१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
श्रवण थापा सर्लाही
२०७८ पौष ५ सोमबार ११:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय तहको ढिलाइले सर्लाहीमा बालबालिकाले पाएनन् कोरोनाको खोप

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ पौष ५ सोमबार ११:१३:००

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने भनिएकोे कोरोना भाइरसविरुद्धको खोप सर्लाहीमा प्रभावित भएकोे छ। स्थानीय तहले समयमै विवरण उपलब्ध नगराएपछि आइतबारबाट यो उमेर समूहकालाई दिने भनिएको कोभिड– १९ विरुद्धको खोप सर्लाहीमा प्रभावित भएको हो। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्लाहीसहित एकसाथ ५७ जिल्लामा खोप दिने तयारी गरेको थियो।

सोहीअनुसार जिल्लाका २० वटै पालिकासँग यसअघि नै लाभग्राहीको सूची माग गरिएको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ। तर, हालसम्म सातवटा पालिकाले मात्र लाभग्राहीको विवरण पठाएको कार्यालयका निमित्त प्रमुख डा. नवलकिशोर झाले जानकारी दिए। झाका अनुसार स्थानीय तहले नै कोरोनाविरुद्धको खोपमा चासो नदिएका हुन्। 

यसअघि भएको निर्देशनअनुसार देशका अन्य जिल्लामा आइतबारदेखि मोडर्नाको पहिलो मात्रा दिन सुरु गरिएको छ। विभिन्न प्राविधिक कारणले समयमै सुरु गर्न नसकेको खोप कार्यक्रम समया नै सम्पन्न गर्ने डा. झाले दाबी गरे। ‘कोरोनाको खोप सामान्य सवारीमा ढुवानी गर्न मिल्दैन। फ्रिजको व्यवस्था भएको गाडीबाट एकसाथ सबैतिर पठाउन समय लाग्छ,’ उनले भने, ‘स्थानीय तहले विवरणमा ढिलाइ गर्दा झन् ठूलो समस्या भएको छ।’ सबै लाभग्राहीलाई समयमै खोप सेवा प्रदान गर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

यता आइतबारबाट सुरु हुने भनिएको खोप कार्यक्रम खोप नआएपछि विद्यार्थी र अभिभावकहरूमा अन्योल छाएको छ। समयमै कार्यक्रम सुरु नभएकोले खोप लगाउन नपाउने हो कि भन्ने चिन्ता लागेको विद्यार्थीले बताए। स्थानीय तहहरूले भने उमेर समूहअनुसार लाभग्राहीको विवरण तयारी गर्ने क्रममा रहेकाले छिटै स्वास्थ्य कार्यालयलाई बुझाउने जनाएका छन्। कोरोना खोप नलगाएकाहरूमा  फैलँदो क्रममा रहेको ओमिक्रोन भेरिएन्टको जोखिमसमेत रहेकोले यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ।