मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कात्तिक पहिलो साता आएको बाढीले भत्काएको पक्की घर । यो घर गौरीगन्ज गाउँपालिकाले बनाइदिएको हो । यही क्षतिग्रस्त घरमै त्रिपाल टालटुल पारेर सुकुमबासी सल्तानु राजवंशी बस्न थालेका छन् । तस्बिर : नयाँ पत्रिका
२०७८ पौष १ बिहीबार ०६:४३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भत्किएकै घरमा जोखिम मोलेर फर्किए बाढीपीडित

Read Time : > 2 मिनेट
२०७८ पौष १ बिहीबार ०६:४३:००

कात्तिक पहिलो साता आएको बेमौसमी वर्षासँगै माई नदीमा आएको बाढीले गौरीगन्ज–१ टप्पुबस्तीका सल्तानु राजवंशीको पक्की घर भत्कायो । सुकुम्बासी सल्तानुको सम्पत्तिको नाममा सरकारले बनाइदिएको त्यही एउटा घर थियो । अर्काकोमा कृषि मजदुरका रूपमा काम गर्ने उनीसँगै नयाँ घर बनाउने सामर्थ्य छैन । बरू भत्किएकै घरमा त्रिपालले टालटुल बनाएर उनी फर्किए ।

तराई–मधेस समृद्ध कार्यक्रममार्फत स्थानीय तहले बनाइदिएको दुईकोठे घरको एउटा कोठा कामै नलाग्ने बनायो । अर्को कोठाको पनि पर्खाल भत्किएको छ । अन्त कतै बस्ने ठाउँ नभएपछि सल्तानुको ६ जनाको परिवार त्यही भत्केको घरमा फर्किएको हो । तर, घरको पर्खाल भत्किएको छ । जोखिम निकै छ । तैपनि विकल्प नभएपछि त्रिपालले वरिपरि बारेर उनी बस्न थालेका छन् । ‘बाढीले भत्काएको घर निकै कमजोर भइसकेको छ । ठूलो हावा आयो भने घर लड्ने जोखिम छ,’ सल्तानुले भने, ‘तर, अन्त कहीँ केही नभएपछि के गर्नु त ? टाउको लुकाउनै पर्‍यो । जसोतसो बसेका छौँ ।’

घरवरिपरि नदीको बगर छ । विगतमा २२ घर भएको बस्तीमा अहिले बालुवाले भरिएर खोलाको बगर बनेको छ । उनीहरू जोखिम मोलेरै बस्न थालेका छन् । ‘त्यत्रो दिन स्कुलमा बस्यौँ । कसैले वास्ता गरेनन् । कहीँ केही नभएपछि जोखिम मोलेर भए पनि यहाँ बस्न बाध्य भएका हौँ,’ उनले दुःख सुनाए ।

दुई वर्षअघिसम्म उनीहरूको घर फुसको छानोको थियो । झुपडीमा उनीहरूले जीवन चलाएकै थिए । त्योवेलासम्म माई नदीले धार परिवर्तन गरेको थिएन । दुई वर्षअघि सल्तानुसहित अन्य चारजनाको पक्की घर तराई–मधेस समृद्ध कार्यक्रममार्फत बनेको थियो । सरकारले करिब तीन लाख २५ हजार खर्चेर बनाएका यी सबै घर बस्नै नहुने गरी बाढीले क्षतविक्षत बनाएको छ । ‘गाउँपालिकाले घर बनाइदिँदा अब हाम्रा पनि दुःखका दिन गए, पक्की घरमा बस्न पाइएला भन्ने लागेको थियो । हामी खुसी थियौँ,’ राम वास्कीले भने, ‘तर, दुई वर्षमै यस्तो भयो । अहिले फेरि त्रिपालमुनिको वास भएको छ ।’ गरिबलाई कहिल्यै सुख नहुने रहेछ । पक्की घरमा बस्ने सपना मात्र भयो । उही पहिलाकै अवस्थामा आइपुग्यौँ ।’

