१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १ बिहीबार ०६:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाली उत्पादनलाई बंगलादेशमा सहज प्रवेश दिन परिसंघको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १ बिहीबार ०६:०९:००

नेपाल उद्योग परिसंघले नेपाली उत्पादनलाई बंगलादेशको बजारमा सहज पहुँच उपलब्ध गराउन बंगालदेशसँग आग्रह गरेको छ । परिसंघले गैरकर अवरोध हटाई राजस्वमा न्यून दर लगाएर नेपालको कृषि एवं अन्य उपभोग्य वस्तुहरूको सहज पहुँच स्थापित गरिदिन बंगलादेशी उच्च अधिकारीसँग आग्रह गरेको हो । ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (डिसिसिआई)मा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको जनघनत्वअनुसार ठूलो मात्रामा उपभोग्य वस्तुको आवश्यक पर्ने भएकाले नेपालबाट त्यस्ता वस्तुको आयातमा सहजता एवं सुविधा दिन आग्रह गरे । उनले नेपालका कृषि उत्पादनहरूका लागि बंगलादेश राम्रो बजार भएकाले त्यस्ता वस्तुको विनाअवरोध निर्यातको सुविधा दिन पनि बंगलादेशी अधिकारीहरूलाई आग्रह गरेका हुन् । 

कार्यक्रममा नेपालमा बंगलादेशी पर्यटक भित्र्याउने सम्भाव्य क्षेत्रबारे पनि छलफल भएको छ । नेपाल र बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तारका लागि दुई देशबीचको सडक परिवहन सेवामा पनि जोड दिइएको छ । काठमाडौंबाट ढाकासम्म बस सेवा सञ्चालन गरी नागरिकस्तरमा सम्बन्ध विस्तारमा सहजीकरण गर्नुपर्ने विषयमा छलफल भएको छ । बंगलादेशका वाणिज्यसचिव तपन कान्ति घोषले दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता (प्रिफेरेन्सिएल ट्रेड एग्रिमेन्ट) टुंग्याउन आग्रह गरे । ‘सम्झौताको मस्यौदामा प्रारम्भिक छलफल भएको छ,’ उनले भने, ‘नेपालको तर्फबाट यसलाई अघि बढाउन तपाईंहरूले पनि पहल गर्नुस् ।’ 

परिसंघ डिसिसिआईबीच समझदारीपत्रमा हस्ताक्षर
परिसंघ र डिसिसिआईबीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र डिसिसिआईका अध्यक्ष रिजवान रहमानले हस्ताक्षर गरे । समझदारीपत्रमा दुवै संगठनले एक–अर्को देशमा लगानीको वातावरणबारे जानकारी दिने, दुई देशका आर्थिक क्रियाकलापका लागि सहजीकरण गर्ने र दुवै देशका लगानी एवं व्यापारसँग सम्बन्धित सूचना आदानप्रदान गर्ने उल्लेख छ ।  

परिसंघका अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत, पर्यटन, कृषि उद्योगलगायतका क्षेत्रमा ठूलो लगानीको सम्भावना रहेको र विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य हुन सक्ने बताए । डिसिसिआईका अध्यक्ष रहमानले नेपाल र बंगलादेश सार्क, बिमस्टेकलगायतका साझा मञ्चमा सक्रिय रहेको र अब निजी क्षेत्रले पनि आर्थिक सम्बन्ध विस्तारमा जोड दिने बताए । उनले बंगलादेशले तीव्र आर्थिक विकासमा गरेको मिहिनेत नेपालका लागि पनि उदाहरणीय हुने बताए । बंगलादेशले पछिल्लो पाँच वर्षमा औसत सात प्रतिशतभन्दा बढी आर्थिक वृद्धि गरिरहेको छ । 

‘निजी क्षेत्रलाई विकासको नेतृत्व दिइनुपर्छ’
बंगलादेशका विदेशसचिव मसुद बिन मोमेनले निजी क्षेत्रमार्फत विकासको नेतृत्व गराउनुपर्ने बताए । परिसंघका प्रतिनिधिसँगको छलफलमा उनले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने विषयमा सरकारी संयन्त्र उदार हुनुपर्नेमा समेत जोड दिए । उनले आर्थिक सम्बन्ध विस्तारमार्फत दुई देशबीचको व्यापार घाटा न्यूनीकरणमा पनि जोड दिए । ’दुवै देश अहिले विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस भएका छन्, यस अवसरमा हामीसँग अवसर र चुनौती दुवै छन्,’ उनले भने, ’अब दुई देशले आर्थिक सम्बन्ध विस्तारमा जोड दिनुपर्छ, व्यापार अभिवृद्धि गर्नुपर्छ ।’  नेपाली राजदूतावास ढाकाका चार्ज डी अफेयर्स कुमार राईले आर्थिक विकास र औद्योगीकरणमा बंगलादेशले गरेको प्रगति उदाहरणीय भएको बताए । राजदूतावासमा आयोजित रात्रिभोजमा उनले नेपालले तीव्र औद्योगीकरणमा बंगलादेशबाट पाठ सिक्न सक्ने बताएका हुन् ।