मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २ शुक्रबार २१:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्यटन बोर्डको सिइओ रेग्मी निलम्बित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २ शुक्रबार २१:५४:००

नेपाल पर्यटन बोर्डले सिइओ डा. धनञ्जय रेग्मीलाई निलम्बन गरेको छ । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा शुक्रबार साँझ बसेको सञ्चालक समितिकोे बैठकले सिइओ रेग्मीमाथि छानबिन गर्न उपसमिति गठन गर्दै रेग्मीलाई निलम्बन गरेको हो ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । तीन सदस्यीय समितिमा दुईजना मन्त्रालयबाट सिफारिस भएका व्यक्ति रहने छन् । रेग्मीलाई निलम्बन गरेसँगै कार्यबाहक सिइओको जिम्मेवारी नन्दिनी लाहे थापालाई दिइएको छ । योगेश भट्टराई पर्यटनमन्त्री हुँदा रेग्मीलाई पर्यटन बोर्डको सिइओ नियुक्त गरिएको थियो । 

रेग्मीले विदेशबाट फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई दुर्व्यवहार गरेको र बोर्डको हितविपरीत काम गरेको गुनासो आएपछि छानबिन गर्न सञ्चालक समितिले समिति बनाएको हो । छानबिन प्रभावित नहोस् भनेर रेग्मीलाई निलम्बन गरिएको पर्यटन बोर्डले जनाएको छ । 

गत तिहारको भाइटीकाका दिन रेग्मीले लन्डनबाट फर्किंदा ल्याएको ६ बोतल मदिरा भन्सार नियमविपरीत भएकाले कर्मचारीले रोकेका थिए । तर, रेग्मीले उल्टै भन्सारका नायब सुब्बा सुमन थापालाई दुर्व्यवहार गरेका थिए । त्यसवेला रेग्मीलाई भन्सार प्रशासनले पाँच हजार जरिवानासमेत गरेको थियो । यो अधिकतम जरिवाना भएको भन्सार प्रशासनले जनाएको छ ।