मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ पौष ६ मंगलबार ०६:१७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अन्तर्जातीय बिहे गरेका हुम्लाका दलित युवक केटी पक्षबाट अपहरित

Read Time : > 1 मिनेट
२०७८ पौष ६ मंगलबार ०६:१७:००

सात दिनअघि घरमै आएर कुटपिट गर्दै लगेका युवा अहिलेसम्म बेपत्ता

कथित उपल्लो जातकी युवती विवाह गरेका हुम्ला सर्केगाड गाउँपालिका– १ जैरगाउँका युवक चन्द्र कामीलाई केटी पक्षले अपहरण गरी एक सातादेखि गायब पारेको छ । गत बुधबार (२९ मंसिर) राति करिब २० जनाको समूह घरमै आएर निर्घात कुटपिट गर्दै लगिएका चन्द्रको अवस्था प्रहरीले समेत पत्तो पाउन सकेको छैन । 

बेपत्ता युवक चन्द्र कामी

चन्द्रले ५ मंसिरमा मुगुको सोरु गाउँपालिका– ४ लिप्रु गाउँकी सुन्तली मल्लसँग भागीविवाह गरेका थिए । स्थानीयहरूका अनुसार सुरुदेखि नै सुन्तलीको माइती पक्षबाट धम्की आएपछि असुरक्षाका कारण उनीहरू सर्केगाड– २ को रिप गाउँमा बस्दै आएका थिए । तर, पछि घरमै आएर बस्न थालेको थाहा पाएपछि बुधबार राति केटी पक्ष आक्रमणको योजनासहित पुगेको थियो । 

सबै छिमेकीका घरमा बाहिरबाट ताला लगाएर आफ्नो घर तोडफोड गरेको र छोरालाई निर्घात कुटपिट गर्दै बुहारीसहित लिएर गएको चन्द्रका बाबु धनञ्जय कामीले बताए । ‘रातिमा २० जनाजतिको समूह आएको थियो । जैरगाउँका सबै छिमेकीका घरमा ताला लगाएर मेरो घरमा आक्रमण गरे । ढोका, झ्याल र छतका दाँतीहरू भत्काएर भित्र छिरे । हामीलाई नबोल्न धम्की दिँदै छोरालाई निर्घात कुटे । छोरा–बुहारीलाई नै घरबाट लिएर गए । कुट्दै घरबाट लगेको छोरा कहाँ, कुन अवस्थामा छ अत्तोपत्तो छैन,’ धनञ्जयले गुनासो गरे । घटनाको भोलिपल्टै बिहीबार (१ पुस)मा प्रहरीमा जानकारी गराएको उनले बताए । 

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माका अनुसार घरबाट चन्द्रसँगै उठाएर लगिएकी सुन्तली भने माइतीगाउँमै भेटिएकी छिन् । चन्द्रको अवस्था भने अज्ञात रहेको उनले बताए । ‘युवती गाउँमै भेटिएकी छिन्, तर युवकको अझै पत्तो लागेको छैन,’ शर्माले भने, ‘खोजी तीव्र पारिएको छ ।’

प्रहरीले युवतीका बुबालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । जिप्रकाबाट डिएसपी शर्माकै नेतृत्वमा पाँचजना प्रहरी चन्द्रको खोजीमा खटिएका छन् । त्यस्तै, तुम्च, गल्फागाड, श्रीनगर र सर्केगाड चौकीबाट सम्भावित ठाउँहरूमा खोजी गर्न प्रहरी परिचालन गरिएको छ । ‘युवक हालसम्म सम्पर्कमा आउन सकेका छैनन् । तर, केटीको बुबालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । एक–दुई दिनमै केटाको अवस्था पत्ता लाग्ला,’ डिएसपी शर्माले भने । 

धनञ्जयले भने प्रहरीलाई खबर गरेको पाँच दिन बितिसक्दा पनि छोराबारे कुनै खबर प्राप्त नहुँदा तनाव बढेको बताए । दोषीलाई पक्राउ गरेर कारबाही गरी छोरा–बुहारीलाई न्याय दिलाउन उनले प्रहरीसँग आग्रह गरेका छन् ।

भागीविवाह गरेका चन्द्र र सुन्तली दुवै १९ वर्षका रहेको प्रारम्भिक सोधखोजमा खुलेको प्रहरीले जनाएको छ । २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भन्दै कानुनले रोक लगाएको छ । तर, बालविवाहको हकमा प्रहरीले अनुसन्धान गरी कानुनले फैसला गर्ने न्यायिक प्रक्रिया हुँदाहुँदै जातको नाममा केटी पक्षले उनीहरूको प्रेममाथि ज्यादती मात्रै गरेको छैन, दलित युवकलाई निर्घात कुटेर बेपत्तासमेत पारेको छ ।