मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
हिमाल पौडेल काठमाडाैं
२०७८ पौष २ शुक्रबार ०७:५६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बिरासतले नभई संघर्षले बनेका नेता

Read Time : > 2 मिनेट
हिमाल पौडेल, काठमाडाैं
२०७८ पौष २ शुक्रबार ०७:५६:००

०४६ मा तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध देशभर आन्दोलनको शंखघोष थियो । कांग्रेस र वामपन्थी दलहरू पञ्चायतलाई घुँडा टेकाउन संयुक्त आन्दोलनमा थिए । दलहरूको आह्वानमा सडक तात्दै थियो । १३ वर्षीय किशोर हातमा चारतारे झन्डा बोकेर सडक–सडक दौडन्थ्यो । ती किशोर थिए, गगन थापा । ०३३ मा काठमाडौंमा जन्मिएका थापा सिद्धार्थ वनस्थली स्कुलमा ९ कक्षामा पढ्दै गर्दा ०४६ को जनआन्दोलनमा सहभागी भएका थिए । सानैमा देखापरेको यो राजनीतिक चेत उमेरसँगै हुर्कँदै गयो । विश्वविद्यालय शिक्षा अध्ययन गर्न उनी त्रिचन्द्र क्याम्पस भर्ना भए । ०५१ मा स्ववियु सदस्य भएका थापा ०५३ मा सचिव भए । वाकपटुतामा प्रखर उनी ०५५ मा स्ववियु सभापति बने । 

यसपछि थापाको राजनीतिक यात्राले थप गति लियो । ०५७ मा विश्वप्रकाश शर्मा नेविसंघ सभापति हुँदा उनी उपसभापति बने । ०५९ देखि ०६१ सम्म महामन्त्री भए । १८ असोज ०५९ मा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी प्रतिनिधिसभा भंग गरेपछि लोकतान्त्रिक आन्दोलनको अंग्रभागमा उभिए । गिरिजाप्रसाद कोइरालाले नेविसंघका तत्कालीन सभापति गुरु घिमिरे र महामन्त्री थापालाई पार्टीको एजेन्डाविपरीत गणतन्त्रको वकालत गरेकोे भन्दै बर्खास्तसमेत गरेका थिए । थापा ०५९ देखि ०६१ सम्म पटक–पटक पक्राउ परे । उनलाई ०६० र ०६१ मा राज्यद्रोहको मुद्दासमेत लाग्यो । १९ जेठ ०६१ मा ज्ञानेन्द्रले सैनिक ‘कु’मार्फत सम्पूर्ण सत्ता हातमा लिएपछि प्रत्येकजसो आन्दोलनका उनी अग्रमोर्चामा उभिए । सात राजनीतिक दल र सशस्त्र संघर्ष गरिरहेको नेकपा (माओवादी)बीच भएको १२ बुँदे सहमतिपछि १९ दिनसम्म चलेको जनआन्दोलनले एकातिर, राजनीतिक व्यवस्थामा फेरबदल ल्यायो, अर्कोतिर, थापाको राजनीतिक जीवनमा फड्कोे । 

०६४ चैतमा सम्पन्न संविधानसभाको निर्वाचनपछि उनको संसदीय राजनीतिको यात्रा सुरु भयो । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ०६४ मा थापालाई समानुपातिक सांसद बनाए । गणतन्त्रको नारा लगाएबापत दण्डित गरेका तिनै कोइराला केही वर्षको अवधिमै थापालाई संविधानसभामा भिœयाउन बाध्य भए । संविधानसभाले संविधान बनाउन मुख्य कार्यभार भने पूरा गर्न सकेन । त्यसैले ४ मंसिर ०७० मा संविधानसभाको दोस्रो निर्वाचन भयो । निर्वाचनमा उनी काठमाडौंको ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षबाट निर्वाचित भए । व्यवस्थापिका संसद्कोसमेत जिम्मेवारीमा रहेको संविधानसभामा उनले कृषि तथा जलस्रोत समितिको सभापतिको भूमिका निभाए । त्यो संविधानसभाले ३ असोज ०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी ग¥यो । संविधानसभा व्यवस्थापिका संसद्मा रूपान्तरण भयो । 

पार्टी राजनीतिमा पनि उनको प्रभाव बढ्दै थियो । ०६७ असोजमा भएको १२औँ महाधिवेशनमा दोस्रो लोकप्रिय मत ल्याउँदै उनी पार्टीको केन्द्रीय सदस्य निर्वाचित भए । ०७२ फागुनमा भएको पार्टीको १३औँ महाधिवेशनमा उनले तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिए । तर, पराजित भए । 

०७३ मा केपी ओली नेतृत्वको सरकार ढलेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने । त्यो सरकारमा थापाले पहिलोपटक देशको राजकीय जिम्मेवारी सम्हाल्ने मौका पाए । स्वास्थ्यमन्त्री बनेका थापाले नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याए । यसले उनलाई निकै लोकप्रिय बनायो । यस्तै, प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पतालको अवधारणा ल्याए । तर, प्रचण्ड नेतृत्वको सरकार फेरबदल भएकाले उनले सो कार्यक्रम कार्यान्वयन गराउन पाएनन् । 

संविधान जारी भएपछि ०७४ मा पहिलोपटक भएको आमनिर्वाचनमा उनी पुनः काठमाडौं ४ बाट निर्वाचित भए । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले गठबन्धन बनाएर लडेको सो निर्वाचनमा कांग्रेसले देशैभर ठूलो धक्का खायो । तर, थापा विजयी हुँदै तेस्रोपटक संसद् पुगे । प्रभावशाली भाषणकला भएका थापाले केपी शर्मा ओली नेतृत्वको सरकारका अधिकांश गलत कदमहरूमाथि खबरदारी गर्दै प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गरिरहे । अहिले उनकै पार्टीको नेतृत्वमा सरकार छ । तर, सरकारका गलत कामको विरोध गर्न उनी प्रतिपक्षी दलभन्दा खरो उत्रने गरेका छन् । 

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका थापा शिक्षित नेताहरूमा पर्छन् । उनले हार्वर्ड विश्वविद्यालयको हार्वर्ड केनेडी स्कुलबाट ‘ग्लोबल लिडरसिप एन्ड पब्लिक पोलिसी’को अध्ययन गरेका छन् भने सिंगापुरको विश्वविद्यालयबाट सहरी विकाससम्बन्धी अध्ययन पनि गरेका छन् । यसरी नेपालको राजनीतिक आलोकमा उदाएका गगन थापा पार्टीको १४औँ महाधिवेशनमा अत्यधिक मतसहित कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका छन् ।