१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मञ्जु टेलर काठमाडौं
२०७८ पौष २ शुक्रबार ०८:५४:००
Read Time : > 3 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

फाइजरको चक्की औषधि कोरोना संक्रमणविरुद्ध ९० प्रतिशत प्रभावकारी 

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ पौष २ शुक्रबार ०८:५४:००

यो चक्की संक्रमण पुष्टि भएको केही समयपछि एन्टिभाइरल रिटोनाभिरसँग प्रत्येक १२ घन्टामा पाँच दिनसम्म लिनुपर्छ

फाइजरले उत्पादन गरिरहेको कोरोना भाइरसविरुद्धको चक्की (औषधि) संक्रमणविरुद्ध ९० प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ । क्लिनिकल ट्रायलको अन्तिम चरणमा रहेको उक्त चक्कीले अस्पतालमा बिरामी भर्नादर र मृत्युदर घटाएको औषधि उत्पादक कम्पनीको दाबी छ ।

कम्पनीले गत महिना करिब १२ सय जनामा गरेको ट्रायलको अन्तरिम नतिजाको आधारमा प्लेसबोको तुलनामा अस्पताल भर्ना वा मृत्यु रोक्न ८९ प्रतिशत प्रभावकारी भएको जनाएको थियो । मंगलबार फाइजरले अन्तिम परीक्षणमा थप एक हजार व्यक्ति समावेश गरेको जनाएको हो । चक्की नयाँ भेरियन्ट ‘ओमिक्रोन’विरुद्ध पनि प्रभावकारी रहेको जनाइएको छ ।

प्लेसबोको तुलनामा फाइजर चक्की लिएका व्यक्तिहरूमा मृत्युदर शून्य रहेको पाइएको थियो । जब कि प्लेसबो लिने १२ जनाको परीक्षण अवधिमा मृत्यु भएको थियो । लक्षणहरू देखापरेको केही समयपछि यो चक्की एन्टिभाइरल रिटोनाभिरसँग प्रत्येक १२ घन्टामा पाँच दिनसम्म लिन सकिन्छ । औषधि प्रयोगका लागि स्वीकृत भए ‘प्याक्सोलोभिड’ नामले बिक्री गरिनेसमेत कम्पनीले बताएको छ । फाइजरका प्रमुख अधिकारी वैज्ञानिक मिकेल डोल्स्टनले यो आश्चर्यजनक नतिजा भएको बताएका छन् । उनले भनेका छन्, ‘अस्पताल भर्नादर र मृत्युदर नियन्त्रणको नतिजाले हामी उत्साहित बनेका छौँ । यदि संक्रमणपछि तुरुन्तै प्रयोगमा ल्याउन सम्भव भए नाटकीय रूपमा संक्रमण नियन्त्रणमा आउने सम्भवना छ ।’

‘मोल्नुपिराभिर’ बाट निराशा
कोभिड संक्रमणविरुद्ध परीक्षणको अन्तिम चरणमा रहेको ‘मोल्नुपिराभिर’ चक्कीको अन्तिम नतिजा निराशाजनक देखिएको छ । ‘मोल्नुपिराभिर’लाई सुरुवातमा महामारीको गेम–चेन्जरका रूपमा लिएको थियो । तर, परीक्षण अवधिमा चक्कीको प्रभावकारिता निकै कम देखिएपछि अमेरिकी फुड तथा ड्रग एडमिन्ट्रेसनले स्वीकृत गर्नसमेत अस्वीकार गरेको जनाइएको छ ।

औषधि उत्पादन कम्पनी मर्कले उत्पादन गरिरहेको ‘मोल्नुपिराभिर’ औषधिले प्रारम्भिक चरणमा अस्पताल भर्नादर ३० प्रतिशतले घटाएको दाबी गरेको थियो । तर, फाइजरपछि आशा गरिएको औषधि कमजोर देखिनु राम्रो संकेत नभएको विज्ञहरूको टिप्पणी छन् । मर्कले युरोप र अमेरिकामा क्लिनिकल ट्रायल गरिरहेको छ । कम्पनीका अनुसार मे र अगस्टमा सात सय ६२ जनामा प्रारम्भिक परीक्षण गरिएको थियो । जुन सुरुमा लगातार पाँच दिनसम्म दिनमा दुईपटक एन्टिभाइरल वा प्लेसबोको चार चक्की समावेश गरिएको थियो । अगस्ट र अक्टोबरमा गरेको दोस्रो ट्रायल परीक्षणमा ६ सय ४६ जना समावेश थिए । अन्तिम चरणको नतिजा भने निकै कमजोर देखिएको उल्लेख छ ।

