मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ पौष ४ आइतबार १६:१३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाख्रापालनबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान

Read Time : > 1 मिनेट
२०७८ पौष ४ आइतबार १६:१३:००

सल्यानको कालिमाटी गाउँपालिका– १ लक्ष्मीपुरका  दीपेन्द्र रेउलेले गाउँमा सुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । धेरै युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा रेउले भने स्वदेशमै राम्रो आम्दानी गर्दै राम्रो उदाहरण बन्न सफल भएका हुन् । 

स्थानीय र उन्नत जातका गरी ८० वटा बाख्रा पाल्दैै आएका उनले पैसा कमाउनकै लागि विदेश जानु नपर्ने बताए । स्थानीय जातको भन्दा बोयर जातका बाख्राबाट राम्रो आम्दानी हुँदै आइरहेको उनको भनाइ छ । ‘बाख्रापालनबाट राम्रो आम्दानी हुँदोरहेछ,’ उनले भने, ‘गाउँघरमै उद्यम गर्दा परिवारसँगै बस्न पाइएको छ ।’ दीपेन्द्र व्यावसायिक बाख्रा फर्म सञ्चालन गर्दै आएका रेउलेले आफू बाख्रापालनबाट निकै खुसी भएको बताए । 

यस्तै, कालिमाटी गाउँपालिका– ४ सालटाकुराका दुर्गाबहादुर खत्रीले पनि व्यावसायिक बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । स्थानीय खरी जातका बाख्रा पाल्दै आएका खत्रीले वार्षिक चार लाख आम्दानी भइरहेको बताए । सुरुका वर्षमा लगानी उठाउन गाह्रो भए पनि अहिले भने सबै खर्च कटाएर चार लाख आम्दानी हुँदै आइरहेको उनको भनाइ छ । 

लकडाउनका समयमा बजार बन्द हुँदा बजारीकरणमा समस्या भए पनि अहिले बजारको कुनै समस्या नभएको खत्रीको भनाइ छ । व्यापारीहरू नै घरघरमा किन्न आउने भएकाले बिक्री–वितरण गर्न समस्या नभएको उनले बताए ।उनले भने, ‘बाख्रापालनबाट आएको आम्दानीले घरखर्चदेखि छोराछोरी पढाउनेसम्म यसैबाट गर्छु ।’ घरका सबै सदस्य व्यवसायमा संलग्न रहेको बताउँदै उनले अब स्थानीय जातका बाख्रालाई बिस्तारै विस्थापित गर्दै उन्नत जातका थप्ने सोच बनाएको बताए । पछिल्लो समय बढ्दै गएको बेरोजगारीका समस्यालाई समाधान गर्न आफ्नो ठाउँ र सोअनुसारको वातावरणमा लगानी गर्न सके आत्मनिर्भरता बढ्दै जाने उनी बताउँछन् । 

जिल्लाबाट महिनामा दुई सयदेखि तीन सयसम्म खसी–बोका जिल्लाबाहिर निर्यात हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार सल्यानमा झन्डै चार लाख बाख्रा रहेका छन् ।