मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७८ पौष ९ शुक्रबार ०८:०१:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१० दिनदेखि सडकमै थुप्रियो फोहोर

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७८ पौष ९ शुक्रबार ०८:०१:००

पासाङल्हामु सडकखण्ड कालोपत्रेको माग राख्दै स्थानीयले अवरोध गरेपछि करिब दश हजार मेट्रिकटन फोहोर सडकमै

पासाङल्हामु सडकखण्ड कालोपत्रेको माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि १० दिनदेखि काठमाडौंका सडकमा फोहोर थुप्रिएको छ । करिब दश हजार मेट्रिकटन फोहोर उपत्यकाका विभिन्न सडकमा थुप्रिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । नियमित फोहोर नउठ्दा सहर दुर्गन्धित बनेको छ । 

नुवाकोटको मुड्खु र ठूलोखोला क्षेत्रका स्थानीयले सडकखण्ड कालोपत्रेको माग राख्दै सडक अवरुद्ध गरेका थिए । जसकारण उपत्यकाबाट सिसडोल ल्यान्डफिल साइटमा फोहोर लैजाँदै गरेका कन्टेनर १० दिनदेखि बाटोमै रोकिएका थिए । काठमाडौं महानगरपालिकाले सडक बनाइदिने सहमति गरेपछि स्थानीयले बिहीबारदेखि सडकको अवरोध हटाएका छन् । स्थानीयले कन्टेनर गुड्न दिएपछि बिहीबार फोहोर बोकेका करिब दुई सय कन्टेनर सिसडोल पुगेका छन् । 

घरभित्रको फोहोर सडकमा
काठमाडौं उपत्यकामा पुस लागेयता फोहोर व्यवस्थापनमा समस्या आएको छ । पासाङल्हामु सडकखण्डका स्थानीयले २८ मंसिरदेखि सडक अवरुद्ध गरेका थिए । ल्यान्डफिल्डसाइटतर्फको सडक अवरुद्ध गरेपछि महानगरले घरघरको फोहोर उठाएर सडकमा थुपारेको थियो । फोहोर उठाउन कम्तीमा तीन दिन लाग्ने महानगरले जनाएको छ । हाल कामठाडौंको कोटेश्वर, नयाँबानेश्वर, गौशाला, सुन्धारा, बागबजार, रत्नपार्क, थापाथली, बबरमहल, महाराजगञ्ज, गोंगबु, कलंकी, कालीमाटीलगायत क्षेत्रका सडकमा फोहोर थुपारिएको छ । सडकमा थुपारिएको करिब दश हजार मेट्रिकटन फोहोर महानगर र निजी कन्टेनरले व्यवस्थापन गर्नेछन् । घरघरको फोहोर पनि शुक्रबारदेखि नियमित उठाइनेछ । 

फोहोरका कन्टेनर लैजाने सडक अवरुद्ध गरेपछि काठमाडौं महानरगपालिकाले केही क्षेत्रका घरघरमा पुगेर फोहोर उठाएको थियो । फोहोर उठाएर कन्टेनर र सडकमा राखेको थियो । त्यस्तै केही फोहोरका कन्टेनर धोबीखोला र बागमती करिडोरमा पार्किङ गरिएको थियो । रोकिएका कन्टेनर बिहीबार सिसडोल प्रस्थान गरेका छन् । 

तीन दिनभित्र सडकका  फोहोर उठाइसक्छौँ : ईश्वरमान डंगोल, प्रवक्ता, काठमाडौं महानगरपालिका
सडक कालोपत्रेको माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि फोहोरका गाडी सडकमै रोकिएका थिए । सहमति गरेपछि बिहीबारदेखि फोहोरका गाडी गुड्न थालेका छन् । १० दिनसम्म सडक, चोक र घरघरमै रोकिएको फोहोर तीन दिनभित्र उठाइसक्छौँ । 

दैनिक एक हजार मेट्रिकटन फोहोर उत्पादन
हाल उपत्यकामा दैनिक एक हजार मेट्रिकटन फोहोर उत्पादन हुन्छ । तर, १० दिनसम्म सिसडोलमा फोहोर लैजाने कन्टेनर रोकिएपछि उपत्यकाका सडक किनार र चोकचोकमा करिब दश हजार मेट्रिकटन फोहोर थुप्रिएको छ । थुप्रिएका फोहोर आगामी तीन दिनभित्र व्यवस्थापन गरिसक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । सिसडोल ल्यान्डफिल्ड साइटका प्रमुख सरकारदीप श्रेष्ठले स्थानीयले सडक बनाउन माग गर्दै सडक अवरुद्ध गरेपछि फोहोरका कन्टेनर रोकिएको बताए । 

