महाधिवेशन र राष्ट्रिय सम्मेलनमा ? 

राष्ट्रिय महाधिवेशन : पार्टी विधानको धारा १५ मा राष्ट्रिय महाधिवेशनसम्बन्धी व्यवस्था गरेको छ । उक्त व्यवस्थामा एकताको राष्ट्रिय महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुने तथा राष्ट्रिय महाधिवेशन प्रत्येक पाँच वर्षमा सम्पन्न गर्ने उल्लेख छ । विशेष परिस्थितिमा केन्द्रीय समितिले यसको स्पष्टीकरणसहित बढीमा ६ महिनासम्म राष्ट्रिय महाधिवेशनको समय सार्न सक्ने विधानले व्यवस्था गरेको छ ।

महाधिवेशनको स्थान, मिति र प्रतिनिधित्व केन्द्रीय समितिले तोकेबमोजिम हुने तथा महाधिवेशन आफैँले महाधिवेशन सञ्चालनका लागि आवश्यक विधि, प्रक्रिया र संरचना तय गर्ने विधानमा छ । यसबाहेक राष्ट्रिय महाधिवेशनले पार्टीको विधान, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र आवश्यक अन्य प्रस्ताव पारित हुन्छन् । केन्द्रीय समिति, केन्द्रीय निकाय र तिनका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन राष्ट्रिय महाधिवेशनबाट पारित विधानबमोजिम हुने व्यवस्था छ ।

पार्टी एकीकरण गरिएको सन्दर्भमा एकीकरणसम्बन्धी संयुक्त भेला वा केन्द्रीय समितिहरूको संयुक्त अधिवेशनले निर्णय गरेबमोजिम राष्ट्रिय महाधिवेशनको आयोजना हुने माओवादीको विधानमा छ । यसअघि ०६९ मा माओवादीले सातौँ राष्ट्रिय महाधिवेशन हेटौँडामा गरेको थियो । 

राष्ट्रिय सम्मेलन : विधानको धारा ५९ राष्ट्रिय सम्मेलनबारे व्यवस्था छ । दुई राष्ट्रिय महाधिवेशनको बीचमा पार्टीको नीति, कार्यक्रम, संगठन, पार्टी एकता वा विभाजन वा कुनै विशेष परिस्थिति उत्पन्न भएमा केन्द्रीय समितिले राष्ट्रिय सम्मेलन आयोजना गर्न सक्ने विधानमा छ । त्यस्तो सम्मेलनले गरेको निर्णयको अनुमोदन त्यसपछि आयोजना हुने राष्ट्रिय महाधिवेशनद्वारा गरिनुपर्ने व्यवस्था छ । राष्ट्रिय सम्मेलनको प्रतिनिधित्व केन्द्रीय समितिले तोकेबमोजिम हुने पनि विधानमा छ । यसअघि ०७१ मा माओवादीले विराटनगरमा राष्ट्रिय सम्मेलन गरेको थियो ।

सबै प्रक्रिया महाधिवेशनकै अपनाइएकाले नाम मात्र बदलेका हौँ : नारायणकाजी श्रेष्ठ, नेता, माओवादी केन्द्र
पार्टी विधानमा राष्ट्रिय महाधिवेशन र राष्ट्रिय सम्मेलनबारे स्पष्ट व्यवस्था छ । अहिले हामीले राष्ट्रिय सम्मेलन गर्ने भनेका थियौँ, तर प्रक्रियागत रूपले राष्ट्रिय महाधिवेशनअनुसारकै काम भएका छन् । जस्तो कि सदस्यता नवीकरण र नयाँ वितरण गर्‍यौँ । टोलदेखि वडा र पालिकादेखि प्रदेशसम्मका अधिवेशन पनि सक्यौँ ।

नयाँ कार्यदिशासहितको महाधिवेशनमै पेस हुने राजनीतिक प्रतिवेदन लेखनको काम पनि सकिएको छ । हामीले राष्ट्रिय सम्मेलन भने त्यहाँ सघन राजनीतिक–वैचारिक बहस गर्ने र नयाँ विचारधारासहितको नयाँ पार्टी बनाउन खोजेका हौँ । अर्कोतिर नयाँ विधान पनि पारित गर्दै छौँ । यी काम सकेर नयाँ नेतृत्व चयनमा पनि जाने भनेका छौँ ।

