मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ पौष ४ आइतबार ०९:०८:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

काठमाडौंमा मात्रै दैनिक ७० गीत रेकर्डिङ 

Read Time : > 2 मिनेट
२०७८ पौष ४ आइतबार ०९:०८:००

संगीतकार संघ नेपालका अनुसार काठमाडौंमा ७० भन्दा बढी गीत रेकर्डिङ स्टुडियो छन् । संघले गरेको अध्ययनअनुसार दुई वर्षअघिसम्म काठमाडौंमा ६० वटा स्टुडियो थिए । यसबीचमा १० वटा थपिएका छन् ।

जिटल प्लेटफर्मको व्यापकताले नेपाली गीत–संगीत क्षेत्रलाई व्यस्त बनाएको छ । जसले गायक, लेखक र कलाकारलाई मात्रै होइन, काठमाडौंमा रहेका हरेकजसो रेकर्डिङ स्टुडियोले समेत दिनको कम्तीमा एउटा गीत रेकर्ड गरिरहेका छन् ।

संगीतकार संघ नेपालका अनुसार काठमाडौंमा ७० भन्दा बढी गीत रेकर्डिङ स्टुडियो छन् । संघले गरेको अध्ययनअनुसार दुई वर्षअघिसम्म काठमाडौंमा ६० वटा स्टुडियो थिए । यसबीचमा १० वटा थपिएका छन् । यहाँका हरेक स्टुडियोले दिनमा कम्तीमा पनि एउटा गीत रेकर्ड गर्ने संघको भनाइ छ । रेकर्ड भएकामध्ये दैनिक कम्तीमा १० वटा रिलिजसमेत हुन्छन् । अहिले लोक फ्युजनका गीत बढी रेकर्ड हुने गरेको छ ।

दिनकै आठवटासम्म  गीत रेकर्ड गर्छौं : शम्भु कुँवर मालाश्री स्टुडियो, प्रबन्ध निर्देशक 
हाम्रो स्टुडियोमा दिनको सात–आठवटासम्म गीत रेकर्ड हुन्छ । अहिले गीत–संगीतको सिजन नभएकाले चाप कम भएको हो, नत्र त दिनको १० भन्दा बढी गीत रेकर्ड हुन्थ्यो । दैनिक दुईवटा गीत फाइनल गर्छाैं ।

हाम्रोमा प्रायः लोकदोहोरी गीत रेकर्ड हुन्छ । देउडा गीत पनि रेकर्ड हुन्छ । आधुनिक र पप गीत अलि कम रेकर्ड हुन्छ । नाम चलेकादेखि भर्खर गीत–संगीतमा लागेका कलाकारहरू पनि गीत रेकर्ड गर्न आउँछन् । एउटा गीत रेकर्ड गरेको १० हजार लिने गरेका छौँ । 

महिनामा २० वटासम्म रेकर्ड गर्छौं : आशिष अविरल अध्यक्ष, रागा स्टुडियो 
हाम्रो स्टुडियोमा महिनामा २० वटासम्म गीत रेकर्ड हुन्छ । ‘प्रोसेस’ लामो हुने भएकाले फाइनल हुन अलि समय लाग्छ । तर पनि दिनको एउटा गीत त फाइनल गर्छौं ।

हाम्रोमा लोक फ्युजन गीत बढी रेकर्ड हुन्छन् । आधुनिक र पप गीत पनि रेकर्ड हुन्छ । चलचित्रका गीतमा पनि फाट्टफुट्ट गीत रेकर्ड हुन्छ । यहाँ व्यावसायिक रूपमा कलाकारितालाई अँगालेकाहरू मात्रै आउनुहुन्छ । नयाँ पनि आउँछन् । 

कुनै दिन खाली हात बस्नुपरेको छैन : श्यामश्वेत रसाइली  प्रबन्ध निर्देशक, प्रिज्मा रेकर्डिङ स्टुडियो 
कुनै दिन खाली हात बस्नुपरेको छैन । यो क्षेत्रमा काम गर्न थालेको १९ वर्ष भयो । हाम्रोमा प्रायः डान्सिङ नम्बरका गीतहरू रेकर्ड हुन्छन् । अन्य गीत पनि फाट्टफुट्ट रेकर्ड हुन्छ । हामीले स्टुडियो शुल्क १६ देखि २० हजारसम्म लिने गरेका छौँ । 

यति नै रेकर्ड हुन्छ भन्ने हुँदैन : प्रताप दास, गायक 
मेरो आवाजमा महिनामा १० देखि १५ वटा गीत रेकर्ड हुन्छ । कहिलेकाहीँ खाली पनि बस्नुपर्छ, कहिले दिनकै चारवटासम्म पनि गीत रेकर्ड भएका छन् । यति नै रेकर्ड हुन्छ भन्ने हुँदैन । गीतको शब्दभन्दा पनि राम्रो टिम छ भने काम गर्छु ।

हुन त गीतको शब्द छनोट गर्ने मेरो वेला भएको छैन । गीत–संगीतमा अझै धेरै सिक्नु छ । गीत–संगीत मेरो ‘प्यासन’ हो । त्यसैले मैले राम्रो काम गर्नुपर्छ । संगीतकै समुद्रमा पौडिरहेको छु । गीत–संगीतमै रमाइरहेको छु । आफैँलाई निखार्ने कोसिस गरिरहेको छु । 

मेरो पेसा गीत–संगीत नै हो : शान्तिश्री परियार, गायिका
महिनामा ३० देखि ४५ वटासम्म गीत रेकर्ड भएका छन् । पछिल्लो समय गीतको शब्द हेरेर मात्रै गीत गाउने गरेकी छु । पछिल्लो समय शब्द छनोट गरेर गीत गाउने गरेकी छु । राम्रो शब्द भयो भने मात्रै गीत गाउँछु । 

मैले व्यावसायिक धर्म पनि निभाउनुपर्छ । मेरो पेसा गीत–संगीत नै हो । अहिले कतिपय गीत–संगीतमा रहरले पनि आएका छन् । मेरो हकमा गीत–संगीत रहर होइन, प्यासन हो । त्यसैले राम्रो काम गर्नुपर्छ भन्ने लाग्छ ।

दिनको चारवटासम्म गीत गाएकी छु : अस्मिता अधिकारी, गायिका 
महिनामा कम्तीमा पनि १५ वटा गीत गाएकी छु । कहिलेकाहीँ दैनिकजसो पनि रेकर्ड हुन्छ । दिनको चारवटासम्म पनि गीत रेकर्ड गरेको अनुभव छ । कुनै दिन नहुन पनि सक्छ । तर, महिनामा कम्तीमा १५ भन्दा बढी गीत रेकर्ड गर्छु । 

नेपाली गीत–संगीतमा पाइला टेक्दै गरेको ठान्छु । अझै धेरै सिक्नु छ । पछिल्लो समय भने गीतको कम्पोजिसन पनि हेरेर गाउन थालेकी छु । तर, धेरै चुजी भने होइन । दर्शक–श्रोताले पनि मन पराइदिनुभएको छ । यसैमा खुसी छु ।