१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २९ बुधबार ०६:२३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२२९ कामदारलाई बोलायो इजरायलले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २९ बुधबार ०६:२३:००

इजरायली रोजगारदाताले दुई सय २९ नेपाली कामदारलाई इजरायल रोजगारीका लागि बोलाएका छन् । इजरायल दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक पदका लागि छनोट भएकामध्ये पहिलो चरणमा रोजगारदाताले बोलाएका हुन् । थप प्रक्रियाका लागि इजरायली रोजगारदाताले करार सम्झौतापत्रमा हस्ताक्षर गरी विभागमा पठाएका छन् । 

 पहिलो छनोटमा परेका कामदारलाई विभागले पाँच दिनभित्र करार सम्झौतापत्रमा हस्ताक्षर गर्न बोलाएको छ ।  करारपछि कामदारलाई इजरायल पठाउन एवं भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा पठाइनेछ । यसका लागि आवश्यक कागजपत्रसहित विभागको व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा उपस्थित हुन विभागले आग्रह गरेको छ । 

सम्झौताका लागि कामदारले प्रहरी चारित्रिक प्रमाणपत्रको सक्कलसहित प्रतिलिपि तीन थान बुझाउनुपर्नेछ । कोभिडविरुद्ध लगाएको खोपको प्रमाणपत्रको सक्कलसहित प्रतिलिपि पनि तीन थान बुझाउनुपर्नेछ । सक्कल राहदानी र सोको प्रतिलिपि तीन थान, पासपोर्ट साइजको हालसालै खिचेका फोटा दुई थान, निवेदनका बखत पेस गरेको शैक्षिक योग्यता र तालिमको प्रमाणपत्रको सक्कलसहित सोको प्रतिलिपि तीन थान र पासपोर्ट तीन थान बुझाउनुपर्नेछ । विभागले बुधबारदेखि आइतबारसम्ममा सम्झौता गरिसक्न आग्रह गरेको छ ।

त्यस्तै, कामदारको भिसा जारीका लागि सम्बन्धित निकायमा प्रक्रिया थालनी गर्ने समयमा राहदानीको म्याद सकिने अवधि कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्नेछ । इस्वी संवत् २०२५ जनवरी ३१ गतेयता राहदानीको म्याद सकिने उम्मेदवारले मात्र राहदानी नवीकरण गर्नुपर्नेछ । इजरायल रोजगारीका लागि छनोट भएका कामदारलाई नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउने सुविधा दिएको छ । कामदारलाई खोप लगाउनका लागि सरकारले पाँचवटा हस्पिटलमा लगाउन सक्नेछन् । वैदेशिक रोजगार विभाग केन्द्रले सूचना जारी गरी वीर अस्पताल, निजामती सेवा अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल र सशस्त्र प्रहरीबल अस्पतालमा गएर खोप लगाउन आग्रह गरेको छ ।

रोजगारीका लागि छनोटमा परेकामध्ये ६ सय ७५ जनाले स्वास्थ्य परीक्षणसमेत गरिसकेका छन् । विभागको निर्देशनबमोजिम चार सय ७१ महिला र दुई सय चार पुरुषले परीक्षण गरेका हुन् । परीक्षणका लािग विभागले स्टार हस्पिटल, ह्याम्स हस्पिटल, नेपाल मेडिसिटी हस्पिटल र मनमोहन हस्पिटल तोकेको थियो । विभागले गत साउन १२ गतेदेखि इजरायल रोजगारीका लागि अनलाइन आवेदन माग गरेको थियो । गत साउन मसान्तसम्ममा विभागमा नौ हजार ६ सय ९९ जनाको आवेदन परेको थियो । विभागमा परेको आवेदन प्रमाणीकरण गर्दा करिब साढे सात हजार छनोट भए ।