स्थानीयसँग छलफल गरेपछि १० दिनदेखि अवरुद्ध सडक बिहीबारदेखि सुचारु भएको उनले जानकारी दिए । ‘सडक बनाउने निकाय अर्कै हो, तर स्थानीयले महानगरलाई फोहोर व्यवस्थापन गर्न दिएनन्,’ उनले भने, ‘सो सडक शैलुङ कन्स्ट्रक्सनले ६ वर्षदेखि ठेक्का लिएको थियो, ठेकेदारले सडक नबनाउँदा फोहोर व्यवस्थापनमा स्थानीयले अवरोध गरे ।’ ठेकेदार कम्पनीले सडकको काम सुरु गर्ने सहमति गरेपछि स्थानीयले अवरुद्ध सडक सञ्चालन गर्न दिएको बताए । श्रेष्ठका अनुसार सडक खुलेपछि बिहीबार मात्रै करिब आठ सय मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन गरिएको छ । उपत्यकामा दैनिक उत्पादित एक हजार मेट्रिकटन फोहोरमध्ये काठमाडौं महानगरभित्र पाँच सय मेट्रिकटन उत्पादन हुने गरेको छ । 

उपत्यकाको फोहोर बन्चरेडाँडा ओसार्न काठमाडौं महानगरपालिकासँग ३० वटा मात्रै कन्टेनर छन् । उपत्यकाभित्र फोहोर व्यवस्थापन गर्ने कन्टेनर तीन सयभन्दा बढी छन् । महानगरसँग थोरै कन्टेनर हुँदा महानगरभित्रको फोहोर व्यवस्थापनमा समस्या देखिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । उनले फोहोर फाल्ने ठाउँको समेत अभाव हुँदा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आइरहने दाबी गरे । ‘फोहोरमाथि फोहोर थुपार्न निकै कठिन छ,’ उनले भने, ‘त्यसमा पनि महानगरसँग कन्टेनर पनि थोरै छन् ।’ उनले नयाँ ल्यान्डफिल्डसाइट बन्चरेडाँडा तयार नभएसम्म उपत्यकाको फोहोर व्यवस्थापन सहज नहुने बताए । 

बन्चरेडाँडा ल्यान्डफिल्ड साइट निर्माणमा ढिलाइ
सहरी विकास मन्त्रालयले गत १८ भदौदेखि नै काठमाडौं महानगरपालिकालाई नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडामा फोहोर फाल्न दिने बताए पनि हालसम्म पनि ल्यान्डफिल्ड साइट हस्तान्तरण गरेको छैन । नयाँ ल्यान्डफिल्ड साइट तयार नहुँदा सिसडोलमा फोहोर व्यवस्थान गर्न कठिन हुने गरेको छ । सहरी विकास मन्त्रालयले साइटको काम पूरा नभए पनि फोहोर फाल्न दिने बताएको थियो । 

तर, हालसम्म पनि नयाँ ल्यान्डफिल्ड साइट तयार नहुँदा फोहोर व्यवस्थापनमा समस्या भइरहेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । बन्चरेडाँडामा फोहोर फाल्न थाले पनि उपत्यकामा लामो समय फोहोर व्यवस्थापनको समस्या नहुने उनको भनाइ छ । ‘अहिले फोहोर सिसडोलमै फालिरहेका छौँ, तर त्यहाँ निकै कठिन भइरहेको छ, बन्चरेडाँडामा फोहोर फाल्न अनुमति मागिरहेका छौँ, तर सहरी विकास मन्त्रालयले अनुमति दिएको छैन,’ उनले भने । 

सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदम मैनालीले फोहोर फाल्ने दुईवटा पोखरीमध्ये एउटा पोखरी निर्माण कार्य सकिएको बताए । उनले सो पोखरी महानगरलाई हस्तान्तरण गरे पनि फोहोर नफालेको जानकारी दिए । ‘दुईवटा पोखरीमध्ये एउटा पोखरी निर्माण भइसकेको छ, महानगरलाई हस्तान्तरण पनि गरेका छौँ,’ उनले भने, ‘तर, उहाँहरूले फोहोर फाल्नुभएको छैन ।’ मैनालीका अनुसार आगामी चैतभित्र बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको काम सक्ने लक्ष्य राखिएको छ । हाल बन्दै गरेको ल्यान्डफिल्ड साइटको चारैतिर ड्याम बाँधिएको छ ।

कुन दिन कति उठ्यो फोहोर ?

२८ मंसिर – दुई सय मेट्रिकटन (२५ कन्टेनर)
२९ मंसिर – पाँच सय मेट्रिकटन (३२ कन्टेनर)
१ पुस – दुई सय मेट्रिकटन (१८ कन्टेनर)
२ पुस – आठ सय टन (६ कन्टेनर) 
३ पुस – एक सय मेट्रिकटन (१८ कन्टेनर)
४ पुस – दुई सय मेट्रिकटन (२४ कन्टेनर) 
५ पुस – एक सय मेट्रिकटन (१८ कन्टेनर)
६ पुस – दुई सय मेट्रिकटन (२५ कन्टेनर)
७ पुस – नौ सय टन (७ कन्टेनर)