१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दिलेन्द्र बडू, मन्त्री कानुन, न्याय तथा संसदीय मामिला
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष ६ मंगलबार ०६:५०:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

प्रमुख प्रतिपक्षसँग प्रधानमन्त्रीको सम्पर्क भइरहेकै छ, चाँडै संसद् खुल्छ : दिलेन्द्र बडू

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष ६ मंगलबार ०६:५०:००

अन्तर्वार्ता

संसद्को कामकारबाही ठप्प हुँदा पनि सरकार किन चुपचाप छ ? 
सबै स्पष्ट नै छ । लामो समयदेखि संसद्को कामकारबाही प्रभावित भएको छ । संसद् सुचारु हुन नसक्नुको प्रमुख कारण प्रमुख प्रतिपक्षी दल एमालेको अवरोध हो । यसबीचमा उहाँहरूको महाधिवेशन पनि थियो, त्यहाँ पनि व्यस्त हुनुभयो । हामी पनि महाधिवेशनमा धेरै व्यस्त भयौँ । अब प्रमुख प्रतिपक्ष एमाले र सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता कांग्रेसलाई पनि फुर्सदै छ । महाधिवेशन सकिएकाले दुवै पक्षले समय निकाल्न सक्छन् । अब संसद् सुचारु गर्नका निम्ति संवादको तयारी हुँदै छ । हामी संवाद गर्छौँ । 

एमालेको माग सम्बोधन कसरी हुन्छ ? 
वार्ता र संवादबाटै सहमति गरेर संसद् चलाउनेबारे सबैजना एकमत नै हुनुहुन्छ । त्यसमा प्रधानमन्त्री पनि प्रतिबद्ध हुनुहुन्छ । विगतमा समयको अभाव थियो । अहिले प्रमुख प्रतिपक्षसँग प्रधानमन्त्रीको सम्पर्क भइरहेकै छ । आफ्नो सम्पर्क सूत्रहरू पनि पुगिरहेका छन् । मलाई लाग्छ– उहाँले संसद् खुलाउने विषयमा महत्वका साथ कुरा राख्नुभएको छ । 

सभामुख र सरकारले प्रतिपक्षलाई बेवास्ता गरे भन्ने एमालेको आरोप छ नि ? 
हामीले बेवास्ता गरेका छैनौँ । बेवास्ता गर्नु पनि भएन । प्रतिपक्ष दलसँग वार्ता र संवादका लागि हामी उत्सुक छौँ । छलफल गर्न चाहिरहेका छौँ । हाम्रो व्यस्तताका कारणले मात्रै समय निकाल्न सकिएको थिएन । अब समय निकाल्ने अवस्था बनेको छ । संवादमार्फत छिट्टै समाधानमा पुग्छौँ र संसद् सुचारु गरिन्छ ।

सधैँभरि विरोध मात्रै हुँदा संसद्को भूमिकामाथि प्रश्न उठ्दैन ?
यो डर सबैलाई हुनुपथ्र्यो । किनभने परिवर्तनका पक्षधर शक्तिहरू कोेही सरकारमा हुनुहुन्छ, कोही प्रतिपक्षमा । संसद्माथि प्रश्न उठ्न र संसद्लाई अनिर्णयमा राख्न दिनुहुँदैन । प्रतिपक्षले पनि जिम्मेवारी बोध गर्छ भन्ने लाग्छ । प्रतिपक्षले संसद् बन्द गरेर आफ्नो भूमिका देखाउने होइन । बरु, जनताका विषय उठाउने हो । राष्ट्रिय राजनीतिको विषय उठाउने हो । आफ्नो दृष्टिकोण स्पष्टसँग राख्ने हो । छलफल गर्ने थलो त संसद् हो । संसद्लाई उपयोग गरेर प्रतिपक्षले आफ्नो सक्रियता देखाओस् । उहाँहरूले संसद् बन्द गर्न आवश्यक थिएन । 

सर्वदलीय बैठकमा एमाले उपस्थित नै नहुने भएपछि एमालेसँग सहमति गर्ने नयाँ विकल्पबारे केही सोचिएको छैन ?
केही ‘रिजर्भेसन’ राखेर आइतबारको सर्वददलीय बैठकमा एमाले नेताहरू उपस्थित हुनुभएन । संसद् चलाउन सरकारले प्रमुख प्रतिपक्षसँग छुट्टै महत्वका साथ छलफल गर्छ ।