यसरी हेर्दा राष्ट्रिय सम्मेलन भने पनि सम्पूर्ण रूपमा महाधिवेशनकै प्रक्रिया पूरा भए । यही कारण नाम मात्र बदलेका हौँ । यो कुनै रणनीतिक विषय होइन, बिल्कुल प्राविधिक कुरा हो । अहिले महाधिवेशन सम्पन्न गरेपछि एक–दुई वर्षमै अर्को गर्नुपर्ने अवस्था पनि रहँदैन । आवश्यक परे त्यसवेला विधानअनुसार राष्ट्रिय सम्मेलन आह्वान गर्न सक्छौँ ।

शान्ति–प्रक्रियापछिको समीक्षासहित समाजवादी कार्यदिशा : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले आइतबारदेखि सुरु हुने आठौँ महाधिवेशनबाट समाजवादी कार्यदिशा लागू गर्न सक्ने गरी पार्टी रूपान्तरित हुने बताएका छन् । शनिबार पत्रकारहरूसँगको अन्तरक्रियामा उनले शान्ति–प्रक्रियापछि माओवादीले लिएको बाटोबारे समीक्षा गरेर महाधिवेशनबाट पार्टी रूपान्तरण गरिने बताए । 

आगामी दिनमा पार्टी कसरी अगाडि बढ्छ भन्ने विषयमा महाधिवेशनले विचार विश्लेषण गर्ने प्रचण्डको भनाइ छ । एमाले, कांग्रेस र राप्रपाभन्दा बिल्कुल फरक ढंगले माओवादीको महाधिवेशन हुन थालेको दाबी गर्दै प्रचण्डले आफूहरूले जलवायु परिवर्तन, कृषि, आर्थिक समृद्धिलगायत वैचारिक विषयमा छलफल गर्ने बताए । 

‘विश्वमा चलिरहेको पुँजीवादी प्रणाली कति उचित छ ? वायुमण्डलमा कार्बन उत्सर्जनदेखि विभिन्न खालका रोगव्याधि, खाद्यान्न संकटलगायत पुँजीवादले विकास गरेको र संसारभर संकट देखिन थालेको अवस्थामा समाजवादलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीर बहस हुन आवश्यक छ,’ उनले भने, ‘शान्ति–प्रक्रियामा आएपछि विश्वका थुप्रै दस्ताबेज अध्ययन गरेको छु । त्यसका आधारमा माओवादी केन्द्रलाई कसरी अघि बढाउने भनेर छलफल हुनेछ ।’ 

उनले माओवादी नेताहरू जनताबाट टाढा भए कि भनेर प्रश्न उठिरहेको भन्दै यस विषयमा पनि महाधिवेशनमा गम्भीर छलफल गर्ने बताए । ‘हामी जनताबाट कतै टाढा भएका त होइनोैँ भन्ने विषयमा पनि गम्भीर रूपमा महाधिवेशनमा छलफल हुन्छ । जनतासँग बस्ने र समाजवादलाई तलैबाट कसरी उठाउने र लागू गर्ने भन्नेबारे हामी छलफल गर्छौँ,’ प्रचण्डले भने । 

प्रचण्डले यो जनतासँग जोड्ने कुरा मात्र नभएको भन्दै पार्टीका नेतालाई पनि रूपान्तरण गर्ने उद्देश्य रहेको बताए । ‘किसानको घरमा जाने, कारखानामा जाने, मजदुरको घरमा जाने, श्रमिकको घर–घरमा जाने वातावरण बनाउने विषयलाई प्राथमिकता दिन जरुरी छ,’ उनले भने, ‘हामी यो विषयमा गम्भीर ढंगले बहस गर्छौँ ।’

उनले माओवादी शान्ति–प्रक्रियापश्चात् सत्तामा पुगेपछि थोरै बिग्रिएजस्तो देखिन थालेको भन्दै अब महाधिवेशनबाट रूपान्तरित हुने दाबी गरे । अब माओवादीका नेताहरू जनताको बीचमा जाने र जनतासँग घुलमिल हुने उनको भनाइ छ । उनले माओवादी पार्टीमा देखा पर्न थालेको विचलनलाई ‘भेडा र सिंह’को कथासँग तुलना गरेर प्रस्ट्याउने प्रयास गरे । आफूहरू सिंहजस्तै भए पनि भेडाको संगतमा परेर भेडाजस्तै देखिन थालेको भन्दै प्रचण्डले ‘अब भेडा नहुने’ बताए ।

