१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ पौष ६ मंगलबार ०८:४३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दलित युवकको हत्या : दोषीलाई कारबाहीको माग गर्दै परिवार आन्दोलित

Read Time : < 1 मिनेट
२०७८ पौष ६ मंगलबार ०८:४३:००

गोलबजार नगरपालिका–६ दोहटियाका दलित युवक हत्याको विरोधमा आफन्तले सोमबार पनि विरोध प्रदर्शन गरेका छन् । उनीहरूले सोमबार राजमार्ग अवरुद्ध गरे । 

स्थानीय प्रशासनसँग तीनबुँदे लिखित सहमतिपछि आइतबार अवरुद्ध पूर्व–पश्चिम राजमार्ग पाँच घन्टापछि सुचारु भएको थियो । २४ घन्टाभित्र नतिजा देखिने गरी दोषीलाई पक्राउ गरी कानुनी कारबाही गरिने, घाइतेको उपचारको व्यवस्था गरिने र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति दिलाउन सिफारिस गरिने लिखित सहमतिमा सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, गोलबजार नगरपालिकाका मेयर देवनाथ साह र पीडित पक्षबाट शिवशरण सदा, रामप्रसाद सदालगायतले हस्ताक्षर गरेका थिए ।

लिखित सहमतिको कार्यान्वयन नभएको भन्दै पीडित परिवार र स्थानीय दलित मुसहर समुदाय सोमबारदेखि पुनः राजमार्ग अवरुद्ध गरी आन्दोलनमा उत्रेका हुन् । आफूहरूसँग भएको लिखित सहमति कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको शिवशरण सदाले बताए । ‘दलित विपन्नको आवाज शक्ति र पहुँचवालाको आडमा कसैले नसुन्ने अवस्था आयो,’ उनले भने, ‘न्यायको निम्ति हामी सडकमा उत्रिएका छौँ ।’

राजमार्ग अवरुद्ध पारेर आन्दोलनमा उत्रेका पीडित परिवार र स्थानीयले यात्रुहरूको कठिनाइलाई ध्यानमा राख्दै ६ घन्टापछि राजमार्ग सञ्चालन गर्न दिएका थिए । ‘दोषीलाई पक्राउ गर्न प्रहरीलाई मंगलबारसम्मको समय दिएका छौँ,’ शिवशरणले भने, ‘दोषी पक्राउ परेनन् भने अझ सशक्त आन्दोलनमा उत्रिन बाध्य हुन्छौँ ।’ शनिबार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका–६ का १९ वर्षीय रामकुमार सदायको मृत्यु भएको थियो । छुरा प्रहारबाटै निकेश सदाय गम्भीर घाइते भएका छन् । घाइते सदायको धनगढीमाई नगरपालिका–९ मा रहेको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।