बायोटेक्नोलोजी कम्पनी ‘रिजब्याक बायोथेराप्युटिक्स’ले समेत कोभिडविरुद्धको एन्टिभाइरलमा क्लिनिकल ट्रायल गरिरहेको छ । खोप निकै महँगो र सर्वसुलभ नहुँदा उपचारमा कठिनाइ भइरहेका कारण एन्टिभाइरल औषधि विश्वभरका वैज्ञानिकहरूको उच्च प्राथमिकतामा छ ।

ओमिक्रोनलाई बेवास्ता नगर्न डब्लुएचओको आग्रह

हालसम्मकै सबैभन्दा उच्च संक्रामक देखिएको ओमिक्रोन भेरियन्टलाई बेवास्ता गरिएकोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले हालसम्म ७७ वटा देशमा पुष्टि भइसकेको भेरियन्ट पहिले नै फैलिइसकेको हुन सक्ने भएकाले बेवास्ता गरिँदा अर्को लहरको जोखिम रहेको चेतावनी दिएको छ । ओमिक्रोन भेरियन्ट अझै धेरै देशमा हुन सक्ने, तर पत्ता लगाउन नसकिएको हुन सक्ने डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको चेतावनी छ । उनले भनेका छन्, ‘ओमिक्रोन त्यो दरमा फैलिइरहेको छ, जुन यसअघिका संस्करणमा हामीले देखेका समेत थिएनौँ । अझै पनि हामी घातक नभएको भन्दै बेवास्ता गरीरहेका छौँ ।’

डब्लुएचओका अधिकारीले भनेका छन्, ‘ओमिक्रोन तीव्र रूपमा फैलिरहेकाले पुनः एकपटक मानव स्वास्थ्य प्रणालीलाई ओझेलमा पार्न सक्छ ।’ ओमिक्रोनले अर्को संकट निम्त्याउने जोखिम बढाए भन्दै डब्लुएचओ र युएन एजेन्सीले कोभिडविरुद्धको बुस्टर डोजमा तीव्रता दिनसमेत आग्रह गरेको छ । ओमिक्रोन संक्रमण बिस्तारै घातकसमेत बन्दै गएको विज्ञहरूले बताउन थालेका छन् । बेलायतमा ओमिक्रोनबाट एकजनाको मृत्यु भइसकेको छ भने १० जना गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका छन् । यसबाहेक भ्याक्सिनको पूर्ण मात्रा लगाएका व्यक्तिहरू पनि ओमिक्रोनबाट प्रभावित भइरहेको र अस्पताल भर्नादर बढेको समेत डब्लुएचआले कोभिड ब्रिफिङमा जनाएको छ ।

मुम्बईमा दुई साता निषेधाज्ञा
ओमिक्रोन भेरियन्टका संक्रमित बढ्दै गएपछि भारतको व्यापारिक केन्द्र मुम्बईमा दुई साता निषेधाज्ञाको घोषणा गरिएको छ । मुम्बई प्रहरीका अनुसार क्रिसमस र नयाँ वर्ष नजिकै आएकोले भिडभाडको जोखिम हुने भन्दै १६ देखि ३१ डिसेम्बरसम्म निषेधाज्ञा जारी गरेको हो ।

बिहिबारदेखि सुरु भएको निषेधाज्ञा पालना नगरे कडा कारबाही गर्ने मुम्बई प्रहरी निरीक्षण नासिर कुलकर्नीले बताएका छन् । बुधबार एकैदिन सातजनामा ओमिक्रोन पुष्टि भएपछि निषेधाज्ञा गरेको प्रशासनले जनाइएको छ ।

निषेधाज्ञाभर ठूला जमघट गर्न नपाइने, सार्वजनिक भेटघाटमा पाँचजनाभन्दा बढी सहभागी हुन नपाउने र समारोह वा कार्यक्रम गर्दा ५० प्रतिशत क्षमताअनुसार सहभागी गराउनुपर्ने र आयोजकले पूर्ण कोरोना खोप लगाएको हुनुपर्नेछ । यस्तै महाराष्ट्रमा आउनेले समेत पूर्ण खोप लगाएको हुनुपर्ने र ७२ घन्टाभित्रको नेगेटिभ पिसिआर रिपोर्ट देखाउनुपर्नेछ । निषेधाज्ञा अवधिमा पसल, मल, समारोह वा जमघटमा सहभागी र सार्वजनिक सवारीमा यात्रा गर्ने मानिसले समेत पूर्ण खोप लगाएको हुनु पर्नेछ । भारतमा हालसम्म ७३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

भारतमा केही दिनयता कोरोना संक्रमण पुनः उकालो लागेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार सात हजार नौ सय ७४ नयाँ संक्रमित थपिएका छन् । बुधबार ६ हजार नौ सय ८४ जनामा संक्रमण देखिएको थियो भने मंगलबार पाँच हजार सात सय ८४ जनामा संक्रमण देखिएको थियो ।