टप्पुबस्तीका २२ आदिवासी सुकुमबासीका घर बेमौसममा उर्लिएको माई नदीले बगे । उनीहरू बसेको ठाउँमा अहिले बालुवा भरिएको छ । बाढीपीडित आइतबार मुर्मुले दुःख सुनाए, ‘हामी सुकुमबासी हौँ । जग्गा थिएन । यही घर भएजतिमा दुःख गरेर बसेका थियौँ । तर,वरिपरि अरूका जग्गा थिए । अधियाँ कमाएर खान्थ्यौँ । अहिले त त्यही खेत पनि बालुवा भरिएको छ ।’

बाढीले बस्ती बगाएको दुई महिना भयो । स्थानीय तहबाट घर बनाइदिने आश्वासन पाएको पनि त्यति नै समय भयो । तर, दुई महिनासम्म बस्ने ठाउँको विकल्प भएन । त्यही भएर जोखिम मोलेर भत्किएकै घरमा फर्किएको बाढीपीडित बुद्धराई हेमरमले बताए । ‘भएको घर बाढीले बगाइहाल्यो । अहिले त त्रिपालको घर बनाएर बसेका छौँ,’ उनले भने, ‘गाउँपालिकाले घर त बनाइदिन्छौँ भनेको थियो । अहिलेसम्म केही गरेन । स्कुलमा मात्र बसेर पनि भएन । त्यही भएर यही बगरमा आयौँ ।’

बस्तीवरिपरि माई नदीको घेरो
बस्तीवरिपरि माई नदी छ । धेरै पहिला माटोले बनाएको तटबन्ध पनि भत्काएको छ । यो ठाउँमा पनि उनीहरूको बसाइ अस्थायी छ । किनकि माई नदीमा सामान्य बाढी आउनसाथ अघिल्लो बाढीले भत्किएर रहेको संरचना पनि लैजाने निश्चित छ । ‘यसपटक त कात्तिकमै यस्तो बनायो । अब त तटबन्ध पनि छैन । सानो बाढी आउँदा पनि पानी सीधै हामी बसेकैमा आउँछ,’ नयाँ पत्रिकासँग हेमरमले सुनाए, ‘तटबन्ध गरिदिएन भने अब जाने ठाउँ छैन । अस्ति पनि बल्लतल्ल ज्यान बचाइयो । अहिलेसम्म खोला बाँध्ने काम गरेका छैनन्, आउँदो बर्खामा के हुने हो ।’

घरविहीन बनेका बाढीपीडितलाई चिसो कसरी काट्ने भन्ने चिन्ता छ । घरमा भएका लुगाफाटा सबै दुई महिनाअघिको बाढीले बगाएको छ । न्यानो लुगासमेत नभएका उनीहरूलाई हिउँदको शीतलहर अर्को ठूलो समस्या बनेको छ । ‘मध्य चिसोमा घरबारविहीन छौँ । केटाकेटी छन् । लुगाकपडा छैनन्,’ धनमाया राजवंशीले दुःख सुनाइन्, ‘त्रिपालबाट शीत पूरै चुहिन्छ । जाडोले नै पो लान्छ कि जस्तो लाग्छ ।’

अन्धकारमा बाढीपीडित
बाढीले माई नदीको टप्पुबस्तीमा पुग्ने बिजुलीको दुईवटा पोल लडाएको दुई महिना भयो । विद्युत् प्राधिकरणका कर्मचारी मर्मतका लागि अहिलेसम्म गएका छैनन् । अन्त बस्ने विकल्प नभएपछि भत्किएकै घरमा बसेका बाढीपीडित अन्धकारमा बस्न बाध्य छन् । ‘बिजुली बिग्रिएको छ । राति मट्टितेल बालेर बस्छौँ । अन्धकार हुँदा सर्पहरू आउँछ कि भन्ने डर हुन्छ,’ झोक्की मुर्मुले भनिन्, ‘मोबाइल चार्ज गर्न पनि पारि गाउँमा जानुपर्छ ।’

विद्युत् प्राधिकरणलाई बाढीपीडितले अन्धकारमा बस्नुपरेको गुनासो गरेका थिए ।  प्राधिकरणले चैतयता बनाउन नसकिने जवाफ दिएको छ । बुद्धराई हेमरमले आक्रोश पोखे, ‘बिजुली अफिसले चैतभन्दा यता बनाउन सकिँदैन भनेको छ । त्यो वेलासम्म हामी अन्धकारमै बस्नुपर्ने, विपन्नले कहिल्यै न्याय नपाउने ?’