१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १ बिहीबार ०८:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीका लागि प्रयोग हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १ बिहीबार ०८:२५:००

फ्लाई दुबईको उडानबाट बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका भारतीय नागरिक ३५ वर्षीय इर्साद अहमदको गतिविधि असामान्य देखियो । प्रहरीले गुप्त ढंगबाट उनलाई पछ्याइरह्यो । जब उनी आगमन कक्षमा प्रवेश गरे, उनको गतिविधि झनै शंकास्पद देखियो । पछ्याइरहेका प्रहरीले उनलाई तत्काल पक्राउ गर्‍यो । खनतलासीपछि उनको साथबाट तरल पारिएको पहेलो धातु बरामद भयो । परीक्षणपछि खुल्यो, तरल पदार्थ सुन रहेछ, जसलाई उनले प्लास्टिकमा पोको पारेर ल्याएका थिए ।

बुधबार फ्लाई दुबईकै उडानबाट ३२ वर्षीय भारतीय नागरिक मोहम्मद साहिद इब्राहिम सेख त्रिभुवन विमास्थल उत्रिए । गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई पनि निगरानीमा राख्यो । जब उनी आगमन कक्षमा प्रवेश गरे, प्रहरीले पक्राउ गरिहाल्यो । खनतलासी गर्दा केही भेटिएन । तर, गतिविधि शंकास्पद नै देखिएपछि प्रहरीले उनलाई एक्सरे मेसिनमा लग्यो । परीक्षण गर्दा उनको मलद्वारमा शंकास्पद वस्तु देखियो । प्रहरीले उनलाई शौच गरायो । मलद्वारमा लुकाइएको वस्तु सुन रहेको तथ्य खुल्यो । 

नेपाल एयरलाइन्सको उडान हुँदै दुबईबाट गत बिहीबार भारतीय नागरिक साथम हुसेन सेगु अबुबाकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए । उनको पनि गतिविधि शंकास्पद देखिएपछि प्रहरीले निगरानी बढायो । प्रहरीले उनलाई आगमन कक्षसम्म विनाअवरोध आउन दियो । जब उनी बाहिरिन थाले, प्रहरीले नियन्त्रणमा लिँदै खनतालसी गर्‍यो । केही नभेटिएपछि प्रहरीले उसलाई एक्सरे मेसिनमा लग्यो । परीक्षण गर्दा उनको मलद्वारमा केही शंकास्पद वस्तु देखियो । शौचपछि सुन रहेको खुल्यो ।

गत शुक्रबार भारतीय नागरिक ५० वर्षीय सिराजमदपत बापुटी दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए । उनको गतिविधि पनि शंकास्पद नै थियो । उनी प्रहरीको उच्च निगरानीमा थिए । सिराज विमानस्थलको आगमन कक्षबाट बाहिरिएर अन्तरिक उडानतर्फको कक्षमा पुगे । बाराको सिमरा जान गुण एयरको टिकट काटे । प्रहरीले झोला चेकजाँच गर्ने क्रममा उनीबाट सुनका तीनवटा बिस्कुट बरामद गर्‍यो । 

एक सातायता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका चारैजना भारतीय नागरिक हुन् । उनीहरू सबै दुबईबाट काठमाडौं झरेका हुन् । पछिल्लो समय भारतीय नागरिकले सुन तस्करीका लागि नेपालको विमानस्थल प्रयोग गर्दै आएका छन् । यो तथ्यलाई विमानस्थल सुरक्षाका लागि खटिने नेपाल प्रहरीअन्तर्गतको विमानस्थल सुरक्षा गार्डका एसपी नान्तीराज गुरुङ पनि स्विकार्छन् । ‘केही महिनाको बीचमै हामीले सुन तस्करीमा संलग्न धेरै भारतीय नागरिकलाई पक्राउ गर्‍यौँ । उनीहरू सबै दुबईबाट आएका थिए । उनीहरू जान खोजेको मुलुक भारत थियो । सुन तस्करीमा भारतीय नागरिकले हाम्रो विमानस्थल प्रयोग गर्ने गरेको घटनाले देखाउँछ,’ उनले भने ।

सुन तस्करीमा बंगलादेशी नागरिक पनि
दुबईको सुन नेपालको बाटो हुँदै तस्करी गर्नेमा बंगलादेशी नागरिक पनि रहेको खुलेको छ । भारतीय नागरिकलाई निगरानी गर्ने क्रममा विमानस्थलस्थित प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो । डेढ महिनाको अवधिमा विमानस्थलबाट पाँच बंगलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तोहिदुल तनभिर, युनुस अली, शोभनता लुक्दर, जहिदुल स्लाम र मिराजुल स्लाम छन् । उनीहरूबाट प्रहरीले एक करोडभन्दा धेरै मूल्यबराबरको १०८.८१३ तोला (१.३११ किलो) सुन बरामद गरेको छ । हिमालयन एयरको उडानबाट उनीहरू दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका थिए ।