उनले अहिलेको अवस्थामा प्रचण्डपथ ल्याउन आवश्यक नरहेको बताए । ‘अहिलेको परिस्थिति भिन्न भएकाले प्रचण्डपथ ब्युँताउन जरुरी छैन,’ उनले भने, ‘अब भिन्न ढंगले छलफल गर्नुपर्छ । बिसाउने वेलामा पहिले छलफल गरेको भए हुन्थ्यो । परिस्थिति बदलिएकाले अब नयाँ विचारमा छलफल हुनुपर्छ ।’ माओवादी केन्द्रकै केही नेताहरूले महाधिवेशनबाट प्रचण्डपथ ब्युँताउन आवश्यक रहेको औँल्याइरहेका वेला प्रचण्ड आफैँले भने त्यो विचार अहिले सान्दर्भिक नहुने बताएका हुन् ।

त्यस्तै, प्रचण्डले संसद्को गतिरोध अन्त्य हुनुपर्ने भन्दै त्यसका लागि पटक–पटक प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेलाई वार्तामा आउन आह्वान गरे पनि अध्यक्ष केपी ओली तयार नभएको बताए । ‘पटक–पटक प्रधानमन्त्रीले बैठक बोलाउने, तर उहाँ (केपी शर्मा ओली) नआउने । मैले प्रधानमन्त्री र म भएर बालकोट जाऔँ भनेको हो, प्रधानमन्त्रीले महाधिवेशनपछि भन्नुभएको छ,’ उनले भने, ‘संसद्मा माधव नेपाल देखिन भएन भनेका छन् । निर्वाचन आयोग र संसद्ले मान्यता दियो, उहाँहरू अदालत जानुभएको छ, तर फेरि संसद्मा अवरोध जारी छ ।’ उनले यससँगै अहिले देशको राजनीति संघीयता र धर्मनिरपेक्ष ठीक छैन भन्ने पक्षमा र यसलाई रक्षा गर्नुपर्छ भन्ने पक्षमा विभक्त रहेको बताए । 

त्यस्तै, अमेरिकाले प्रस्ताव गरेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) परियोजना फर्काउने पक्षमा आफूहरू नरहेको भन्दै प्रचण्डले त्यसका लागि सम्झौतामा रहेका बुँदाहरू विनापरिमार्जन अगाडि नजाने स्पष्ट पारे । ‘नेपालको राष्ट्रिय हित र जनताको भावनालाई केन्द्रबिन्दुमा राखेर एमसिसी परियोजना अगाडि बढ्छ । एमसिसीमा प्रश्नहरू उठेका छन्, त्यसको जवाफ दिएर परिमार्जन र संशोधन गरेर मात्रै अगाडि लगिन्छ,’ उनले भने । साथै, एमसिसीको विषयमा पाँचदलीय गठबन्धनमा छलफल भए पनि परिमार्जनको विषयमा टुंगोमा पुग्न बाँकी रहेको बताए । उनले बाँकी रहेका गम्भीर आशंका स्पष्ट नगरी जानु अमेरिका, नेपाल र राजनीतिक दललाई फाइदाजनक नहुने बताए । उनले अमेरिकी अधिकारीहरूसँग यस विषयमा आफ्नो नियमितजस्तै सम्पर्क भइरहेकोसमेत बताए ।

उनले कांग्रेससँग गठबन्धन तोडे एमसिसीमा समर्थन गर्ने भन्दै एमालेले अराजनीतिक, अनैतिक चरित्र देखाएको आरोप लगाए । ‘फेरि पनि प्रतिगमनतर्फ लैजान खोजिँदै छ, प्रतिक्रियावादी संविधान खारेज गर्न चाहन्छन् । यो गठबन्धन टुटाउन जे पनि गर्ने भनिएको छ,’ उनले भने, ‘नाटकहरू चलिरहेका छन्, त्यसका विरूद्ध संघर्ष गरिरहेका छौँ ।’

प्रचण्डले ठूलो बलिदान र संघर्षबाट प्राप्त भएको भन्दै संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने बताउँदै संसद् विघटनको गलत कदमविरुद्ध सबै वर्ग ध्रुवीकृत भएर प्रतिगमनको विरुद्धमा एकजुट हुनुपर्नेमा जोड दिए ।